कांग्रेस गण्डकी प्रदेश नेतृत्वमा को अगाडि ?

प्रकाश ढकाल
मंसिर १८, २०७८
congress 3

सभापतिका उम्मेदवार बायाँबाट क्रमशः अर्जुन जोशी र शुक्रराज शर्मा।

पोखरा, १८ मंसिर । नेपाली कांग्रेसको गण्डकी प्रदेश अधिवेशनअन्तर्गत मतगणनाको प्रारम्भिक नतिजामा कडा प्रतिस्पर्धा छ । सभापति सहित विभिन्न पदमा संस्थापन र संस्थापनइतरका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । दुवै प्यानलतर्फ झिनोमात्र मतान्तर छ ।
गण्डकीमा कांग्रेस संस्थापनमा अर्जुन जोशी र संस्थापनइतरमा शुक्रराज शर्माको प्यानल छ । शनिबार रातिदेखि सुरु गणनाअन्तर्गत २ सय मत गनिसक्दा सभापतिका उम्मेदवार शर्मा केही अघि छन् । उनको १ सय २ मत आउँदा जोशीको ९५ मत छ ।
यस्तै, उपसभापतिमा मेखलाल श्रेष्ठ अगाडि छन् । उनको १ सय ४ मत आउँदा दोस्रोमा कल्पना तिवारीको १ सय ३ मत छ । हरि श्रेष्ठको ९४ र नेत्रबहादुर महतको ८० मत आएको छ । महामन्त्रीमा किरणबाबु श्रेष्ठको मत सबैभन्दा धेरै छ । उनले ९९ मत पाउँदा उनलाई पछ्याएका ईश्वर पाण्डेले ९६, विष्णु लामिछानेले ९३ मत र कुमार खड्काले ८४ पाएका छन् ।

सहमहामन्त्री महिलामा कोपिला रानाभाट अगाडि छिन् । उनको १ सय २ मत आउँदा निकटतम प्रतिस्पर्धी ओमकला गौतमको ९० मत आएको छ । सहमहामन्त्रीकै खुलातर्फ रमेश पाण्डे सबैभन्दा अघि देखिएका छन् । उनले १ सय ४ मत ल्याउँदा दोस्रो स्थानमा रहेका रामचन्द्र जोशीको ९१, झुलबहादुर आलेको ८७, राजनराज पन्तको ८१ र युवराज बस्ताकोटीको १९ मत छ ।

आइतबार बिहानसम्म अन्तिम मत परिणाम आइसक्ने निर्वाचन समितिले जनाएको छ । सदस्यहरुको मतपरिणाम निस्किन भने अझै धेरै समय लाग्ने देखिन्छ । पोखरा नयाँबजारमा शनिबार भएको मतदानमा १ हजार १ सय ४६ मत खसेको थियो । प्रदेशमा कुल १ हजार १ सय ६० मतदाता थिए ।

संस्थापन समूहबाट उपसभापतिमा मेखलाल श्रेष्ठ र नेत्रबहादुर महत, महामन्त्रीमा ईश्वर पाण्डे र कुमार खड्का उम्मेदवार छन् । यस्तै, सहमहामन्त्रीमा राजनराज पन्त, झुलबहादुर आले र महिलातर्फ ओमकला चालिसे उम्मेद्वार छन् । यस्तै, संस्थापनइतरबाट उपसभापतिमा कल्पना तिवारी र हरिप्रसाद श्रेष्ठ, महामन्त्रीमा विष्णुप्रसाद लामिछाने र किरणबाबु श्रेष्ठ प्रतिस्पर्धामा छन् । सोही समूहबाट सहमहामन्त्रीमा रमेश पाण्डे र रामचन्द्र जोशी तथा महिलातर्फ कोपिला रानाभाटले मनोनयन दर्ता गराएका थिए । सहमहामन्त्री खुलामा युवराज बस्ताकोटी पनि उम्मेदवार बनेका छन्।

यसैबीच, पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न १४ औं महाधिवेशनमा संस्थापनइतर समूहबाट सभापतिमा एकल उम्मेदवार तय गर्ने दाबी गरेका छन् । गण्डकी प्रदेश नेतृत्व चयनका लागि पोखरामा मतदान गरेपछि पौडेलले भने, ‘यहाँबाट फर्केर गएपछि टुंगो लगाउँछौं । हामीबीचमा सल्लाह जे हुन्छ, त्यही हुन्छ ।’ पौडेलले आफ्नो उम्मेदवारीबारे प्रष्ट केही बोलेनन् । ‘मैले अहिले केही भनेको छैन । हाम्रो उम्मेदवार एउटै हुन्छ । हाम्रो विचार समूहबाट अरू उम्मेदवार हुँदैनन्,’ पौडेलले भने, ‘हाम्रो बीचमा सल्लाह हुन पाएको छैन । सल्लाह गरेपछि सबै थाहा हुन्छ ।’

पौडेल पक्षबाट गण्डकी सभापतिमा ५ आकांक्षी थिए । तीमध्ये कास्कीका २ जनालाई केन्द्रीय सदस्य दिने सहमति भएको पौडेल निकट नेताहरूले बताएका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width