एमाले अधिवेशन अझै लम्बियो,सर्वसम्मत सम्भावना टर्दै

आदर्श समाज सम्वाददाता
पौष २५, २०७८
cpn

पोखरा । नेकपा एमाले कास्कीको शुक्रबारदेखि सुरु १० औं अधिवेशनअन्तर्गत ३ वटै प्रतिवेदन पास भएको छ । शनिबार समूहगत रुपमा छलफल गरेर सर्वसम्मत प्रतिवेदन पास भएको हो । कार्यवाहक अध्यक्ष मनबहादुर गुरुङको राजनीतिक प्रतिवेदन, सचिव दामोदर बैरागीको सांगठानिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित भएको हो ।
प्रतिवेदन पासपछि अधिवेशन आइतबार बिहानसम्मका लागि स्थगित भएको अध्यक्षमण्डलले जनाएको छ । अधिवेशन सहज बनाउन शुक्रबार नै केन्द्रीय सदस्य सम्मिलित अध्यक्षमण्डल गठन भएको थियो । आइतबार बिहानदेखि नेतृत्व चयन प्रक्रिया अघि बढ्ने अध्यक्षमण्डलका जगतबहादुर विश्वकर्माले जानकारी दिए ।
सर्वसम्मत प्रयास गर्ने भनिए पनि नेतृत्वमा आकांक्षीहरु टसमस नभएपछि मतदान हुने अधिक सम्भावना छ । अध्यक्षमा हालका कार्यवाहक अध्यक्ष गुरुङ र सचिव दामोदर बैरागीको तीव्र आकांक्षा छ । उनीहरु आफूमात्रै दाबेदार छैनन्, दोस्रो तहका नेताहरुको गुटको नेतृत्वसमेत गर्दैछन् । त्यसैले सर्वसम्मत हुने सम्भावना करिब टरेको एमाले नेताहरु बताउँछन् । केन्द्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट मानिए पनि दोस्रो तहको छुट्टै प्रभाव समूह छ ।
मनबहादुर गुरुङले केन्द्रमा उपमहासचिव तथा पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्यानल समातेका छन् भने बैरागी केन्द्रीय सदस्य खगराज अधिकारीको टिममा छन् । गण्डकीमा गुरुङ र अधिकारीको टक्कर कडाखालको छ । कहिलेकाहीं एकले अर्को समूहलाई हराउन लागेकोसमेत देखिन्छ । भ्रातृसंस्थादेखि अन्य विभिन्न निर्वाचनमा दुवै समूहको अस्वस्थ खालको प्रतिस्पर्धा छ । यद्यपि यसपालि नेताहरु सर्वसम्मत नै कमिटी गठन हुने रटानमा छन् ।

सहमति नभए आज निर्वाचन प्रक्रिया अघि बढ्ने अध्यक्षमण्डलले जनाएको छ

त्यसो त अध्यक्षमा बैनबहादुर अधिकारी, तेजरानायण अधिकारी, जगन्नाथ बास्तोला, दीपक पौडेल लगायत पनि प्रतिस्पर्धामा छन् । स्रोतका अनुसार बैरागी प्यानलबाट बैनबहादुर सचिवको प्रतिस्पर्धा गर्दैछन् भने गुरुङ प्यानलमा तेजनारायण अटाउने सम्भावना छ । उपाध्यक्षमा बैरागीको प्यानलबाट प्रभा कोइराला र गुरुङ प्यानलबाट धनबहादुर नेपालीको नाम अगाडि छ । सचिवमा झपटबहादुर रानाभाटको नाम समेत चर्चामा छ । २ उपसचिवमा पनि नेताहरुले प्रचार सुरु गरिसकेका छन् । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा र पोखरा १३ का वडाध्यक्ष लेखहादुर तामाङ (दर्शन लामा) बैरागी प्यानलमा छन् भने गुरुङ प्यानलमा हालसम्म इमानराज पौडेल खुलेका छन् । अर्को उपसचिवमा गुरुङ प्यानलबाट को हुने टुंगो छैन ।
आइतबार एक पटक पुनः छलफल गर्ने र सहमति नजुटे मतदान प्रक्रिया सुरु हुने बताइएको छ । एमाले कास्कीका निवर्तमान अध्यक्ष कृष्ण थापा केन्द्रीय सदस्य निर्वाचित भएपछि विधानतः उपाध्यक्ष गुरुङलाई कार्यवाहक अध्यक्ष जिम्मेवारी दिइएको हो । एमाले वृत्तमा २ आकांक्षीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । गुरुङलाई गण्डकी इन्चार्ज पद्या अर्याल लगायतको समर्थन छ भने कार्यकर्ताले भने केन्द्रीय नेतृत्वको निर्देशन पालना नगर्ने संकेत बुझिन्छ । करिब १८ हजार संगठित सदस्य रहेको कास्कीमा जिल्ला नेतृत्व चयनका लागि ९ सय १४ जना मतदाता छन् । वडा र विभिन्न संघ–संगठनबाट छनोट भएर आएका प्रतिनिधिले मतदान गर्न पाउँछन् । पदाधिकारीसहित एमाले कास्कीमा १ सय २० सदस्यीय कार्यसमिति बन्नेछ । पदाधिकारीतर्फ अध्यक्ष, उपाध्यक्ष, सचिव र २ उपसचिव हुने छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width