गण्डकी सरकारले बर्सेनि ३ जनालाई ‘गण्डकी रत्न’ प्रदान गर्ने

विशिष्ट व्यक्ति सम्मान गर्ने सम्बन्धी कार्यविधि २०७८ स्वीकृत

आदर्श समाज सम्वाददाता
पौष २८, २०७८
cabinet building gandaki

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका ३ विशेष नागरिकलाई गण्डकी रत्नबाट सम्मान गर्ने भएको छ । मन्त्रिपरिषद बैठकले तीनजनालाई सम्मान गर्ने कार्यविधि पास गरेको हो । सम्मानित हुनेले सांसद सरहकै हैसियत पाउनेछन् भने वृद्धावस्थामा संरक्षक नभए सरकारले संरक्षण गर्ने छ ।
‘शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, उद्योग, पर्यटन, पूर्वाधार, विज्ञान, प्रविधि लगायत समाजसेवाका क्षेत्रमा अतुलनीय योगदान गरेर प्रदेशको गरिमा बढाएका बढीमा बर्सेनि ३ जना व्यक्तिलाई गण्डकी रत्नले सम्मान गर्ने भनेर प्रारम्भ गरेका छौं,’ प्रवक्ता कुमार खड्काले भने ।

सम्मानका लागि कार्यविधि तयार भइसकेको छ । यसका लागि नीति तथा कार्यक्रम र बजेटमै व्यवस्था गरिएको थियो । विशिष्ट व्यक्ति सम्मान गर्ने सम्बन्धी कार्यविधि २०७८ स्वीकृत गरिएको खड्काले जानकारी दिए ।

‘गण्डकी रत्न’ छनोट गर्न प्रवक्ता खड्काकै अध्यक्षतामा सफारिस समिति बनेको छ । समितिको सदस्यहरुमा अर्थमन्त्री, आन्तरिक मामिला मन्त्री, प्रदेशका प्रमुख सचिव सदस्य तथा आन्तरिक मामिला मन्त्रालयका सचिव सदस्य सचिव छन् । प्रदेश सरकारले ‘गण्डकी रत्न’ सम्मानलाई प्रदेशकै सर्वाधिक सम्मानको रुपमा व्याख्या गरेको छ । ‘प्रदेशको सर्वाधिक ठूलो सम्मानको रुपमा व्याख्या गरेका छौं । तक्मा र प्रमाणपत्र सँगै सम्मान र दायित्वका लागि पनि थप निर्णय गरेको छ,’ उनले भने ।

खड्काका अनुसार सम्मानित व्यक्तिलाई सार्वजनिक समारोहमा प्रदेश सांसद बराबरकै हैसियत दिइएको छ भने प्रदेश अस्पतालमा निश्चित सुविधाहरु निःशुल्क उपलब्ध गराईने छ । उनीहरुले गण्डकी प्रदेश भित्रका विमानस्थलमा अतिविशिष्ट कक्ष प्रयोग गर्न समेत पाउनेछन् । सम्मानित हुने व्यक्तिहरुको सिफारिस समितिले गरेपछि क्याविनेटबाट पास गरिनेछ ।

यस्तै, रोजगार सूचना केन्द्र सञ्चालन तथा व्यवस्थापन निर्देशिका स्विकृत गरिएको छ । सबै बजेट र जनशक्ति संघ सरकारमा थियो । भौतिक सम्पत्ति र जनशक्ति प्रदेश सरकारलाई हस्तान्तरण गरेपछि त्यसको व्यवस्थापन प्रदेशले गर्न लागेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width