फेरि स्मार्ट लकडाउन !

आदर्श समाज सम्वाददाता
पौष २४, २०७८

पोखरा । नेपालमा एकै पटक २४ जनामा कोरोना भाइरसको नयाँ भेरियेन्ट ओमिक्रोन पुष्टि भएको छ । २ सय ५० जनामा परीक्षण गर्दा उनीहरुमा उक्त भेरियन्ट संक्रमण पुष्टि भएको शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । पुसमा १ हजार १ सय ४६ जनामा गरिएको परीक्षणमा २ सय ५० जनामा एस–जिन नेगेटिभ भेटिएको हो । ती नेगेटिभ देखिएकबाका २४ नमुनाको जिन स्क्रिनिङ गर्दा सबैमा संक्रमण पुष्टि भएको हो । यसअघि नेपालमा ३ जनामा ओमिक्रोन पुष्टि भइसकेको थियो ।
ओमिक्रोन भेरिएन्टको संक्रमण रोकथाम र नियन्त्रणका लागि सबै अस्पताललाई तयारी अवस्थामा राख्न मन्त्रालयले निर्देशनसमेत दिएको छ । ‘ओमिक्रोनले गदौ हुनसक्ने अत्यधिक बिरामीको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा रहन, उपचारका लागि आवश्यकपर्ने अक्सिजनलगायत अन्य सामग्रीको यथेष्ठ जोहो गर्न र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ,’ मन्त्रालयका प्रवक्ता डा संगीताकौशल मिश्राद्वारा जारी विज्ञप्ति भनिएको छ, ‘सीमानाकामा कोभिड–१९ को परीक्षणलाई थप सशक्त बनाउने तथा पोजेटिभ आएका केशलाई आइशोलेसनमा राख्ने व्यवस्था गरिएको छ ।’
यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना संक्रमण बढ्न नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिको शुक्रबारको बैठकमा प्रधानमन्त्री देउवाले ओमिक्रोन भेरियन्टको संक्रमण बढन नदिन र संक्रमितको परीक्षण तथा उपचारमा विशेष ध्यान दिन निर्देशन दिएका हुन् । सीमा नाकालाई चुस्तदुरुस्त बनाउन तथा कोभिड–१९ विरुद्ध खोप लगाउने कामलाई अझ तीव्रता दिन प्रधानमन्त्रीले निर्देशन दिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए ।

‘गण्डकीका कास्की, म्याग्दी, लमजुङ, नवलपुरमा स्मार्ट लकडाउन हुन सक्नेछ’

बैठकमा ओमिक्रोन भेरियन्टको संक्रमणदर बढ्दै गएमा स्मार्ट लकडाउन गर्ने विषयमा पनि छलफल भएको छ । संक्रमित संख्या बढेर गएमा भीडभाड हुने सिनेमा हल, हिउँदे बिदालाई ध्यानमा दिएर विद्यालयहरु बन्द गर्ने जस्ता स्मार्ट लकडाउनका विषयमा छलफल गरिएको स्वास्थ्यमन्त्री खतिवडाले बताए । बैठकले तेस्रो चरणको बुस्टर डोज खोप पनि अघि बढाउने अनुमति दिएको छ ।
गण्डकी प्रदेशमा पनि स्वास्थ्य सुरक्षामा कडाइबारे तयारी थालिएको छ । प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि ओमिक्रोन बढ्न सक्ने भएपछि सिमानाकामा कडाइसँगै स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन निर्देशन दिएको छ । स्वास्थ्य मन्त्री मधु अधिकारी गुरुङसहितको बैठकमा ओमिक्रोन नियन्त्रणका लागि मातहतका निकायलाई प्रदेशका नाकामा जाँचमा तीव्रता दिने, प्रदेशका स्वास्थ्य संरचनालाई आवश्यक अन्य तयारी गरी उपकरण, स्वास्थ्य सामग्री, जनशक्ति व्यवस्थापन अक्सिजन सिलिन्डर तथा अन्य तयारी यथाशीघ्र व्यवस्थापन गर्न निर्देशन दिइन् ।
गण्डकीमा कास्की, म्याग्दी, लमजुङ, नवलपुर जिल्लामा संक्रमण बढ्दै गएकोले स्मार्ट लकडाउन हुन सक्ने स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खिमबहादुर खड्काले जानकारी दिए । सोको लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई अधिकार रहन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width