पोखरामा केबुलकार सञ्चालन हुँदै

जमुना वर्षा शर्मा
मंसिर १७, २०७८
annapurna cable car 3

पोखरा । पोखरामा ४ वर्षअघि निर्माण थालिएको केबुलकारको परीक्षण गरिएको छ । लेकसाइडस्थित सेतीबाट सराङकोट जान आउने केबुलकारको बुधबार परीक्षण गरिएको कम्पनीका निर्देशक तीर्थराज त्रिपाठीले बताए ।
उनका अनुसार अन्नपूर्ण केबुलकार प्रालिले बनाएको यो केबुलकार परीक्षणका लागि जापानबाट ७ जना प्राविधिकको टोली पोखरा आएको थियो । २ हजार ४ सय मिटर लामो यो केबुलकारका १३ टावर छन् । यो केबुलकारमा १८ वटा डिब्बा छन् । एकमा भने सामान राख्न प्रयोग गरिनेछ । प्रतिडिब्बामा ८ जनाको सिट क्षमता रहने जनाइएको छ । टोलीले सबै प्राविधिक पक्ष सफल भएको जनाएको छ ।
करिब साढे २ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिए पनि कोरोनाका कारण निर्धारित समयभन्दा बढी लागेको त्रिपाठीले बताए । ‘हामीले साढे २ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेका थियौं तर कोरोनाले गर्दा समय पनि लम्बियो र लागत पनि बढी भयो,’ उनले योजनाको प्रारम्भिक खाकामा करिब १ अर्बमा योजना सम्पन्न लक्ष्य लिए पनि निर्माण अघि बढ्दै जाँदा पूर्वाधारलगायतका जमिन थपिँदै गएपछि लागत बढी लागेको जनाए ।
सुरुमा हामीले फेब्रिकेसनमा बिल्डिङ बनाउने सोचेका थियौं तर पछि पूरै आरसिसी बनायौं । टप स्टेशनमा भ्युटावर निर्माण पनि त्यसरी नै बनायौं । निजी आवधिक जग्गा पनि भाडा लिने सोचेका थियौं तर पछि चलिआएको मूल्य दिएर नै स्थानीयवासीसँग खरिद गर्‍यौैं, यसले हाम्रो लागत बढ्यो । केबुलकार निर्माणमा २ अर्ब बढी खर्च भएको उनको भनाइ छ । केबुलकार सञ्चालनमा आएपछि स्थानीयवासीलाई प्राथमिकता दिएर रोजगारी प्रदान गरिने र ८० देखि १ सय जनाले प्रत्यक्ष रोजगार पाउने त्रिपाठीले जानकारी दिए । माथिल्लो स्टेसन भवनमा स्काइ हेवन बेलुन रेष्टुरेन्ट, भ्युटावर निर्माण भएको छ भने तल्लो स्टेसनमा पार्किङ, बगैंचासहितको संरचना निर्माण भएको छ ।
केबुलकारमा जाने र आउने शुल्क ६ सय निर्धारण गरिएको छ भने स्थानीयवासी, विद्यार्थी तथा ज्येष्ठ नागरिकलगायतका लागि सहुलियत व्यवस्था गरिने छ ।
अन्नपूर्ण केबुलकार प्रालिका अध्यक्ष व्यवसायी कालु गुरुङ हुन् । गुरुङसहितका नेपाली व्यवसायीको ७५ प्रतिशत, पूर्व जापानी नागरिक टाकासी मियाहाराको १५ प्रतिशत र स्थानीयवासीको १० प्रतिशत लगानी रहेको प्रालिले जनाएको छ ।
केबुलकार सञ्चालनसँगै पोखरा आउने पर्यटकका लागि नयाँ पर्यटकीय आकर्षणको केन्द्र बन्ने विश्वास आफूहरूले लिएको अध्यक्ष गुरुङले बताए । ‘पोखरा आन्तरिक तथा बाह्य पर्यटकको उत्कृष्ट गन्तव्य हो, केबुलकारमा यात्रा गर्दा पोखराको मनोरम दृश्यावलोकन गर्न सकिने छ,’ केबुलकार निर्माण भएकाले फेवातालको किनार सेतीबगरबाट ८ देखि ९ मिनेटमै सराङकोट पुगेर सराङकेटबाट हिमशृंखलासहित पोखराको दृश्यावलोकन गर्न सकिने उनको भनाइ छ । कम्पनीले अबको १ महिनापछि अंगेजी नयाँ वर्षबाट सफ्ट ओपनिङको तयारीसमेत गरेको छ । रासस

Related News

सम्बन्धित समाचार

hero news full width