गण्डकीको लोकसंस्कृतिबारे बहस हुँदै

आदर्श समाज सम्वाददाता
पौष ८, २०७८
lok~

हेमजा । नेपाल प्रज्ञा–प्रतिष्ठान तथा जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानको संयुक्त आयोजनामा पोखरामा गण्डकीको लोकसंस्कृति र लोकजीवनबारे गोष्ठी हुने भएको छ ।
जनकविकेशरीको निवास पोखराको बाटुलेचौरमा पुस ९ र १० गते हुने सो गोष्ठीको तयारी पूरा भएको बुधवार पत्रकार सम्मेलनमार्फत जानकारी गराइयो ।
पहिलो दिन विभिन्न स्रष्टाबाट कविता, हाइकु, गजल, मुक्तक लगायतका रचना वाचन गरिने प्रतिष्ठान अध्यक्ष मदनराज थापाले जानकारी दिए । साथै गुरुङ, तामाङ, नेवारी भाषामा पनि कविता वाचनको तयारी भइरहेको छ । त्यस्तै लमजुङमा गाइने ठाडो भाखाका गीतहरु पनि सुनाइनेछ ।
अर्को दिन बाटुलेचौरस्थित गन्धर्व समुदायको मांगलिक धुनबाट कार्यक्रम आरम्भ गरिनेछ भने गण्डकीको लोकसंस्कृति र लोकजीवनबारे विभिन्न स्रष्टा एवं संस्थाबाट कार्यपत्र प्रस्तुत गरिनेछ । त्यस्तै गण्डकी प्रज्ञा प्रतिष्ठानको घाटु नाँच, कवि सम्मान लगायत स्थानीय संघसंस्थाका विभिन्न प्रस्तुति पनि रहने छन् ।
गोष्ठीमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ, प्राज्ञ डा. देवी नेपाल, गायिका ज्ञानु राणा लगायत कास्की र आसपासका सष्टाको पनि सहभागिता रहनेछ ।
कार्यक्रमसँगै गण्डकीको साहित्य, संगीत र समाज एकाकार हुने आयोजकको विश्वास छ । कार्यक्रमबीच जनकविकेशरी थापाले नेपाली साहित्य र संगीतमा पुर्‍याएको योगदानको चर्चा हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width