मापदण्ड मिचेर नदी दोहन

साधन राम्जाली
पौष २७, २०७८
river myagdi

म्याग्दी  । बगुवा खोलामा मापदण्ड मिचेर नदीको चरम दोहन भएको पाइएको छ । म्याग्दी सदरमुकाम बेनी नगरपालिका वडा ५ स्थित बगुवा खोलामा मापदण्ड मिचेर नदीको चरम दोहन भइरहेको हो । नदीमा मापदण्डविपरीत डोजर, स्काभेटर प्रयोग गरेर ढुंगा, बालुवा, गिट्टी निकाल्दा नदीको सतह गहिरिएको छ । नदीजन्य बस्तु उत्खनन् गर्ने जिम्मा लिएका व्यवसायीले सम्झौताविपरीत ठूलाखालका मसिन प्रयोग गरेर जथाभावी उत्खनन् गरिरहेका छन् । डोजर, स्काभेटर लगाएर खोलाको धार परिवर्तन गराई नदीजन्य बस्तु उत्खनन् गर्दा तटीय क्षेत्रमा कटानको जोखिम बढ्नुका साथै जलचरको बासस्थान र वातावरणमा असर परेको स्थानीयवासीको गुनासो छ । यहाँ सरकारी निकाय र व्यवसायीको मिलेमतो रहेको उनीहरुको आरोपछ । ‘दिनहुँ डोजर, स्काभेटर र ट्रिपर प्रयोग गरेर नदीको चरम दोहन भइरहेको छ ,’ नाम नखुलाउने शर्तमा एक जना स्थानीयले भने,‘अव्यवस्थित नदीजन्य पदार्थ उत्खनन रोक्न सम्बन्धित निकाय भने मौन जस्तै देखिएका छन् ।’ नदीमा डोजर, स्काभेटर र ट्रिपर लगाएर गिटी, बालुवा निकासी गर्दा बस्ती नै जोखिममा परेको उनको गुनासो छ । स्थानीयले नदीजन्य बस्तु जथाभावी उत्खननमा रोक लगाइनुपर्ने माग गर्दै आएका छन् तर सम्बद्ध निकायले चासो दिएको छैन ।
यसैबीच, स्काभेटर,डोजर र ट्रिपर प्रयोग गरेर नदी उत्खनन गर्दा मजदुरलाई समस्या भएको जिफन म्याग्दीअध्यक्ष बलादेवी राईले बताइन् । बेनी नगरपालिका उपप्रमुख सञ्जु बरुवालले नदी किनारमा मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भए पनि रोक्न नसकिएको बताइन् ।
बेनी नगरपालिका र ठेकेदार कम्पनी बागलुङको जुम्ली निर्माण सेवा प्रालिबीच १४ पुसमा भएको सम्झौतामा नगरपालिकाको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आइइई) मा व्यवस्था भएबमोजिमको उपकरण प्रयोग गरेरमात्रै ढुंगा, गिटी, बालुवा झिक्न मिल्ने बेनी नगरपालिकाका सूचना अधिकारी युवराज थापाले जानकारी दिए । उनका अनुसार ठेकेदार कम्पनीले म्याग्दी नदी किनारको बगरमा हातेऔजार उपकरण प्रयोग गरेरमात्र नदीजन्य बस्तु उत्खनन गर्नुपर्ने व्यवस्था छ । ९० सेन्टिमिटरभन्दा बढी गहिरो खन्न नपाइने मापदण्ड उल्लंघन गर्दै स्काभेटरको प्रयोग गरी जथाभावी उत्खनन गरिएको छ ।

ठेक्का लगाइसकेपछि समय–समयमा अनुगमन गर्ने जिम्मा पाएको जिल्ला अनुगमन समिति भने बेखबर जस्तै छ

नगरपालिकाले ४४ लाख रुपैयाँमा म्याग्दी नदी किनारको बगर क्षेत्रका विभिन्न ठाउँमा नदीजन्य पदार्थ उत्खनन गर्न ठेक्का लगाएको छ । नगरपालिकासँगको सम्झौताअनुसार ठेकेदार कम्पनीले नगरपालिका वडा ७ को अग्निखेत बगर, वडा ६ को जोगिगाडे बगर, चुत्रेनी बगर तल्लो, चुत्रेनी बगर माथिल्लो, डम्मरा, वडा ५ को बगुवा खोला, सजेनी बगर, वडा ३ को दूधखोला कोप्रे बगर र वडा २ को घुमाउने ताल बगरले नदीजन्य पदार्थ उत्खननको अनुमति पाएका छन् । नदीजन्य पदार्थ उत्खनन गर्ने ठेकेदार नीराजन खतिवडालाई पटक–पटक फोन गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
नदीबाट बालुवा, गिटी उत्खनन गर्दा ठूला स्काभेटर प्रयोग गर्न नपाउने स्पष्ट व्यवस्था छ । तर ठेकेदार कम्पनीले मानेका छैनन् । नगरपालिकाले लाखौंको नदी बेच्ने र अनुगमन पनि नगर्ने प्रवृत्तिले नदी दोहनमा विकृति बढेको हो । ठेक्का लगाइसकेपछि समय–समयमा अनुगमन गर्ने जिम्मा भए पनि जिल्ला अनुगमन समिति भने बेखबर जस्तै बनेको देखिएको छ ।
जिसस प्रमुख देवेन्द्रबहादुर केसीले राष्ट्रिय गौरवका आयोजना निर्माणाधीन रहेकोले मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन रोक्न अफ्ठ्यारो भएको बताए । उनले नदीजन्य पदार्थ उत्खननसम्बन्धी कानुन व्यावहारिक नभएको बताए । ‘नदीजन्य पदार्थ विकास निर्माणका लागि नभई नहुने स्रोत पनि हो,’ उनले भने, ‘पालिकामार्फत नदीजन्य पदार्थ उत्खनन गर्दा राष्ट्रिय गौरवका आयोजना निर्माणले गति लिएका छन् । त्यसैले मापदण्डविपरीतका नदीजन्य पदार्थ उत्खनन रोक्न चुनौती छ ।’
खासमा पुलको ५ सय मिटर वरिपरि, रातको समयमा, डेढ मिटरभन्दा गहिरो पारेर नदी उत्खनन गर्न नपाइने व्यवस्था छ ।

Related News

सम्बन्धित समाचार

hero news full width