भलिबल विजेतालाई प्रदेश सरकारको सम्मान

आदर्श समाज सम्वाददाता
पौष २०, २०७८
Volleyball Photo

पोखरा । एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि जित्न सफल नेपाली टोलीका ४ खेलाडीलाई गण्डकी प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ ।
गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयमा सोमबार आयोजित समारोहमा प्रदेशका ४ जना खेलाडीलाई ५० हजार नगद तथा प्रशंसापत्रसहित सम्मान गरिएको हो । नेपाली राष्ट्रिय महिला भलिबल टोलीमा गण्डकीबाट प्रतिनिधित्व गरी नेपालको नाम राख्न सफल भएकोमा उनीहरुलाई सम्मान गरिएको प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले जानकारी दिए ।
समारोहमा युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङ र परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङ, मन्त्रालयका निमित्त सचिव तेजप्रसाद काफ्लेले खेलाडीहरुलाई नगद, प्रशंसापत्र प्रदान गरेका थिए ।
सम्मानित हुनेमा राष्ट्रिय टोलीका कप्तान अरुणा शाही (म्याग्दी),सोफिया पुन (बाग्लुङ), उषा भण्डारी (तनहुँ) र शान्तिकुमारी थारु (नवलपुर) हुन् । साथै नेपाल भलिबल संघका कार्यवाहक अध्यक्ष एवं टोली नेता यामबहादुर गुरुङलाई पनि प्रशंसापत्रबाट सम्मान गरिएको थियो ।
गत साता बंगलादेशमा सम्पन्न प्रतियोगिताको फाइनलमा उज्वेकिस्तानलाई पराजित गर्दै नेपाली टोलीले उपाधि रक्षा गरेको थियो । यसअघि सन् २०१९ मा नेपाली टोलीले उपाधि जितेको थियो ।

गण्डकीका ४ जना महिला खेलाडीलाई जनही ५० हजारसहित सम्मान गरिएको हो

कार्यक्रममा मन्त्री गुरुङले खेल क्षेत्र र खेलाडीको महत्वबारे मुख्यमन्त्री र अर्थमन्त्रीले बुझ्न आवश्यक रहेको बताए । खेलाडीको वृत्ति विकासका लागि राज्यले धेरै काम गर्न बाँकी रहेको उनको भनाइ थियो । मन्त्रालयमा बजेट थोरै हुँदा आफूले सोचेअनुरुप काम गर्न नसकेको उनले बताए । खेलाडीहरुलाई स्वरोजगार बनाउनुपर्ने उनको जोड थियो । उनले खेलाडी प्रोत्साहन, क्षमता विकास, प्रशिक्षण लगायतका कार्यक्रमका लागि मन्त्रालयमा बजेट अभाव रहे पनि सीमित साधन स्रोतका साथ मन्त्रालय खेलकुद विकासमा अघि बढेको दोहो¥याए ।
सम्मान समारोहमा प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङ, मन्त्रालय निमित्त सचिव तेजप्रसाद काफ्ले, परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले खेलाडीको हौसला बढाउन र प्रोत्साहनका लागि सम्मानले योगदान पुग्ने विश्वास व्यक्त गरे ।
टोली कप्तान अरुण शाहीले भलिबल खेलाडीको लागि राज्यले जति गर्नुपर्ने हो, त्यति गर्न नसकेको गुनासो गरिन् । उनले गण्डकीबाट राम्रा खेलाडी उत्पादन भएपनि लामो समयसम्म संरक्षण हुन नसकेको उनको भनाइ थियो । उनले खेल जीवनपछि पनि खेलाडीको रक्षाका लागि राज्यले पहल गर्नुपर्ने बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width