सुरु भयो कांग्रेसको प्रदेश अधिवेशन, गण्डकीमा जोशी र शर्मा भिड्ने

आदर्श समाज सम्वाददाता
मंसिर १६, २०७८
congress

पोखरा । केन्द्रीय गुटको छायाँबाट गण्डकी पनि अछुतो रहन सकेन । संस्थापन भर्सेज संस्थापन इतरबीच यहाँ चर्को अन्तरविरोध देखिएको छ । देउवा समूहबाट गण्डकीको नेतृत्वका लागि अर्जुन जोशीलाई टिकट दिइएको छ भने पौडेल समूहबाट ठूलो रस्साकस्सी बीच शुक्रराज शर्माले टिकट पाएका छन् । जोशीले आफ्नो प्यानलबाट पदाधिकारी करिब टुंग्याइसकेका छन् । उनको उपसभापतिमा स्याङ्जाका मेखलाल श्रेष्ठ र म्याग्दीका नेत्र महत, महामन्त्रीमा कास्कीका कुमार खड्का र गोरखाका ईश्वर पाण्डेले टिकट पाएका छन् । यस्तै, सहमहामन्त्रीमा खुलातर्फ गोरखाकै राजनराज पन्त र तनहुँका झुलबहादुर आले तथा महिलामा नवलपुरकी ओमकला चालिसे उम्मेद्वार बन्ने पक्का भएको छ । यसअघि कास्कीकी शारदा पौडेललाई सहमहामन्त्री बनाउने भनिएपनि उनी केन्द्रीय सदस्य बन्ने इच्छा देखाएपछि नवलपुर पठाइएको हो ।

यता, पौडेल पक्षबाट भने पदाधिकारीको टुंगो अझै लागेको छैन । केन्द्रीय सदस्य दिलबहादुर घर्तीको संयोजकत्वमा धनराज गुरुङ र जीवन परियार सदस्य रहेको उम्मेद्वार छनोट समिति गठन गरिएको छ । स्रोतका अनुसार उपसभापतिमा बागलुङका हरिकुमार श्रेष्ठ र गोरखाका किरणबाबु श्रेष्ठलाई टिकट दिने बुझिएको छ । महामन्त्रीमा नवलपुरका विष्णु लामिछाने पक्का भएका छन् भने अर्को महामन्त्री स्याङ्जा वा गोरखामा पठाउन लागिएको छ । गोरखाले महामन्त्री पाए दीपक कँडेलले टिकट पाउने सम्भावना छ । स्याङ्जाबाट भने तुलसी गिरी वा कल्पना तिवारीलाई अघि सार्ने बुझिएको छ । तर उनीहरु दुवैको नाम सहमहामन्त्रीका लागि पनि आएको छ ।

सहमहामन्त्रीका लागि तनहुँका सरिता गुरुङ, महामन्त्री टिकट नपाए तिवारी तथा गोरखाका कँडेलको पनि प्रवल सम्भावना छ । यद्यपि छलफल चलिरहेको छ । सदस्यहरुमा अझै उम्मेद्वार निर्णय भएको छैन । गण्डकी प्रदेशमा प्रत्यक्ष तर्फ ३४ र समानुपातिकबाट २५ जना निर्वाचित हुनेछन् । ११ जिल्लाबाट ११ महिला सहित २२ जना, प्रदेशसभा निर्वाचन क्षेत्रबाट ४ महिला सहित १२ जना निर्वाचित हुने विधानको व्यवस्था छ । ३६ निर्वाचन क्षेत्र रहेको यहाँ १ तिहाई सदस्य निर्वाचित हुनेछन् ।

संस्थापन समूहले सभापतिसहित पदाधिकारी टुंग्याए पनि पौडेल समूहले भने सभापतिको मात्रै टुंगो लगाएको छ

समानुपातिक तर्फ खस आर्यमा ४ महिला र ४ खुला, आदिवासी जनजातिमा ५ महिला र ५ खुला, मधेशीमा खुलाबाट १ जना, दलितमा २ महिला सहित ४ जना, थारुबाट खुलामा १ र मुश्लिम समुदायबाट १ खुला निर्वाचित हुने छन् । यसबाहेक प्रदेशमा निर्वाचित कार्यसमितिको थप २० प्रतिशत सदस्यहरु मनोनित हुनेछन् भने कोषाध्यक्ष पनि निर्वाचित सदस्यहरुबाट निर्वाचित गर्ने व्यवस्था छ । उम्मेदवारको मनोनयन दर्ता

कांग्रेसलाई एक्ल्याउने कुरा नगरमः पौडेल
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले एकलकाटै शैलीले कांग्रेस पराजीत हुने बताए । पोखरामा गण्डकी प्रदेश अधिवेसनलाई सम्बोधन गर्दै उनले निर्वाचनमा अरु पार्टीसँग गठनबन्धन हुनुपर्ने बताएका हुन् । ‘अहिले हामीले जे संविधान बनाएका छौं, यो संविधानले समावेशी व्यवस्था ल्याएका छौं । सितिमिति कुनै पार्टीको ‘एब्सुलुट’ मेजोरिटी आउँदैन,’ उनले भने, ‘पूरा बहुमत ल्याएर कसैले सरकार चलाउन धेरै कठिन छ । अरूसँग नमिलिकन सम्भव छैन ।’

निर्वाचनमा कांग्रेस एक्लै लड्ने कुरा नगर्न उनले नेता कार्यकर्तालाई आग्रह गरे । ‘कम्युनिष्ट पार्टीमा एकथरी पृथक अस्थित्व बनाएर बसेका छन् । केपी ओलीहरू एकातिर छन् । परिस्थितिले उनीहरू फेरि एकैतिर खनिने अवस्था भए कस्तो होला ? हामी एकोरिँदै गयौं भने गएकै चुनावको ठाउँमा पुगौंला,’ उनी अघि भन्छन्, ‘भोलिको चुनावमा पनि कांग्रेसलाई एक्ल्याउने कुरा नगरम् । कांग्रेसलाई आइसोलेसनमा पु¥याउने कुरा नगरौं । गएको चुनावमा के भयो ? सबै एकातिर हामी अर्काेतिर । परिणाम के भयो ? अहिलेको अहिले नै बिर्सने ?’

महामन्त्री डा. शशांक कोइरालाले सोही मन्चबाट कांग्रेस एक्लै चुनाव लड्नुपर्ने बताएपछि पौडेलले जवाफमा गठबन्धनको कुरा गरेका हुन् । कोइरालाले भने कांग्रेस कसैसँग मिल्न नहुने बताएका छन् । ‘आउँदो निर्वाचनमा कांग्रेसले कसैसँग मिल्नु हुँदैन । कसैसँग नमिलेर हामी एक्लै हिड्नुपर्छ, उनले भने, ‘हामी एक्लै बहुमत ल्याउन सक्छौं । त्यो अठोट हामीसँग हुनुपर्छ ।’ कांग्रेसकै पालामा धेरै विकासका काम भएको भन्दै त्यसको जस लिन नसकेको तर्क गरे ।

मञ्चमै नाराबाजी
संस्थापन इतरका नेताहरुलाई बोल्ने अवसर नदिइएको भन्दै कांग्रेसको प्रदेश अधिवेसन उद्घाटन कार्यक्रममै नाराबाजी भएको छ । बिहीबार उद्घाटन कार्यक्रममा पौडेल समूहबाट सभापतिका आकांक्षीहरुलाई बोल्न नदिइएको भन्दै नेता कार्यकर्ताहरुले नाराबाजी गरेका हुन् । देउवा समूहबाट सभापति बनेका अर्जुन जोशीलाई केन्द्रीय सदस्यको हैसियतमा बोल्न बोलाए पनि उनले मञ्चबाटै भोट मागेपछि अरु आकांक्षीहरु आक्रोशित बनेका हुन् । केही बेर प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा विरुद्ध नाराबाजी भएको थियो ।
त्यसपछि पौडेल पक्षीय आकांक्षीहरु देवराज चालिसे, शुक्रराज शर्मा र यज्ञबहादुर थापालाई भाषण गर्न दिइयो । सोही समयमा कास्कीका नेता महादेव गुरुङले मनोयन शुल्क चर्को भएकोमा विरोध जनाए । ‘बिपी कोइरालाले बताएको समाजवादी पार्टी शेरबहादुर देउवाले व्यापारीको पार्टी बनाएछन्, हामीलाई थाहा थिएन । यति चर्को शुल्क तिर्ने हो भने यो पार्टी कसरी गरिवहरुको पार्टी बन्न सक्छ ? गरिव र दलितहरु कसरी उम्मेद्वार बन्न सक्छन् ?,’ उनले भने, ‘यो शुल्क तत्काल घटाईयोस् । सबैले नेता बन्न पाउनुपर्छ ।’
शुल्क घटाउने आवाज उठेपछि केन्द्रीय निर्वाचन कमिटीले तोकेकै शुल्क कायम गरिएको छ । प्रदेश निर्वाचन कमिटीले सभापतिका लागि ९१ हजार, उपसभापतिमा ६१ हजार, महामन्त्रीमा ५१ हजार, सहमहामन्त्रीमा ४१ हजार र सदस्यहरुलाई ३१ हजार मनोनयन शुल्क राखिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width