पर्यटकको अब्बल गन्तव्य ‘ढोरपाटन आरक्ष’

धनबहादुर गुरुङ
मंसिर २७, २०७८
Dhorpatan Photo (3)

पोखरा । दक्षिणबाट उत्तरतर्फ बग्ने उत्तरगंगा नदी । कलकल बग्ने पानीसँगै फराकिलो फाँट । सुन्दर उपत्यकाको छेवैमा ढोरवराह थान । थान वरपरका पाखाथर, काङ्ग, छ्यान्तुङ, स्यालपाखे, नवी गाउँ । विविधताले भरिएको गाउँको छेउछाउमा चउर र जंगलसँगै तालै ताल, मैदान, सिमसार क्षेत्र । त्यसमाथि राता डाँडा, हरियो जंगल, वरिपरि सेता हिमालका चुचुरा । ढोरपाटन आफैंमा सुन्दर थियो ।
ढोरपाटनको सुन्दरतामा अझ बल थप्न २०४० सालमा ढोरपाटन सिकार आरक्ष स्थापना भयो । नेपालकै एकमात्र आरक्ष क्षेत्र भएसँगै सरकारले पूर्वाधार बनाउन सुरु ग¥यो । स्थापनाको ४ वर्षपछि २०४४ सालमा आरक्ष क्षेत्रले मान्यता पायो । सुन्दर ढोरपाटन उपत्यका पहिले उत्तिसारो चर्चामा नरहे पनि आरक्ष बनेपछि चर्चामा आउन थाल्यो । सिकार क्षेत्रले बागलुङको ढोरपाटन क्षेत्रमात्र समेटेन । यसको १ हजार ३ सय २५ वर्गकिलोमिटर क्षेत्रफलमध्ये बागलुङले २६ प्रतिशत रुकुमपूर्वले ६० प्रतिशत र १४ प्रतिशत म्याग्दी जिल्लाले ओगटेको छ ।
रुकुम र म्याग्दी क्षेत्रमा सडक पूर्वाधार नबनेकाले यसको प्रवेशद्वार बागलुङको ढोरपाटन क्षेत्रमा छ । आरक्षको कार्यालय पनि सोही स्थानमा छ । त्यसैले पनि सिकार आरक्ष जाने पर्यटकहरु उक्त क्षेत्रमै जाने गर्छन् । धार्मिक र पर्यटकीय गन्तव्यको रुपमा परिचित ढोरपाटनमा उत्तरगंगाको ढोरवराह मन्दिर, उत्तरगंगा, रुद्र ताल, छेन्टुङ गुम्बालगायत रहेका छन् । उपत्यका, बुकी र यहाँका अन्य रमणीय बस्तीसमेत रहेका छन् । उपत्यका क्षेत्रमा पुरानो हवाई मैदानसँगै वरपरका गाउँ र तिब्बती शरणार्थी क्याम्पसम्म घुम्ने गर्छन् ।
ढोरपाटन क्षेत्रमा हिँउपर्ने भएकाले पनि हिउँदमा पर्यटन जान्छन् । आरक्ष समुन्द्र सतहबाट २ हजार ८ सय ५० मिटरदेखि ७ हजार २ सय ४६ मिटर उचाइमा छ । उक्त क्षेत्र म्याग्दी जिल्लाको गुर्जाघाटदेखि रुकुम जिल्लाको निसेलढोरसम्म फैलिएको छ । बीचमा उत्तरगंगा नदी रहेको छ । हिमाली र पहाडी भूभागको संगमस्थल भएको कारण प्राकृतिक दृष्टिकोणबाट अत्यन्त मनमोहक छ । फागुने, सुर्तिबाङ, बासै, धुस्वुङ, सेंग, दोगाडी र सुनदह नामका ब्लकहरू रहेका छन् । ढोरपाटन सिकार आरक्षको कार्यालय बागलुङको ढोरपाटन नगरपालिका ९ मा छ । अधिक मात्रामा जैविक सम्पदाको खानी मानिएको ढोरपाटन क्षेत्रमा १ सय ८५ थरीका दुर्लभ वनस्पति उच्च पहाडी सिमसार क्षेत्र ३२ थरीका स्तनधारी वन्यजन्तु, १ सय ३० प्रजातीका चराचुरुंगी, नाउर, झारल, हिउँ चितुवा, चित्तल, झारल, घोरल, भालु, बँदेल, लगुंर, रेडपाण्डा लगायतका जंगली जनावर र पंक्षीहरू रहेका छन् ।
सिकारको लागि प्रख्यात ढोरपाटन आरक्षमा लाइसेन्स प्राप्त सिकारीले प्रत्येक वर्ष ९ नाउर र ११ झारलको सिकार गर्न पाउने प्रावधान रहेको छ । आरक्षमा रहेका हिउँ चितुवा, घोरल, हिमाली कालो भालु, भुक्ने मृगलगायतका लोपोन्मुख वन्यजन्तुको सिकार गर्न निषेध गरिएको छ ।

ढोरपाटन क्षेत्रमा १८५ थरीका दुर्लभ वनस्पति, उच्च पहाडी सिमसार क्षेत्रमा ३२ थरीका स्तनधारी वन्यजन्तु, १३० प्रजातीका चराचुरुंगी पाइन्छन्

ढोरपाटन सिकार आरक्षको पाटन क्षेत्रमा हरेको उत्तरगंगा नदीको शिरविन्दुमा उत्तरगंगा धारा रहेका छन् । उक्त ठाउँमा २२ वटा बाह्रैमास पानी आउने धारा छन् । ती २२ धारामा नुहाएर नजिकैको ढोरवाराही मन्दिरमा पूजा गरेमा सबै मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । ढोरवाराही मन्दिरमा प्रत्येक वर्षको जनैपूर्णिमाको अवसरमा विशेष मेला लाग्ने गर्दछ । उक्त मेलामा जाने सबैले उत्तरगंगाको बाइस धारामा स्नान गरेर फर्कन्छन् । प्राकृतिक र जातीय विविधताजस्तै ढोरपाटन क्षेत्रमा जातीय विविधतासमेत पाइन्छ । विश्वकर्मा, मगर, नौथर, छन्त्याललगायत पिछडिएका नेपाली समुदाय र तिब्बती शरणार्थीको जीवनशैली फरक–फरक रहेको छ । पर्यापर्यटनमा उच्च सम्भावना हुँदाहुँदै पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको स्थानीय सुरज पौडेलको गुनासो छ ।
गत वर्ष ढोरवाराही मन्दिरमा जनैपूर्णिमाको अवसरमा लागेको विशेष मेलामा धेरै भक्तजनहरु त्यस क्षेत्र पुगेका छन् । गत वर्ष कोरोना कहर रहे पनि धार्मिक पर्यटकहरु अत्यधिक पुगेको सहायक संरक्षण अधिकृत सूर्य खड्काले जानकारी दिए । ‘ढोरपाटन क्षेत्रमा गतवर्ष आन्तरिक पर्यटक मात्र भए पनि अहिलेसम्म कै धेरै आउनुभयो,’ उनले भने, ‘पछिल्ला २ वर्ष कोरोनाले पर्यटन क्षेत्रमा प्रभाव पर्‍यो तर हाम्रो तथ्यांकमा गत वर्ष अहिलेसम्मकै धेरै हो ।’ गत वर्ष ६ हजार ७ सय ३ जनाले भ्रमण गरेका थिए । त्यसअघि अघिल्लो आर्थिक वर्षमा ३ सय २० जना पुगेका थिए । पछिल्लो ८ वर्षको तथ्यांकअनुसार आर्थिक वर्ष ०७५/७६ मा ४ सय ८० जनाले भ्रमण गरेको सहायक संरक्षण अधिकृत खड्काले बताए । कोरोनाका बिचमा पनि गतवर्ष अहिलेसम्मकै धेरै पर्यटकले सिकार आरक्ष भ्रमण गरेको उनको भनाइ थियो । तथ्याङमा सिकार गर्न आउने पर्यटकको संख्या नजोडेको उनले जनाए । पर्यटकको गतिविधि बढेसँगै राजस्व पनि बढेको छ । गत आर्थिक वर्षमा आरक्षले २० लाख २२ हजार राजस्व उठाएको थियो । त्योभन्दा अघिल्लो आर्थिक वर्ष ०७६/७७ मा ६ लाख ६८ हजार राजस्व उठेको सहायक संरक्षण अधिकृत खड्काले जानकारी दिए ।
राजस्वबाट आरक्षले पर्यटन प्रवद्र्धनका कार्यक्रमसहित संरक्षण र सुरक्षासहित स्थानीयको क्षमता अभिवृद्धिमा केही रकम खर्च गर्ने गर्छ । पयर्टकको आवास, खाना र सुरक्षाका लागि आरक्षभित्र होमस्टे सञ्चालित छन् । जसमा आरक्षले प्रत्यक्ष सहयोग गर्दै आएको खड्काले जानकारी दिए । ढोरपाटन नगरपालिका ९ भित्र पाखाथर होमस्ट, ढोरपाटन सामुदायिक होमस्टे, ढोरपाटन काङ्ग होमस्टे, छ्यान्तुङ होमस्टे सञ्चालित छन् ।

Related News

सम्बन्धित समाचार

  • चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । गण्डकी प्रदेशमा बिनाविभागीय २ जना मन्त्रीहरुले मन्त्रालयको जिम्मा पाएका छन् । माओवादीका हरिबहादुर चुमानले आर्थिक मामिला र राजीव…
  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…

hero news full width