टाइगर कप भलिबलमा १० टिम

आदर्श समाज सम्वाददाता
पौष २५, २०७८
tiger main cup

पोखरा । टाइगर ग्रुप अफ पोखरा, नेपालको आयोजनामा ‘दोस्रो टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला/पुरुष भलिबल प्रतियोगिता–२०७८’ हुने भएको छ ।
सुश्री मिडिया प्रालिको मुख्य प्रायोजनमा पोखरा रंगशालामा पुस २६ देखि १ माघसम्म चल्ने प्रतियोगितामा महिला/पुरुष गरी १० टिमले भाग लिने छन् । खेल राउण्ड रोबिन लिग आधारमा हुनेछ ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले प्रतियोगितामा महिलातर्फ नेपाल आर्मी क्लब, नेपाल पुलिस र सशस्त्र प्रहरी बल, न्यू डायमण्ड र आयोजक संस्था टाइगर ग्रुप अफ पोखरा नेपाल रहने जानकारी दिए । महिला पुरुषतर्फ उपाधि विजेतालाई समान ३/३ लाख, उपविजेतालाई समान १ लाख ५० हजार, तेस्रोलाई ७५ हजार र सान्त्वनालाई ३५ हजार प्रदान गर्ने आयोजकले जनाएको छ । यसैगरी महिला तथा पुरुषतर्फ उत्कृष्ट खेलाडीलाई समान २५ हजार तथा हरेक विधाका उत्कृष्ट खेलाडीलाई नगदसहित र ट्रफीद्वारा सम्मान गरिनेछ ।
प्रतियोगिता अवलोकनमा साउथ एशिया सेन्ट्रल भलिबलका अध्यक्ष मोहमद लतिफसमेत पोखरा आउने कार्यक्रम छ । उद्घाटनमा पुरुषतर्फ डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेश र नेपाल एपिएफ क्लब भिड्ने भएका छन् । पहिलो राउन्ड रोविन लिगअन्तर्गतका खेल बिहान ८ बजेबाट नै सुरु हुने र दैनिक महिला र पुरुषतर्फका गरी ४ खेल हुने प्रचारप्रसार संयोजक रामकृष्ण ज्ञवालीले जनाए ।
प्रतियोगिताका लागि आफूहरु यसपालि विशेष तयारीका साथ अघि बढेको प्रचार संयोजक ज्ञवालीले बताए । उनका अनुसार दर्शकका लागि अस्थायी प्यारापिट निर्माण, ज्येष्ठ नागरिक लगायत फरक क्षमता भएका दर्शकलाई खेल हेर्न छुट्टै व्यवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई बस्नको लागि विशेष व्यवस्था गरिएको छ । साथै प्रतियोगिता हेर्न २ सय र ३ सयको टिकट निर्धारण गरिएको छ । सो अवसरमा नेपाल टेलिकमले ५० व्यालेन्स सहितको सिम निशुल्क वितरण गर्नेछ भने इसेवा रेमिटबाट प्रत्येक दिनको म्याचको ‘म्यान अफ द म्याच’ पुरस्कार राशि ५ हजार खेलाडीले प्राप्त गर्ने छन् । साथै केएफसीले महिला तथा पुरुष विजेता टिमका खेलाडीलाई गिफ्ट स्वरुप डिनरको व्यवस्था गरेको छ । प्रतियोगिता सफल बनाउन शिव श्रेष्ठ संयोजक, सहसंयोजक गोविन्द थापा सहितको विभिन्न उपसमिति गठन गरी सम्पूर्ण काम पूरा गरी अन्तिम चरणमा पुगेको क्लब सचिव प्रकाश बरालले बताए । प्रतियोगिता उद्घाटन गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गर्ने छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width