अङ्ग्रेजी नयाँ वर्षमा बन्दीपुरमा ८ हजार पर्यटक

रासस
पौष १८, २०७८

दमौली । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा आठ हजार पर्यटक पुगेका छन् । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा शुक्रबार र शनिबार आठ हजार पर्यटकले बन्दीपुरको भ्रमण गरेका छन् ।

नयाँ वर्षको अवसरमा बन्दीपुरमा दुई दिन खाना महोत्सव गरिएको थियो । क्षेत्रीय होटल सङ्घ बन्दीपुरका अध्यक्ष विपीन प्रधानले नयाँ वर्षको अवसरमा बन्दीपुरमा आन्तरिक पर्यटक खचाखच भरिएको भएको जानकारी दिनुभयो । “विदेशी पर्यटक पाँच/छ जनामात्रै देखिए, बाँकी सबै आन्तरिक पर्यटकले बन्दीपुर भरिभराउ भए”, उहाँले भन्नुभयो ।

बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल सङ्घ र तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुरको संयुक्त आयोजनामा महोत्सव सञ्चालन गरिएको थियो । महोत्सवमा बन्दीपुर बजार क्षेत्रको खुला आकाशमुनि स्थानीय खानाका परिकारको स्टल राखिएको थियो ।

विशेषगरी नेवार, गुरुङ र मगर समुदायको खानाको परिकार राखिएको थियो । महोत्सवले बन्दीपुरको पर्यटन प्रवद्र्धनमा सघाउने प्रधानको विश्वास छ । सडक खाना महोत्सव बन्दीपुरको एउटा ब्राण्ड हो । हरेक वर्ष अङ्ग्रेजी नयाँ वर्षको अवसरमा सडक खाना महोत्सव हुँदै आइरहेको छ । गत वर्ष कोरोना कहरकै बेला पनि सडक खाना महोत्सव गरिएको थियो । अङ्ग्रेजी नयाँ वर्षसँगै नेपाली नयाँ वर्ष र प्रेम दिवसका बेलामा पनि बन्दीपुरमा पर्यटक आकर्षित गर्न कार्यक्रम हुँदै आएको छ ।

कोरोनाको मारमा परेको बन्दीपुरको पर्यटन गत दशैँदेखि तङ्ग्रिने प्रयासमा छ । कोरोना त्रासपछि बन्दीपुरमा विस्तारै पर्यटकको आगमन बढ्न थालेको बन्दीपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले बताउनुभयो ।

भक्तपुरे शैलीमा बनेका इँट्टाका मौलिक घर बन्दीपुरको आकर्षण हो । निकै पुरानो र ऐतिहासिक बन्दीपुर कोलाहलमुक्त छ । यहाँको भीमसेनको मन्दिर, थानीमाई, खड्गदेवी र तीनधारे प्रसिद्ध छन् । अन्नपूर्ण, धवलागिरि, लमजुङ, मनास्लु, बौद्ध, फिस्टेल हिमालसँगै १९ हिमचुचुरा बन्दीपुरको टुँडिखेलबाट अवलोकन गर्न सकिन्छ ।

विश्वप्रसिद्ध चीनको ग्रेटवालको झल्को दिने गरी बनाइएको मुकुन्देश्वरी पर्खालले पनि आन्तरिक र बाह्य पर्यटकलाई लोभ्याउँछ । बन्दीपुर साहसिक पर्यटक लक्षित साइकल लेनसमेत बनाइएको छ । केबुलकार निर्माणको चरणमा रहेको छ । पर्यटकको बसाइ लम्ब्याउन बन्दीपुर क्षेत्रमा विभिन्न पूर्वाधार थप भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width