पत्रकार बोलाएर गठबन्धनको गुहार : ‘संविधानको रक्षाका लागि भोट हालिदिनुस्’

आदर्श समाज सम्वाददाता
पौष २६, २०७८
gathabandhans

पोखरा । साढे २ सातापछि राष्ट्रियसभाको उपनिर्वाचन हुँदै छ । त्यसका लागि पुस २० गते मनोनयन दर्ता भइसकेको छ । राष्ट्रियसभामा गण्डकीबाट ३ पद रिक्त हुँदै छ । फागुनमा रिक्त हुने पदमा माघ १२ गते मतदान हुन लागेको हो । यहाँ गठबन्धनबाट ३ जना र एक्लै चुनावमा होमिएको एमालेले ३ उम्मेदवार उठाएको छ । गठबन्धनबाट महिलामा कांग्रेस नेतृ कमला पन्त उम्मेदवार छिन् भने खुलामा माओवादीका सुरेशकुमार आले र दलितमा माओवादीकै भुवन सुनारलाई टिकट दिइएको छ । ५ दलको गठबन्धन भए पनि अरु दलका उम्मेदवार छैनन् । एमालेबाट खुलामा पुण्य पौडेल, महिलामा लीला थनेत र दलितमा अर्जुनकुमार सुनाम उम्मेदवार छन् ।
यहाँ गठबन्धन निकै बलियो छ । ५ हजार ८ सय ८२ कुल मतभार रहेकोमा गठबन्धनसँग मात्रै ३ हजार २ सय ५२ मतभार छ । एमाले र राप्रपाको मत फरक छ । एमालेसँग मात्रै २ हजार ५ सय ३८ मतभार छ । राप्रपा एमालेसँग जोडिँदासमेत ३६ मतभार जितका लागि पर्याप्त छैन । गठबन्धन र एमालेबीच ७ सय १४ मतभारको फरक पर्छ । गठबन्धनका दलहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर आफ्ना उम्मेदवारलाई मत दिन आग्रह गरेका छन् ।
गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले आफ्नो मत जोगाउँदै अरु मत थप्न पहल गरिरहेको बताए । ‘जनप्रतिनिधिले गर्ने मतदान भएकोले यताउति हुने सम्भावना रहँदैन । स्वतन्त्र सांसद पनि यही सरकारमा मन्त्री हुनुहुन्छ,’ उनले भने, ‘राप्रपासँग मत मागेका छौं । उनीहरुको यहाँ उम्मेदवार नभएकोले सहयोग गर्न सक्नुहुन्छ । एमालेभित्रै पनि असन्तुष्टहरुलाई मतदानका लागि आह्वान गरेका छौं ।’
माओवादी नेता तथा गण्डकी संसदीय दलका नेता हरिबहादुर चुमानले प्रतिगमनलाई शिर उठाउन नदिनका लागि गठबन्धनले जित्नुपर्ने बताएका छन् । गठबन्धन बलियो भएकोले जीत सुनिश्चत भइसकेको उनको दाबी छ । जनमोर्चा गण्डकीका अध्यक्ष शंकर बरालले माघ १२ का लागि आफूहरु एकै ठाउँमा रहेको बताए । ‘माघ १२ गते हुने चुनावका लागि हाम्रो गठबन्धन छ । यसलाई पछिसम्म लैजानुपर्छ भन्ने हाम्रो अनुरोध हो,’ उनी भन्छन्, ‘विचार र दृष्टिकोणमा हाम्रो मत भिन्नता छ । तर लोकतन्त्र संरक्षण भनेको साझा एजेन्डा हो । त्यसैले मिलिरहेका छौं ।’
जनता समाजवादी पार्टीका प्रदेश उपाध्यक्ष हेमबहादुर थापा (आमोद) ले संस्थागत रुपमा आफूहरु गठबन्धनमै रहेको बताए । ‘धेरै कुरामा हामी फरक छौं । विचार व्यक्तिका अरु होलान् । तर पार्टीको संस्थागत निर्णय गठबन्धनलाई सघाउने नै हो । हामी गठबन्धनको निरन्तरताको पक्षमा छौं,’ उनले भने । एकीकृत समाजवादीका नेता प्रतापलाल श्रेष्ठले गण्डकीसहित सबै प्रदेश गठबन्धनले जित्ने बताएका छन् । ‘हामीसँग भएको सबै मत संरक्षण गर्छौं र सकेसम्म अरु पनि तान्ने प्रयास गर्छौं,’ उनले भने ।
उम्मेदवार सुरेशकुमार आलेले परम्परागत संसदीय प्रणालीको आफ्नो सधंै विरोध रहने बताए । ‘म परम्परागत संसदीय प्रणाली मान्दिनँ । यो व्यवस्था अलि अग्रगामी छ । अब संसदभित्रैबाट यो प्रणालीलाई अझै सुधार्ने प्रयास गर्छु,’ उनले भने, ‘मेरो उम्मेद्वारी प्रतिगमनविरुद्ध हो । प्रतिगमनको संकट अझै टरेको छैन ।’ अर्का उम्मेदवार भुवन सुनारले लोकतन्त्रको रक्षाका लागि आफू अघि बढेको बताए । ‘लोकतन्त्र रक्षा गर्नुपर्ने अहिलेको टड्कारो समस्या छ । म सांसद नहुँदा पनि उत्पीडितको पक्षमा आवाज उठाउँथे, सांसद बनेपनि पछि त्यही गर्ने हो,’ उनले सुनाए ।
कार्यक्रममा बोल्ने क्रममा नेताहरुले यही गठबन्धनलाई स्थानीय र संसदीय निर्वाचनसम्म लैजानुपर्ने बताएका छन् । आफ्ना उम्मेदवारको पक्षमा मत माग्न गठबन्धनले जिल्ला भ्रमणको तालिका नै बनाएको छ भने गठबन्धनको छुट्टै संयन्त्र तयार गरिएको छ । ‘राष्ट्रियताको रक्षा र संघीय लोकतान्त्रिक प्रणालीलाई अझ सुदृढ गर्न जनताका अपेक्षाहरुलाई पूरा गर्न र भविष्यमा पनि संविधानको रक्षा गर्न ५ दलीय गठबन्धनको निरन्तरता रहेको हाम्रो ठहर छ,’ आइतबार संयुक्त विज्ञप्ति जारी गरी प्रदेश तहका नेताहरुले भनेका छन् ।

Related News

सम्बन्धित समाचार

  • पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सम्पदा संरक्षण सम्मान–२०८० बाट पोखराका सुनिल उलक सम्मानित भएका छन् । नागरिक समाज कास्कीको आयोजनामा बिहीबार आयोजित समारोहमा…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन् । उनले एमाले, माओवादी, नेकपा एकीकृत…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…
  • लायन्स पोखरा वर्किङ टुगेदरमा जनकराज पौडेल

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरको वर्ष २०२४/२५ अध्यक्षमा जनकराज पौडेल चयन भएका छन् । बुधबार अधिवेशनले क्लब उपाध्यक्षमा अमृतकुमार…

hero news full width