पोखरा । केन्द्रीय गुटको छायाँबाट गण्डकी पनि अछुतो रहन सकेन । संस्थापन भर्सेज संस्थापन इतरबीच यहाँ चर्को अन्तरविरोध देखिएको छ । देउवा समूहबाट गण्डकीको नेतृत्वका लागि अर्जुन जोशीलाई टिकट दिइएको छ भने पौडेल समूहबाट ठूलो रस्साकस्सी बीच शुक्रराज शर्माले टिकट पाएका छन् । जोशीले आफ्नो प्यानलबाट पदाधिकारी करिब टुंग्याइसकेका छन् । उनको उपसभापतिमा स्याङ्जाका मेखलाल श्रेष्ठ र म्याग्दीका नेत्र महत, महामन्त्रीमा कास्कीका कुमार खड्का र गोरखाका ईश्वर पाण्डेले टिकट पाएका छन् । यस्तै, सहमहामन्त्रीमा खुलातर्फ गोरखाकै राजनराज पन्त र तनहुँका झुलबहादुर आले तथा महिलामा नवलपुरकी ओमकला चालिसे उम्मेद्वार बन्ने पक्का भएको छ । यसअघि कास्कीकी शारदा पौडेललाई सहमहामन्त्री बनाउने भनिएपनि उनी केन्द्रीय सदस्य बन्ने इच्छा देखाएपछि नवलपुर पठाइएको हो ।
यता, पौडेल पक्षबाट भने पदाधिकारीको टुंगो अझै लागेको छैन । केन्द्रीय सदस्य दिलबहादुर घर्तीको संयोजकत्वमा धनराज गुरुङ र जीवन परियार सदस्य रहेको उम्मेद्वार छनोट समिति गठन गरिएको छ । स्रोतका अनुसार उपसभापतिमा बागलुङका हरिकुमार श्रेष्ठ र गोरखाका किरणबाबु श्रेष्ठलाई टिकट दिने बुझिएको छ । महामन्त्रीमा नवलपुरका विष्णु लामिछाने पक्का भएका छन् भने अर्को महामन्त्री स्याङ्जा वा गोरखामा पठाउन लागिएको छ । गोरखाले महामन्त्री पाए दीपक कँडेलले टिकट पाउने सम्भावना छ । स्याङ्जाबाट भने तुलसी गिरी वा कल्पना तिवारीलाई अघि सार्ने बुझिएको छ । तर उनीहरु दुवैको नाम सहमहामन्त्रीका लागि पनि आएको छ ।
सहमहामन्त्रीका लागि तनहुँका सरिता गुरुङ, महामन्त्री टिकट नपाए तिवारी तथा गोरखाका कँडेलको पनि प्रवल सम्भावना छ । यद्यपि छलफल चलिरहेको छ । सदस्यहरुमा अझै उम्मेद्वार निर्णय भएको छैन । गण्डकी प्रदेशमा प्रत्यक्ष तर्फ ३४ र समानुपातिकबाट २५ जना निर्वाचित हुनेछन् । ११ जिल्लाबाट ११ महिला सहित २२ जना, प्रदेशसभा निर्वाचन क्षेत्रबाट ४ महिला सहित १२ जना निर्वाचित हुने विधानको व्यवस्था छ । ३६ निर्वाचन क्षेत्र रहेको यहाँ १ तिहाई सदस्य निर्वाचित हुनेछन् ।
समानुपातिक तर्फ खस आर्यमा ४ महिला र ४ खुला, आदिवासी जनजातिमा ५ महिला र ५ खुला, मधेशीमा खुलाबाट १ जना, दलितमा २ महिला सहित ४ जना, थारुबाट खुलामा १ र मुश्लिम समुदायबाट १ खुला निर्वाचित हुने छन् । यसबाहेक प्रदेशमा निर्वाचित कार्यसमितिको थप २० प्रतिशत सदस्यहरु मनोनित हुनेछन् भने कोषाध्यक्ष पनि निर्वाचित सदस्यहरुबाट निर्वाचित गर्ने व्यवस्था छ ।
कांग्रेसलाई एक्ल्याउने कुरा नगरमः पौडेल
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले एकलकाटै शैलीले कांग्रेस पराजीत हुने बताए । पोखरामा गण्डकी प्रदेश अधिवेसनलाई सम्बोधन गर्दै उनले निर्वाचनमा अरु पार्टीसँग गठनबन्धन हुनुपर्ने बताएका हुन् । ‘अहिले हामीले जे संविधान बनाएका छौं, यो संविधानले समावेशी व्यवस्था ल्याएका छौं । सितिमिति कुनै पार्टीको ‘एब्सुलुट’ मेजोरिटी आउँदैन,’ उनले भने, ‘पूरा बहुमत ल्याएर कसैले सरकार चलाउन धेरै कठिन छ । अरूसँग नमिलिकन सम्भव छैन ।’
निर्वाचनमा कांग्रेस एक्लै लड्ने कुरा नगर्न उनले नेता कार्यकर्तालाई आग्रह गरे । ‘कम्युनिष्ट पार्टीमा एकथरी पृथक अस्थित्व बनाएर बसेका छन् । केपी ओलीहरू एकातिर छन् । परिस्थितिले उनीहरू फेरि एकैतिर खनिने अवस्था भए कस्तो होला ? हामी एकोरिँदै गयौं भने गएकै चुनावको ठाउँमा पुगौंला,’ उनी अघि भन्छन्, ‘भोलिको चुनावमा पनि कांग्रेसलाई एक्ल्याउने कुरा नगरम् । कांग्रेसलाई आइसोलेसनमा पु¥याउने कुरा नगरौं । गएको चुनावमा के भयो ? सबै एकातिर हामी अर्काेतिर । परिणाम के भयो ? अहिलेको अहिले नै बिर्सने ?’
महामन्त्री डा. शशांक कोइरालाले सोही मन्चबाट कांग्रेस एक्लै चुनाव लड्नुपर्ने बताएपछि पौडेलले जवाफमा गठबन्धनको कुरा गरेका हुन् । कोइरालाले भने कांग्रेस कसैसँग मिल्न नहुने बताएका छन् । ‘आउँदो निर्वाचनमा कांग्रेसले कसैसँग मिल्नु हुँदैन । कसैसँग नमिलेर हामी एक्लै हिड्नुपर्छ, उनले भने, ‘हामी एक्लै बहुमत ल्याउन सक्छौं । त्यो अठोट हामीसँग हुनुपर्छ ।’ कांग्रेसकै पालामा धेरै विकासका काम भएको भन्दै त्यसको जस लिन नसकेको तर्क गरे ।
मञ्चमै नाराबाजी
संस्थापन इतरका नेताहरुलाई बोल्ने अवसर नदिइएको भन्दै कांग्रेसको प्रदेश अधिवेसन उद्घाटन कार्यक्रममै नाराबाजी भएको छ । बिहीबार उद्घाटन कार्यक्रममा पौडेल समूहबाट सभापतिका आकांक्षीहरुलाई बोल्न नदिइएको भन्दै नेता कार्यकर्ताहरुले नाराबाजी गरेका हुन् । देउवा समूहबाट सभापति बनेका अर्जुन जोशीलाई केन्द्रीय सदस्यको हैसियतमा बोल्न बोलाए पनि उनले मञ्चबाटै भोट मागेपछि अरु आकांक्षीहरु आक्रोशित बनेका हुन् । केही बेर प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा विरुद्ध नाराबाजी भएको थियो ।
त्यसपछि पौडेल पक्षीय आकांक्षीहरु देवराज चालिसे, शुक्रराज शर्मा र यज्ञबहादुर थापालाई भाषण गर्न दिइयो । सोही समयमा कास्कीका नेता महादेव गुरुङले मनोयन शुल्क चर्को भएकोमा विरोध जनाए । ‘बिपी कोइरालाले बताएको समाजवादी पार्टी शेरबहादुर देउवाले व्यापारीको पार्टी बनाएछन्, हामीलाई थाहा थिएन । यति चर्को शुल्क तिर्ने हो भने यो पार्टी कसरी गरिवहरुको पार्टी बन्न सक्छ ? गरिव र दलितहरु कसरी उम्मेद्वार बन्न सक्छन् ?,’ उनले भने, ‘यो शुल्क तत्काल घटाईयोस् । सबैले नेता बन्न पाउनुपर्छ ।’
शुल्क घटाउने आवाज उठेपछि केन्द्रीय निर्वाचन कमिटीले तोकेकै शुल्क कायम गरिएको छ । प्रदेश निर्वाचन कमिटीले सभापतिका लागि ९१ हजार, उपसभापतिमा ६१ हजार, महामन्त्रीमा ५१ हजार, सहमहामन्त्रीमा ४१ हजार र सदस्यहरुलाई ३१ हजार मनोनयन शुल्क राखिएको थियो ।
Related News
सम्बन्धित समाचार
लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
कामचलाउ सरकारको आयु लम्बियो
पाेखरा नयाँबजारको महायज्ञ समापन
सहकारी पीडित आन्दोलित
गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
hero news full width
मुख्य समाचार
कतारी राजा नेपाल आउने दिन भोलि सार्वजनिक बिदा
गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा
वैशाख १०, २०८१मुग्लिन–पोखरा सडक विस्तार : म्याद सकियो, काम अधुरै
वैशाख १०, २०८१कास्कीका सहकारी पीडित एउटै मोर्चामा : बन्यो संयुक्त संघर्ष समिति
वैशाख १०, २०८१अधिकारी सरकारको भविष्य के होला ? सर्वाेच्चमा सुनुवाइ आज
वैशाख १०, २०८१कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
वैशाख ९, २०८१