नेपालमा पहिलो पल्ट ओमिक्रोन पुष्टि

आदर्श समाज सम्वाददाता
मंसिर २१, २०७८
Corona Banner

पोखरा । झन्डै २ वर्षसम्म जनजीवन आक्रान्त बनेपछि पछिल्लो समय सहज हुँदै गएकोमा नेपालमा फेरि कोरोना भाइरस महामारीको नयाँ भेरियन्ट भित्रिएको छ । दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन १२ दिनपछि नेपालमा पनि भेटिएको पुष्टि भएको छ । दक्षिण अफ्रिकामा गत मंसिर ८ मा यो भेरियन्ट भेटिएपछि सचेतना अपनाउन सुरु गरिएको थियो ।
आइतबार राति काठमाडौं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा २ जना व्यक्तिमा सो भेरियन्ट देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।
उनका अनुसार नयाँ भेरियन्ट पुष्टि भएको देश हँुदै त्रिभुवन अन्तर्राष्ट्रिय हवाई नाका प्रयोग गरी नेपाल प्रवेश गरेका ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय अर्कामा मानिसमा ओमिक्रोन भेरियन्ट देखिएको हो । दुवै जनाको प्रयोगशालाको जीन सिक्वेन्सिङ गर्दा ओमिक्रोन देखिएको हो । नेपालमा पहिलो पटक कोभिड–१९ को संक्रमण २०७६ माघ ९ मा देखिएको थियो । चीनको वुहानबाट नेपाल आएका नागरिकमा पहिलो पटक संक्रमण देखिएको थियो । त्यसपछि सरकारले सोही वर्षको चैत ११ देखि देशभर लकडाउन गरेको थियो ।
विदेशी नागरिकको सुरुमा नेपाल आउँदा पिसिआर गर्दा नेगेटिभ देखिएको तथा उनले कोरोनाविरुद्धको मात्रा पूरा गरेको पाइएको थियो । पछि मंसिर ७ मा ती विदेशी र उनका नजिकको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिको कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण देखिएपछि परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो ।
दुवै जनाको नमुना टेकु प्रयोगशालामा जिन सिक्वेन्सिङ गर्दा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पहिलो पटक पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।

दुवै जना सरकारले तोकेको मापदण्डअनुसार हाल आइसोलेसनमा छन् । ती दुई संक्रमितमा कुनै लक्षण नदेखिएको र स्वास्थ्यकर्मीको निगरानीमा छन् । मन्त्रालयले ती २ व्यक्तिसँग सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङमा रहेका ६६ जनाको पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको छ जनाएको छ ।
ओमिक्रोन भेरियन्ट विश्वका ३५ देशमा फैलिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ती देशमा ५ सय ७४ जना उक्त भेरियन्टबाट संक्रमित भएका छन् । विश्व स्वास्थ्य संगठनले गरेको प्रारम्भिक आकलनअनुसार दक्षिण पूर्वी एसियामा ओमिक्रोनको उच्च जोखिम रहेको उल्लेख छ । दक्षिण एशियाका केही देशमा समेत ओमिक्रोन भेरियन्ट पुष्टि भइसकेको छ ।

भारतमा २१ संक्रमित

नेपालको छिमेकी राष्ट्र भारतमा गत शुक्रबार मात्र ओमिक्रोन भेरियन्ट देखिएको पुष्टि भएको थियो । त्यहाँ हालसम्म २१ जनामा यो संक्रमण पुष्टि भएको छ । यसअघि ५ जनामात्र रहेकोमा आइतबार बिहानबाट बढेर २१ पुगेको हो । दिनको समयमा, ओमिक्रोन भेरियन्टका ९ घटनाहरू पश्चिम राजस्थानको राजधानी जयपुरबाट र ७ दक्षिणपश्चिमी राज्य महाराष्ट्रबाट संकलन गरिएको जनाइएको छ । राज्यको स्वास्थ्य विभागले ओमिक्रोनका बिरामीहरूसँग सम्पर्कमा आएका मानिसहरूलाई अलग्गै राखेको जनाइएको छ ।

रोकथाम प्रयास
नेपालमा ओमिक्रोन भेरियन्ट देखिएसँगै निगरानीका लागि सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिङगको कार्यलाई थप प्रभावकारी बनाइएको छ । ओमिक्रोनको जोखिम न्युनीकरण गर्न सरकारले विभिन्न प्रयास जारी राखेको छ । नेपालले अन्तर्राष्ट्रिय हवाई तथा स्थल नाकामा यात्रुको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको नेगटिभ पिसिआर रिपोर्ट अनिवार्य गरेकोे छ ।
यस्तै खोपको विवरण लिने गरेको, लक्षण तथा चिन्हको जाँच गर्ने व्यवस्था गरेको तथा हवाई र स्थल नाका भई प्रवेश गर्ने पूर्णमात्रा खोप नलगाएका र शंकास्पद सबै यात्रुको एन्टिजेन परीक्षण गर्ने गरिएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिए । एन्टिजेन परीक्षणमा पोजेटिभ फेला परेकाको नमुना संकलन गरी पिसिआर गर्ने र शंकास्पद नमुनाको जिन सिक्वेन्सिङ गर्ने गरिएको छ । विगत १ महिना अगाडिदेखि पोजिटिभ भएका नमुनाको थप परीक्षण गर्ने गरिएको उनले बताए । गत मंसिर १३ को मन्त्रिपरिषद्को बैठकले समेत ओमिक्रोन फैलिन नदिन दक्षिण अफ्रिका, बोत्सवाना, जिम्वाब्बे, नामिबीया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णयसमेत गरेको छ ।

ओमिक्रोन भेरियन्ट विश्वका ३५ देशमा फैलिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

ओमिक्रोन भाइरस सर्ने दर र संक्रमणबाट हुने स्वास्थ्य जटिलताका सम्बन्धमा वैज्ञानिक तथ्यको खोज भइरहेको छ । ओमिक्रोन भेरियन्टमा धेरै संख्यामा उत्परिवर्तन रहेका र तीमध्ये केही चिन्ताजनक रहेका छन् ।

स्वास्थ्य मापदण्ड उस्तै
स्वास्थ्य मन्त्रालयले कोभिड–१९ का अरु भेरियन्ट जस्तै ओमिक्रोनको संक्रमणबाट बच्न पनि जनस्वास्थ्यका सबै मापदण्डको पालना गर्न सम्पूर्णमा आग्रह गरेको छ । उसले विगतमा झैं मास्कको सही प्रयोग, भौतिक दुरी कायम गर्ने, भीडभाड नगर्ने तथा हात धुने कार्य, हावा आवतजावत रामो हुने स्थानमा बस्ने तथा खोपको प्रयोग महत्वपूर्ण हुने भएकाले सबैमा मापदण्डको पालना गर्न र खोप अभियानमा सहभागी हुन अनुरोध गरेको छ ।

२६५ जनामा कोरोना पुष्टि
नेपालमा गएको २४ घण्टामा थप २ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६ सय १७ नमुना परीक्षणमा २ सय ३८ पिसिआर र २७ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । साथै २४ घन्टामा थप २ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार ५ सय ४३ पुगेको छ । थप ३ सय ५७ संक्रमणमुक्त भएका छन् ।
यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ४ हजार ९ सय १ पुगेको छ । हाल मुलुकभर ६ हजार ३ सय ८६ सक्रिय संक्रमित छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width