जता देउवाका उम्मेदवार, उतै पौडेलको काउन्टर

प्रकाश ढकाल
मंसिर १८, २०७८
congeesss

पोखरा । नेपाली कांग्रेस गण्डकीको नयाँ नेतृत्वका लागि शनिबार मतदान हुँदैछ । शुक्रबार २ प्यानल र केही स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । यहाँ केन्द्रीय गुटको प्रत्यक्ष प्रभाव देखिएको छ । उम्मेदवारभन्दा पनि संस्थापन (शेरबहादुर देउवा) र संस्थापन इतर (रामचन्द्र पौडेल लगायत) बीचको प्रतिस्पर्धा छ । संस्थापन पक्षबाट अर्जुन जोशीको नेतृत्वमा प्यानल बनेको छ भने संस्थापनइतरबाट शुक्रराज शर्माको नेतृत्वमा अर्को प्यानल उभिएको छ ।
सभापतिमा अर्जुन जोशी र शुक्रराज शर्मा, उपसभापतिमा संस्थापनबाट मेखलाल श्रेष्ठ र नेत्र महत तथा संस्थापन इतरबाट हरिप्रसाद श्रेष्ठ र कल्पना तिवारीले मनोनयन दर्ता गराए । महामन्त्रीमा संस्थापनबाट कुमार खड्का र ईश्वर पाण्डे तथा संस्थापनइतरबाट किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछानेले उम्मेदवारी दिएका छन् । सहमहामन्त्रीमा संस्थापन पक्षबाट महिलामा ओमकला गौतम र संस्थापनइतरबाट कोपिला रानाभाट तथा खुलामा संस्थापनबाट राजनराज पन्त र झुलबहादुर आलेले उम्मेदवारी दिए भने संस्थापनइतरबाट रामचन्द्र जोशी र रमेश पाण्डेको उम्मेदवारी परेको छ।
सहमहामन्त्रीमा २ जनाले स्वतन्त्र उम्मेदवारी पनि दिएका छन् । युवराज बस्ताकोटी र गणेश सापकोटा स्वतन्त्र उम्मेदवार हुन् । जिल्लातर्फबाट प्रदेश सदस्यका लागि महिलामा ७ र पुरुषमा ८ जिल्लाबाट मात्रै प्रतिस्पर्धा हुने भएको छ । महिलामा कास्की, म्याग्दी, स्याङ्जा, बागलुङ, लमजुङ, गोरखा र नवलपुरमा मात्रै प्रतिस्पर्धा छ । प्रत्यक्षमा पनि कास्की, स्याङ्जा, म्याग्दी, नवलपुर, पर्वत, लमजुङ, बागलुङ र गोरखाका उम्मेदवारबीच मतदान हुनेछ । दुवै पदमा प्रत्येक जिल्लाबाट १/१ जना निर्वाचित हुनेछन् । यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्रबाट महिलामा ७ जना, खुलामा २४ जना, खस आर्य महिलामा ८ जना, खस आर्य खुलामा १५ जना, आदिवासी जनजाति महिलामा ९ जना, आदिवासी जनजाति खुलामा १० जनाले मनोनयन दर्ता गराए ।
मधेसी कोटामा २ जना, दलितको महिला र खुलामा ३/३ जना, थारु र मुस्लिममा २/२ जना तथा अपांग अल्पसंख्यकमा ५ जनाको उम्मेदवारी परेको छ । विधानको व्यवस्था अनुसार निर्वाचन क्षेत्रबाट महिलामा ४, खुलामा ८, खस आर्य महिला र पुरुषमा समान ४/४, आदिवासी जनजाति महिला र पुरुषमा समान ५/५, मधेसी, मुस्लिम, थारु, अपांग तथा अल्पसंख्यकमा १/१ र दलित महिला–पुरुष दुवैमा २/२ जना निर्वाचित हुने व्यवस्था छ । शनिबार हुने मतदानबाट ५९ सदस्यीय निर्वाचित कार्यसमिति तयार हुनेछ भने २० प्रतिशतपछि मनोयन हुन्छन् ।

सभापतिमा अर्जुन जोशी र शुक्रराज शर्माको मनोनयन दर्ता हुँदा २ महामन्त्रीमा कुमार खड्का, ईश्वर पाण्डे, किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछानेले उम्मेदवारी दिए

गण्डकी कांग्रेसको अधिवेशनले नयाँ समिति त बनाउँछ नै यसले पार्टीभित्रैका नेता कार्यकर्ताबीचमा तुष सिर्जना गरेको छ । सुरुमा देउवा पक्षले यहाँ नेतृत्वसहित प्यानल तयार गरेको थियो । पौडेल पक्षले देउवालाई हराउन जहाँजहाँ जोशी प्यानलका उम्मेदवार छन्, उतै काउन्टर उम्मेदवार खडा गरेको छ । देउवा टीमबाट स्याङ्जाका मेखलाल उपसभापतिमा उठेका छन्, मेखलाललाई हराउन सोही जिल्लाबाट कल्पनालाई उपसभापतिको टिकट दिइएको छ । गोरखामा पनि देउवा पक्षबाट ईश्वर महामन्त्रीको उम्मेदवार छन् भने उनलाई हराउन पौडेल पक्षबाट किरणबाबु प्रतिस्पर्धा गर्दैछन् । पर्वतमा सभापति अर्जुन जोशीकै भतिज रामचन्द्रलाई सहमहामन्त्रीको टिकट दिइएको छ । सदस्यको केही कोटामा भने अझै प्यानल बनेको छैन ।
कांग्रेस वरिष्ठ नेता पौडेलको गृहप्रदेश गण्डकीमा यसअघि देउवा गुट कमजोर मानिन्थ्यो । तर जिल्ला सभापतिहरु हेर्दा देउवाको बहुमत देखिन्छ । तथापि महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि भने छुट्याउन सक्ने अवस्था छैन । यहाँ २ प्यानलबीच कडा टक्कर पर्ने सम्भावना छ । गण्डकीको कार्यसमिति निर्वाचित गर्न १ हजार १ सय ६० हाराहारी मतदाता छन् ।
७ जना निर्विरोध
प्रदेश कार्यसमितिको ७ जना सदस्य निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने क्रममा अरुको उम्मेदवारी र दाबी विरोध नपरेपछि जिल्लातर्फका ७ जना सदस्य सर्वसम्मत भएका हुन् । महिलामा पर्वतकी मीनाकुमारी केसी सर्वसम्मत भइन् । अर्की प्रतिस्पर्धी रीता थापाले नाम निकालेपछि उनी सर्वसम्मत बनेकी हुन् । मुस्ताङबाट पुष्पा भट्टचन शेरचन तथा मनाङबाट चिउडे लामा सर्वसम्मत बने । पहिलो सूची निकाल्दा लामा प्रदेशभित्रका प्रदेशसभाको खुला सदस्यमा मनोनयन दर्ता गराएकी थिइन् । पछि सच्याएर उनको नाम जिल्लातर्फ लगिएको हो । प्रत्यक्षतर्फ पनि मनाङका विनोद गुरुङ, तनहुँका लक्ष्मीप्रसाद आचार्य र मुस्ताङका सुवर्णकुमार विष्ट सर्वसम्मत भएका छन् । विनोद गुरुङले पनि खुलामा उम्मेदवारी दिएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width