सुरु भयो एमाले अधिवेशन : कास्कीमा गुरुङ–बैरागीको दाबी कायमै

आदर्श समाज सम्वाददाता
पौष २४, २०७८
uml kaski

पोखरा । नेकपा एमाले कास्कीले १० औं अधिवेशन सुरु गरेको छ । देशभर एकैसाथ सुरु अधिवेशनअन्तर्गत कास्कीमा बन्दसत्र चलिरहेको छ । शुक्रबार ३ वटा प्रतिवेदन पेस गरेर समूह छनोट भएको एमालेले जनाएको छ । आर्थिक, सांगठानिक र राजनीतिक प्रतिवेदन बन्दसत्रमा प्रस्तुत भएको छ । यसमा छलफल गर्न ७ समूह गठन गरिएको छ । उक्त समूहले प्रतिवेदनमाथि छलफल गर्नेछन् र आवश्यक सुझाव दिनेछन् । शनिबार प्रतिवेदन पास भएपछि निर्वाचन प्रक्रिया सुरु हुने बताइएको छ ।
बन्दसत्र सहज बनाउन ९ सदस्यीय अध्यक्षमण्डल गठन भएको छ । पूर्व युवा तथा खेलकुद मन्त्रीसमेत रहेका जगतबहादुर विश्वकर्मा, भीम कार्की, कृष्ण थापा, राजीव पहारी, विद्या भट्टराई, मीना गुरुङ, मञ्जुदेवी गुरुङ, बालासिं काउचा र रश्मी आचार्य सदस्य छन् । ‘गठित समितिले सहमतिको प्रयास गर्छन् । आकांक्षीलाई बोलाएर छलफल गर्छन् र मिलाउने प्रयास हुन्छ,’ एक सदस्यले भने ।
अध्यक्षका लागि ५ जनाको दाबी छ । जिल्लाका कार्यवाहक अध्यक्ष मनबहादुर गुरुङ, सचिव दामोदर बैरागी, नेताहरु बैनबहादुर अधिकारी क्षत्री, तेजनारायण अधिकारी र जगन्नाथ बास्तोलाले दाबी गरेका छन् । माधव बास्तोलाले समेत दाबी गरेका थिए । पछिल्लो समय उनको नाम कम चर्चामा छ । दाबी जति भए पनि गुरुङ र बैरागीबीच प्रतिस्पर्धा हुने पक्काजस्तो छ । यद्यपि सहमति प्रयास भइरहेको छ । केन्द्रमा सबै केपी शर्मा ओलीनिकट भए पनि दोस्रो तहको गुट हावी भएको छ । यहाँ पूर्व मुख्यमन्त्री तथा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारीको छुट्टाछुट्टै समूह छ । सोही समूहबीच प्रतिस्पर्धा हुने बताइएको छ । मनबहादुरले पृथ्वीसुब्बाको गुट सम्हाल्ने बुझिएको छ भने बैरागीले अधिकारीको गुटको नेतृत्व गर्ने छन् । गुटकै समर्थनमा अध्यक्ष दाबी गरेका दुवै जनाले जिल्लामा कुनै खालको गुट नरहेको दाबी गरिरहेका छन् ।

जिल्ला अधिवेशनमा ९१४ जना प्रतिनिधि सहभागी छन्

अधिवेशनलाई सम्बोधन गर्दै एमाले नेता सोमनाथ अधिकारी ‘प्यासी’ ले एमाले कास्कीले जिल्लाभरीका जनसंख्यालाई नेतृत्व गर्ने गरी प्रस्तुत हुन आग्रह गरे । पहिले सानो कमिटीबाट अघि बढेको एमाले जिल्लामा ठूलो संगठनरुपमा रहेको भन्दै उनले सोच अझै बृहत् बनाउन नेता कार्यकर्तासँग अनुरोध गरे । ‘पहिले १५ जनाले अधिवेशन गरेको हो । कहिले ४० जना भेला भएर अधिवेशन गरेका थियौं । त्यतिबेला पनि उल्कै गर्‍यौं जस्तो लाग्थ्यो । अहिले आएर १८ हजार करिब सदस्य पुगेका छौं । त्यो खुसीको कुरा हो,’ उनले भने, ‘अब निर्वाचित हुने कमिटीले १८ हजारको मात्रै नेतृत्व गरेर पुग्दैन, आफ्नो पार्टीको मात्रै नेतृत्व गरेर पनि पुग्दैन, यो ठूलो पार्टी छ, हाम्रो सोच पनि उस्तै हुनुपर्छ । कास्की जिल्लाले सम्पूर्ण जनसंख्याकै नेतृत्व गर्ने ल्याकत राख्नुपर्छ ।’
उनले एमालेबाट चोइटिएर गएका माधवकुमार नेपालले अध्यक्ष बन्न पार्टी फुटाएको आरोप लगाए । ‘एमालेमा देखा परेको सास्तीलाई हामीले च्यालेन्ज गर्नुपर्छ । दलालहरुलाई पछार्नुपर्ने छ । नाम नकाढौं भनेको, माधव नेपालजी नवौं महाधिवेशनमा अध्यक्ष हार्नुभो, अध्यक्ष नभै भएन । २ ठाउँमा चुनाव लडेर हार्नुभो, प्रधानमन्त्री नभै भएन । विडम्बना भयो,’ उनले भने ।
केन्द्रीय सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीले एमालेको सदस्य हुनुमै गर्व गर्न आग्रह गरे । माधव नेपाल समूहको एकीकृत समाजवादीलाई खिसिट्युरी गर्दै उनले भने, ‘टुक्रियर गएको, अर्थहीन पार्टीको मुख्य जिम्मेवार पदमा रहनुभन्दा एमालेको सदस्य हुनु नै गर्वको कुरा हो ।’ एमालेको सरकारले राष्ट्रिय गौरवका आयोजनामा उल्लेखनीय काम गरेको दाबी गर्दै पार्टीलाई अझै सक्रिय र गतिशील बनाएर दुइतिहाइ बहुमतका लागि मिहिनत गर्न उनको अनुरोध छ ।
पोलिट्ब्युरो सदस्य जगतबहादुर विश्वकर्माले अहिलेको सरकारले विकासका योजना काटेर जनतामाथि घात गरेको आरोप लगाए । ‘परमादेशको सरकार दिशाहीन अवस्थामा छ । विकासका योजना काटेको छ,’ उनले भने, ‘अब सबै तहमा बहुमतले विजयी भएर जनचाहनाअनुसार काम गर्नुपर्छ । जनताका चाहना पूरा गर्ने दायित्व एमालेको हो ।’
एमाले कास्कीमा हाल १७ हजार ७ सय ३७ जना संगठित सदस्य छन् । जिल्ला अधिवेशनमा ९ सय १४ जना प्रतिनिधि सहभागी छन् । ७२ वटा वडा, विशेष इलाका मातहतका शाखा कमिटी, गाउँपालिका, महानगरपालिका, जनवर्गीय संगठनबाट छानिएका प्रतिनिधि, सल्लाहकार परिषद्, जिल्ला कमिटी पदाधिकारी तथा सदस्यहरू अधिवेशनमा प्रतिनिधि बनेका छन् । अधिवेशन सम्पन्न गर्न १० उपसमिति गठन गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width