‘घोषणापत्रका काम कम्तीमा सुरु भए’

आदर्श समाज सम्वाददाता
पौष २५, २०७८
deepak koiralas

पोखरा । गण्डकी प्रदेशका अर्थ तथा विकास समिति सभापति दीपक कोइरालाले पोखरा २७ स्थित भूपू साना सहरी जोड्ने बाटो उद्घाटन गरेका छन् । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत बाटो निर्माण गरिएको हो ।
कोइरालाले संघीय, प्रदेश र स्थानीय सरकारहरुबाट समेत सम्बोधन नभएका साना योजनालाई निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममले सम्बोधन गर्ने गरेको बताए । निर्वाचनको बेला भनेजति काम विभिन्न कारणले पूरा हुन नसके पनि सुरुआत भने भएको उनको तर्क थियो । उनले पहिलेको बजेटबाट पूरा नभएको बाटोलाई आगामी दिनमा निरन्तरता दिने बताए ।
कोइरालाले माओवादी काम गर्ने हल्ला नगर्ने पार्टी भएकोले माओवादीले गरेको कामको जस अन्य पार्टीले लिन खोजेको जिकीर गरे । नेकपा माओवादी केन्द्रका नेता बोधराज लामिछानेले प्रदेश सांसद दीपक कोइरालाको पहलमा प्रदेश निर्वाचन क्षेत्रमा विकासको लहर आएको सुनाए ।
नेकपा माओवादी केन्द्र वडा नं २७ का अध्यक्ष गोविन्द वाग्लेले माओवादी जनताको मन मनमा बस्न सफल भएको पार्टी भएको दाबी गरे । गरिब जनताको घरमा घरमा बिजुली, पानीको लागि माओवादीकै मन्त्री भएको बेलामात्रै सम्बोधन भएको उनको भनाइ थियो । दलित, जनजाति महिला, भूमिहीन, सुकुम्बासीलाई अन्यपार्टीले उनीहरुको अधिकारको लागि कहिल्यै नबोल्ने तर भोट बैंकको रुपमा मात्रै प्रयोग गर्ने गरेको भन्दै वाग्लले सबै वर्गको उत्थानको लागि माओवादी सधंै लागिरहने उल्लेख गरे ।
बाटो निर्माण समितिका उपाध्यक्ष ललिता पराजुली, सचिव दीपेन्द्र पराजुलीलगायतले बाटो निर्माणले आफूहरुलाई धेरै सहज भएकोले आगामी दिनमा पनि आफ्नो ठाउँलाई प्राथमिकतामा पारेर बजेट विनियोजन गरिदिन सभापति कोइरालासँग आग्रह गरे ।
सभापति कोइरालाले शनिबार नै पोखरा २७ स्थित कवि शिरोमणि गेटदेखि कृष्णप्रणामी मन्दिर धर्मशाला जोड्ने सडकको पनि अनुगमन गरेका थिए । कोइरालाले निर्माण व्यवसायीमार्फत् काम भएको उक्त सडकमा जनताको गुनासो आएकोले तत्काल समस्या समाधान गर्न पूर्वाधार कार्यालयका प्रमुख डाक्टर महेन्द्र बानियाँलाई निर्देशन दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width