‘पर्यटन व्यवसायीको साथले पोखरा सुरक्षित गन्तव्य बनाउन सकिन्छ’

आदर्श समाज सम्वाददाता
पौष ५, २०७८
paryatan byabasai jamunas

पोखरा । गण्डकी प्रदेशका प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले पर्यटकीय नगरी पोखरालाई शान्ति सुरक्षा अमनचैनको प्रत्याभूतसहित सुरक्षित गन्तव्यको रुपमा चिनाउन पर्यटन व्यवसायीहरुको साथ र समन्वयको खाँचो रहेको बताए ।
पोखरा पर्यटन परिषद र जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा ‘पोखरामा पर्यटन व्यवसायमा सुरक्षा व्यवस्थापन विषयक अन्तक्र्रियात्मक अनुशिक्षण’ कार्यक्रमको उद्घाटनमा लोहनीले व्यवसायीको साथ र सहयोग हुने हो भने कुनै पनि अपराध लुक्न नसक्ने र आपराधिक घटना न्यूनीकरण हुने बताए ।
उनले पर्यटन व्यवसायीले होटलमा आउने पाहुनाको वास्तविक परिचय नलिने र एक जनाले बुकिङ गरेपछि ५/६ जना सहज बस्न दिने, सिसी क्यामेराको व्यवस्थापन नगर्ने जस्ता कतिपय कमजोरीले आपराधिक घटनाको अनुसन्धानमा चुनौती थपिएको उल्लेख गरे । घटना संख्यामा हेरेर विश्लेषण गर्न नहुने भन्दै कुनै एक घटनाले सम्पूर्ण शान्ति सुरक्षालाई नै खलल पार्ने भएकाले घटना हुनु अघि नै सावधानी अपनाउनुपर्ने उनको भनाइ थियो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादर भट्टराईले पर्यटन क्षेत्रले विभिन्न कठिनाइको सामना गर्नु परिरहेको जनाउँदै पर्यटकका लागि शान्ति सुरक्षा पहिलो शर्त भएको बताए । पर्यटकले घुमफिर गर्दा सुरक्षित महसुस गर्न सकेमात्र पर्यटकीय गतिविधि बढ्ने भएकाले सुरक्षालाई प्राथमिकतमा राख्नुपर्नेमा उनले जोड दिए । उनले लेकसाइडका अधिकांश सोलार बत्तीहरु नबल्ने र साँझ परेपछि अन्धकार देखिने समस्या भएपछि व्यवसायीकै पहलमा १६ लाख खर्चेर बिजुली बत्तीको व्यवस्थापन गर्नु परेको स्पष्ट पारे
पोखरा ६ का अध्यक्ष जगत पहारीले शान्ति सुरक्षा लागि आवश्यक पूर्वाधार निर्माणमा बजेट अभाव रहेको र निजी क्षेत्रको पहलमा पनि भइरहेका कार्य प्रशंसनीय रहेको बताए । उनले रात्रिकालीन व्यवसायबाट उत्पन्न समस्यालाई न्यूनीकरण गर्न रात्रिकालीन निर्देशिका बने पनि त्यसको कार्यान्वयन हुन नसक्दा चुनौती थपिएको बताए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक रमेश थापा शान्ति सुरक्षाको जिम्मा प्रहरीको मात्र भन्ने परम्परागत मानसिकता त्यागेर अपराध न्यूनीकरण साझा धारणासहित सबैको साथ सहयोग र समन्वयको खाँचो हुने बताए । नागरिक बर्दीविनाका प्रहरी भएकाले सचेत नागरिकबाट समाजलाई हिंसा र अपराधरहित बनाउन सहयोग पुग्ने उल्लेख गरे ।
२ दिनसम्म चल्ने अनुशिक्षण कार्यक्रममा पर्यटन क्षेत्रका विज्ञ र प्रहरी प्रमुखहरुबाट पर्यटन र सुरक्षासम्बन्धी विषयमा प्रस्तुतीकरण रहने परिषद्का महासचिव रामचन्द्र शर्माले जानकारी दिए । उनकाअनुसार कार्यक्रममा होटल, रेस्टुरेन्ट र डान्सबारका सञ्चालक एवं कर्मचारीहरुसँगै पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायीहरुको सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width