व्यावहारिक र जीवनोपयोगी शिक्षामा जोड

आदर्श समाज सम्वाददाता
पौष २६, २०७८
gogan sammanit

पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, यातायात व्यवस्था तथा सहरी विकास मन्त्री कुमार खड्काले नैतिक, व्यावहारिक र जीवनोपयोगी शिक्षा वर्तमानको आवश्यकता भएकोमा जोड दिएका छन् ।
पोखरा ३२ स्थित गोगन माध्यमिक विद्यालयको ५४ औं वार्षिकोत्सव एवं अभिभावक दिवसको उद्घाटन गर्दै उनले नैतिकताविहीन शिक्षाले डाक्टर, इन्जिनियर बनाए पनि सभ्य, सुसंस्कृत मानव बनाउन नसक्ने उल्लेख गरे ।
शिक्षा व्यावहारिक र जीवनोपयोगी बन्न नसक्दासम्म त्यसको अर्थ नरहने बताउँदै मन्त्री खड्काले अवसरको खोजीमा युवाहरू विदेशिन बाध्य हुनुपर्ने अवस्थताको अन्त्यका लागि सबै गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याए ।
‘युवाहरूमा देखिएको १० पास गरे हलो छोड्ने, १२ पास गरे थलो छोड्ने प्रवृत्ति रोक्नु जरुरी छ,’ उनले भने,‘अवसरका लागि विदेशिने युवाहरू वाकसमा फर्कनुपर्ने अवस्थाको अन्त्य गर्ने गरी शिक्षा प्रणाली विकास गर्नु आवश्यक छ ।’
विद्यार्थीको शैक्षिक प्रगतिमा शिक्षक तथा अभिभावकको महत्वपूर्ण भूमिका हुने बताउँदै उनले विद्यार्थी स्वयं पनि आफ्ना अभिभावकको सपना पूरा गर्ने किसिमले महत्वाकांक्षी सपनाका साथ अध्ययन कार्यमा जुट्नुपर्नेमा जोड दिए ।
गोगन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेलले विद्यालयको अबको प्राथमिकता शैक्षिक गुणस्तरीयता अभिवृद्धि रहेको बताउँदै विद्यार्थी, शिक्षक, अभिभावक सबैको साथ र सहयोगमा विद्यालयलाई उत्कृष्ट शैक्षिक केन्द्रका रुपमा विकास गरिने बताए ।
विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद बरालले गोगन माविलाई नमुना विद्यालयका रुपमा स्थापित गर्ने लक्ष्यका साथ अध्ययन अध्यापन भइरहेको बताउँदै हाल १ हजार ७ सय ५० विद्यार्थी अध्ययनरत भएको जानकारी दिए । विद्यालयमा कुल ७८ जना शिक्षकमध्ये २१ जना सरकारी अनुदानअन्तर्गत र ५७ जना निजी स्रोतअन्तर्गत रहेको जानकारी दिए ।
पोखरा ३२ का अध्यक्ष अक्कलबहादुर कार्कीले यस क्षेत्रकै शैक्षिक विकासमा विद्यालयले महत्वपूर्ण योगदान गरेको बताउँदै शैक्षिक गुणस्तरीयता अभिवृद्धि एवं भौतिक पूर्वाधार विकासका लागि स्थानीय तहबाट सक्दो सहयोग गर्ने आश्वासन दिए ।
पोखरा महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ अधिकृत विश्वराज आचार्य, योजना आयोगका उपाध्यक्ष आरसी लामिछाने, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष खेमराज अधिकारीलगायतले विद्यालयको शैक्षिक उन्नयनको शुभकामना व्यक्त गरे । कार्यक्रममा विद्यालयका विभिन्न विधामा वर्ष उत्कृष्ट शिक्षकका साथै विद्यार्थीलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थी तथा शिक्षकका विभिन्न सांस्कृतिक प्रस्तुति देखाइएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width