९ देशबाट नेपाल प्रवेश गर्न रोक

आदर्श समाज सम्वाददाता
मंसिर १७, २०७८

पोखरा । कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै सरकारले दक्षिण अफ्रिका, हङकङसहित ९ देशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने र ३ हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरुलाई नेपाल प्रवेशमा रोक लगाएको हो । उनीहरुलाई शुक्रबार राति १२ बजेदेखि नेपाल प्रवेशको अनुमति नदिने निर्णय भएको छ । हाल ती मुलुकबाट नेपालतर्फ आउँदै गर्दा बाटोमा रहेका यात्रुले भने अनिवार्य क्वारेन्टिनमा बस्नुपर्नेछ ।
ती देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएकाले नेपाल प्रवेशमा कडाइ गरिएको हो । संक्रमणको जोखिम भएका मुलुकबाट आउने यात्रुलाई अन अराइभल भिसा नदिने निर्णय भएको एक मन्त्रीले बताए ।
यसैगरी, ओमिक्रोनलाई मध्यनजर राख्दै मुस्ताङ प्रवेश गर्न पिसिआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण मात्रा खोप अनिवार्य गरिएको छ । कोरोना संक्रमणको दोस्रो लहरपछि सामान्य बन्दै गएको मुस्ताङमा पछिल्लो समय घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटक बढेका थिए । हालै विश्वका कतिपय देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको भन्दै यसको जोखिमलाई मध्यनजर गर्दै मुस्ताङ प्रवेशमा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।
उनका अनुसार विशेषगरी पर्यटकका लागि सात दिनभित्रको पीसीआर नेगेटिभ रिपोर्ट वा पूर्ण मात्राको खोप कार्ड वा पछिल्लो ७२ घन्टाभित्रको एन्टिजेन परीक्षण रिपोर्ट नभएका व्यक्तिलाई प्रवेशमा रोक लगाइएको हो । मुस्ताङमा स्थायी बसोबास गर्दै आएकाहरू तथा पूर्ण खोप लगाएका कर्मचारी, शिक्षक र सुरक्षाकर्मीका लागि भने यो सर्त लागू नहुने जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।
जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले सार्वजनिक स्थलमा मेला, जात्रा, महोत्सव, भोजभतेर, हाटबजारलगायतका भीडभाड हुने खालका कार्यक्रम नगर्न पनि आदेश दिएको छ । त्यसैगरी विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायतका अनिवार्य कार्य गर्नु परेमा भने २५ जनाभन्दा बढी भेला हुन नपाउने आदेश जारी गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width