पोखरामा सुरु भयो सडक महोत्सव, गृहमन्त्री खाँणले गरे उद्घाटन 

आदर्श समाज सम्वाददाता
पौष १५, २०७८
Street Fest Opening Photo

पोखरा। पोखरा सडक महोत्सवको २३ औं संस्करण बिहीबारदेखि सुरु भएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा लेकसाइडस्थित फेवा किनारमा सुरु भएको महोत्सवको गृहमन्त्री बालकृष्ण खाँडले उद्घाटन गरेका हुन् ।

सडक मै खाउ, सडकमै रमाउ भन्ने नारासहित विभिन्न झाकी बाजा तथा सांस्कृतिक कार्यक्रम गरी उद्घाटन गरिएको छ । फेवा किनारमा रहेको करिब ३ किलोमिटर सडकमा महोत्सव सञ्चालन भएको छ । महोत्सव उद्घाटनपछि बोल्दै गृहमन्त्री खाँणले पर्यटकीय नगरी पोखरा २४ घण्टा नै खुला हुनुपर्ने बताएका छन् । खाँडले व्यवसायीको मागप्रति सरकार सदैव सकारात्मक रहेको बताए । नेपाल भ्रमण वर्ष सन् २०२० को सन्दर्भमा सरकारले देशका प्रमुख तीन पर्यटकीय गन्तव्य काठमाडौँको ठमेल, चितवनको सौराहा र पोखराको लेकसाइडलाई चौबिसै घण्टा खुल्ला गर्ने गरी तयारी अगाडि बढाएको थियो । तर, विश्वव्यापी कोरोना महामारीले भ्रमण वर्ष प्रभावित बनेको थियो । ‘म प्रहरीका डिआईजी र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिन्छु,’ उनले भने, ‘पोखरा २४ घण्टा नै खुला हुनुपर्छ । पर्यटकीय गतिविधि बढाउनुपर्छ । राति रेष्टुरेन्टमा छिरेर बन्द गराउँदै नहिँड्नुहोला । पर्यटक तर्साउने काम नगर्नुहोला ।’

गृहमन्त्री खाँडले फेवातालको सीमांकन प्रतिवेदन अनुसार अघि बढ्न सबैको साथ आवश्यक रहेको पनि बताए । यसका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने औंलाए । आवश्यक शान्ति सुरक्षाको प्रत्याभूत गर्ने गरी अघि बढ्न प्रशासनलाई उनले निर्देशन दिएका छन् । उनले स्थानियको गुनासो नहुने गरी कुनै एक स्थानमा २४ घण्टा खुल्ला गरेर परिक्षण गर्नुपर्नेमा जोड दिए । पोखराका सरोकारवाला निकायसँग तत्काल छलफल गरी यसमा लाग्न प्रमुख जिल्ला अधिकारीलाई उनको आग्रह थियो । सुरक्षा निकायलाई पनि होटल तथा रेष्टुरेण्टमा छिरेर दुख दिनेका काम बन्द गर्दै समन्वय गर्न उनले निर्देशन दिए ।

उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री मणीभद्र शर्माले प्रदेश सरकार सधैं पर्यटन व्यावसायीको हितमा लागेको बताए । कोरोनाले प्रभाव पारेको अर्थतन्त्र उकास्ने बलियो माध्यम पर्यटन भएकाले पर्यटनका क्षेत्रमा धेरै कार्यक्रम भएको र आगामी दिनमा गर्दै जाने उनको भनाई छ । पोखरा क्षेत्रिय विमानस्थलको काममा संघ सरकारसँग राम्रो समन्वय भएकाले त्यहाँ भएका समस्या छिट्टै समाधान गर्दै सञ्चालनमा जोड दिएको उनले जानकारी दिए । कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले गण्डकी प्रदेशको सांस्कृतिक क्षेत्रको प्रचारप्रसार सङ्गै पर्यटन क्षेत्रको श्रीवृद्धिका लागि सडक महोत्सव प्रभावकारी बन्दै गएको बताए । विगतका कमीकमजोरीलाई आत्मसात गर्दै सडक महोत्सवलाई थप परिमार्जित गर्नु आजको आवश्यकता रहेको उनको धारणा थियो । जसका लागि प्रदेश सरकार साथमा रहेको उनले जानकारी दिए ।

प्रदेश सांसद राजीव पहारी, नेपाली कांग्रेसका केन्द्रिय सदस्य बहादुरसिंह लामा, पोखरा पर्यटन परिषद्का अध्यष गोपीबहादुर भट्टराई, रेवानका केन्द्रिय अध्यक्ष संघर्ष विष्ट, पर्यटन व्यवसायी गणेश भट्टराई लगायतले महोत्सवले पोखराको पर्यटन क्षेत्रमा थप टेवा पुगेको धारणा राखेका थिए ।
महोत्सवको उद्घाटन पूर्व आयोजित ¥यालीमा हिमालपारीको जिल्लाको कला संस्कृतिदेखि नवलपुरको थारु समुदायको कला संस्कृति प्रदर्शन गरिएको थियो । ‘समृद्ध समाजको लागि सुरक्षित पर्यटन प्रवर्द्धन आजको मूल आवश्यकता’ भन्ने मूल नाराका साथ अङ्ग्रेजी नयाँ वर्षको स्वागतार्थ पोखरामा महोत्सव सुरु गरिएको महोत्सव संयोजक नरेश भट्टराईले बताए । महोत्सव अवधिभर कोमागाने पार्कमा लोक दोहोरी र राती लाईभ कन्सर्ट आयोजना हुनेछन् ।

महोत्सव अवलोकन गर्न आउनेहरुलाई ईच्छा अनुसार कोरोना विरुद्धको खोप उपलब्ध गराइएको छ । पश्चिमाञ्चल होटल संघसँग आवद्ध होटलहरुमा ३० प्रतिशत छुट र प्याराग्लाईडिङमा ३३ प्रतिशत छुटको व्यवस्था रहेको आयोजकले जनाएको छ । भने आयोजक रेवानले आफू मातहत रहेका रेष्टुरेण्टमा पहिलाको मेनुमा भारी छुटका साथ नयाँ मेनु चलाउने महोत्सव संयोजक नरेश भट्टराईले जानकारी दिए ।

ल्होसारको बिदालाई अर्को वर्ष क्यालेण्डर मै राख्छौं : गृहमन्त्री खाँड
पोखरा महोत्सव उद्घाटनका लागि पोखरा आएका गृहमन्त्री खाँडले तो ल्होसार मुल आयोजक समिति, कास्कीले तमु धीं मा आयोजना गरेको कार्यक्रममा शुभकामना आदान प्रदान कार्यक्रम उद्घाटन गरे । तमु ल्होसार राष्ट्रिय पर्व भईसकेको बताए । गुरुङ जातीको सम्मानका लागि यो वर्ष सार्वजनिक विदा घोषणा गरेपनि अर्को वर्ष ल्होसारको बिदा क्यालेण्डर मै समावेश गर्ने उनको भनाई थियो ।

नेपालका जात जाती, भाषा, संस्कृतिको खानी भएकाले सबैले सबैको भाषा संस्कृतिको सम्मान गर्नुपर्ने उनको धारणा थियो । गुरुङहरुले प्राकृतिक विषयमा धेरै ध्यान दिएको उनको भनाई थियो । गाई ल्होको विदाई गर्दै बाघ ल्हो को स्वागत गर्दै गर्दा नेपाल र नेपालीलाई बाघ जस्तै शक्तिशाली बनाउनेमा उनी विश्वस्त छन् । गुरुङहरुको नयाँ वर्षले राष्ट्रियता, समृद्धि र विकाशको गति लिने गृहमन्त्री खाँणले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width