अमेरिकाको केन्टकी राज्यमा आँधीले ७० भन्दा बढी व्यक्तिको मृत्यु

आदर्श समाज सम्वाददाता
मंसिर २६, २०७८
kentuy

पोखरा । अमेरिकाको केन्टकी राज्यमा आएको आँधीका कारण ७० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यद्यपि खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान छ ।

केन्टकीमा आपतकालीन स्थिति घोषणा गरिएको छ । भौतिक संरचनाहरु तहसनहस भएका छन् भने विद्युत र सञ्चार सम्पर्क पनि विच्छेद भएको छ ।

यो आँधीलाई अमेरिकाको इतिहासकै ठूलो आँधी भनिएको छ । आँधीबाट मेफिल्ड शहर नराम्रोसँग प्रभावित भएको छ । सो शहरमा अवस्थित एक मैनबत्ती कारखानामामात्रै १२ जना मजदुरको मृत्यु भएको बताइएको छ । उद्धारकर्मीहरुले कारखानाबाट १ सय ४० भन्दा बढी व्यक्तिहरुलाई सुरक्षित रुपमा बाहिर निकालेका छन् । केन्टकीका गर्भनर एण्डी बेशियरले अब कुनै भग्नावशेषबाट कसैलाई सुरक्षित रुपमा निकाल्न सकिएमा त्यो चमत्कार हुने बताएका छन् । उनले मेफिल्ड शहर र केन्टकीको आँधीको बाटोमा परेका क्षेत्र पूर्णरुपमा तहसनहस भएको बताएका छन् ।

राष्ट्रपति जो बाइडनले अमेरिकाको मध्य इलाकामा भयंकर आँधी आएको भन्दै पीडितको उद्धार तथा राहतका लागि हरसम्भव कदम चाल्ने घोषणा गरेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । राष्ट्रपति बाइडनले आइतबार विशेष टोली केन्टकी जाने र घरबाहरविहीन भएकाहरुका लागि आवास तथा खानाको प्रबन्ध मिलाउने बताएका छन् ।

केन्टकीका साथै मिसौरी, आरकन्सास, इलिनोय, मिसिसिपी पनि आँधीबाट प्रभावित भएका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width