टाइगर कप भलिबल : पुलिसको अपराजित यात्रा कायमै

न्यु डायमन्ड ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा

आदर्श समाज सम्वाददाता
पौष २८, २०७८
tiger cup

पोखरा। पोखरामा जारी दोस्रो टाइगर कप आमन्त्रित खुला क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल पुलिसले अपराजित यात्रा कायमै राखेको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत बुधबार पुरुषतर्फ अन्तिम खेलमा पुलिसले एपिएफ क्लबलाई २५–२१, २३–२५, २५–२३ र २५–१९ को जीत निकालेको हो । योसँगै अपराजित रहेको पुलिसले ३ खेलबाट ८ अंक जोड्न सफल भएको छ । खेलमा नेपाल पुलिस क्लबका रविन चन्द प्लेयर अफ दी म्याच घोषित हुँदा पुलिसकै भीम गाहा वेस्ट डिफेन्डर बने ।

अर्काे खेलमा टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले विभागीय त्रिभुवन आर्मी क्लबमाथि २५–१५, २५–२१ र २५–२२ सेटको जीत निकालेको छ । हेल्प नेपालले २ खेलबाट ४ अंक र आर्मीले २ खेलबाट ३ अंक बटुलेको छ । उक्त खेलमा भारतीय टिम कप्तान समेत रहेका हेल्प नेपालका वीनित म्यान अफ दि म्याच र आर्मीका ईश्वर थापा वेस्ट डिफेन्डर घोषित भएका छन् ।

यसैगरी, महिलातर्फ पहिलो खेलमा पुलिसले आयोजकलाई २५–२०, २५–१७ र २५–२२ को सोझो सेटमा पराजित ग¥यो । टाइगर ग्रुपको यो लगातार दोस्रो पराजय हो । नेपालकी टिम कप्तान अरुणा शाहीसहित श्रीलंका राष्ट्रिय टिम कप्तान सम्मिलित टिमले आफ्ना दुवै खेल गुमाएपछि प्रतियोगिताबाट बाहिरिने निश्चितजस्तै बनेको छ । बुधबारको जीतसँगै पुलिसको २ खेलबाट ३ अंक बटुलेको छ । पुलिसकी उषा भण्डारी उमन्स अफ दि म्याच घोषित हुँदा सोही टिमकी शान्तिकला तामाङ वेष्ट डिफेन्डर भइन् ।

अर्को खेलमा एपिएफले प्रतियोगितामा उत्कृष्टरुपमा अघि बढेको होवाङ्गान्जी न्यु डायमन्ड स्पोर्टस् क्लबमाथि ३–२ को जीत दर्ता गरेको छ । एपिएफले २१–२५, २५–२१, १०–२५, २५–१२ र १५–८ को जीत निकालेको हो । योसँगै एपिएफको २ खेलबाट ५ अंक छ । बुधबारको खेलमा हार व्यहोरेको भए पनि न्यु डायमन्डले आफ्ना ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थान कायमै रहेको प्रतियोगिताका प्राविधिक संयोजक टहलसिंह थापामगरले जनाए । उक्त खेलमा एपिएफकी सरस्वती चौधरी उमन्स अफ दि म्याच घोषित हुँदा डायमण्डकी सलिना श्रेष्ठ वेष्ट डिफेन्डर भइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width