गण्डकीमा स्वास्थ्यका कर्मचारी कटौती

धनबहादुर गुरुङ
मंसिर १६, २०७८
health ministry

पोखरा । कोभिड–१९ रोकथाम नियन्त्रण तथा उपचारका लागि गण्डकी प्रदेश सरकारले नियुक्त गरेका करारका कर्मचारी कटौती गरेको छ । कोरोनाकै लागि भनेर यस अघि ४ सय ४४ कर्मचारी थिए । तर कोरोनाको प्रभाव कम हुँदै गएपछि आवश्यकता हेरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले संगठन तथा व्यवस्थापन सर्भे गरेको थियो । त्यही सर्भेका आधारमा ९४ कर्मचारीको संख्या घटाइएको हो ।
४ सय ४४ जनाको करार अवधि कात्तिक मसान्तमा सकिएको छ । तर कोरोनाको त्रास कायमै भएका कारण ३ सय ५० कर्मचारी नियुक्त गरिने र उनीहरुबाटै सेवा प्रवाह गरिने सरकारका प्रवक्ता एवं मन्त्री कुमार खड्काले बताए । कोभिड १९ रोकथाम नियन्त्रण तथा उपचारका लागि स्वीकृत अस्थायी दरबन्दीको म्याद सकिएकाले नयाँ दरबन्दी खुलाउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकीका सचिव डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।
अस्थायी ४ सय ४४ जनाको म्याद दोस्रोपटक कात्तिक १ देखि ३० सम्म थप गरिएको थियो । उनीहरुलाई कोभिड कोषबाट रकम भुक्तानी दिइने सचिव शर्माले बताए । पुरानालाई बिदा गर्दै कोभिड कोषबाट तलबभत्ता भुक्तानी हुने गरी संगठन तथा व्यवस्थापन (ओएनएम) गरेर ३ सय ५० जना दरबन्दी स्वीकृत भएको सचिव डा. शर्माले बताए । ‘कोरोना घटेको छैन । संक्रमणको जति छ, त्यही अनुसार जनशक्ति ३ सय ५० जना गर्ने छौं । सबैलाई हटाएर पनि भएन,’ उनले भने, ‘पुरानाको म्याद कात्तिक ३० गते सकियो । नयाँ थप्ने भनेको हो, यसमा पुरानै पनि आउन सक्छन् ।’ पछिल्लो समय कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोन आएको भन्दै सतर्कता रहन स्वास्थ्यकर्मीले सचेत गराएका छन् ।
यसैबीच, सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले मंसिर ८ को मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश स्वास्थ्य नीति, २०७८ स्वीकृत गरेको जानकारी दिए । सरकारको नीति तथा कार्यक्रम र बजेटअनुसार स्वास्थ्य नीति निर्माण गरिएको प्रवक्ता खड्काको भनाइ थियो ।

पहिला नियुक्त भएका ४ सय ४४ जनाको अवधि सकिएपछि अब नयाँ प्रक्रियाबाट ३ सय ५० जना नियुक्त गरिने

गण्डकी प्रदेशमा हरेक स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी पुर्‍याउने उद्देश्य साथ नयाँ स्वास्थ्य नीति जारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले बताइन् । उक्त स्वास्थ्य नीतिमा एक चिकित्सक, स्वास्थ्यकर्मी एक संस्था नीति अवलम्बन गरिएको उनले बताइन् ।
गण्डकी प्रदेश सरकारले पहिलो पटक स्वास्थ्य नीति जारी गरेको मन्त्री गुरुङले दाबी गरिन् । गण्डकी प्रदेश स्वास्थ्य नीति, २०७८ मा जनताको स्वास्थ्यसम्बन्धी मौलिक हकलाई सुनिश्चित गर्दै कार्यान्वयन गर्ने दायित्व प्रदेश सरकारको हुने व्यवस्था गरेको छ । प्रदेशभित्र पाइने विभिन्न जडिबुटीलाई उत्पादन गर्न प्रोत्साहनकोे नीति लिइएको छ । व्यक्तिको आयआर्जनका लागि पनि जडिबुटी उत्पादन तथा प्रसारणलाई जोडेर लैजाने महत्वपूर्ण विषय नीतिमा राखिएको छ । प्रदेशलाई चाहिने स्वास्थ्यकर्मी तथा विशिष्ट दक्ष जनशक्तिका लागि छात्रवृत्तिको व्यवस्था मिलाइने नीतिमा उल्लेख छ । त्यसैगरी सरकारद्वारा ‘एक पालिका, एक ग्रामीण अल्ट्रासाउन्ड’ कार्यक्रम लागु गरिने भएको छ ।
मन्त्रिपरिषद् बैठकले शिक्षा तालिम केन्द्र, तनहुँबाट सञ्चालन हुने तालिम कार्यक्रमको खर्चको कार्यविधि, २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ । यसमा अनलाइन ट्रेनिङ पेमेन्ट, संघीय कार्यविधि पालना, अध्ययन अनुसन्धानका लागि रकम वृद्धि गर्ने भएको हो । बैठकले प्रदेश खेलकुद परिषद्, गण्डकीको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन (अस्थायी ओएनम) स्वीकृत गरी १६ जना कर्मचारी राख्ने निर्णय गरेको हो ।

कास्कीमा २ सय बढी संक्रमित
नेपालमा गएको २४ घन्टामा थप ३ सय १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बुधबार १२ हजार ७ सय २७ मा कोरोना परीक्षण गर्दा ३ सय १६ जनामा संक्रमण पुष्टि भएको बताएका हुन् । उनका अनुसार सक्रिय संक्रमित ६ हजार ९ सय ५४ पुगेको छ । पछिल्लो समय थप २ सय ५९ संक्रमणमुक्त भएका छन् । योसँगै ८ लाख ३ हजार १ सय ६८ जना संक्रमणमुक्त भए ।
५ सयभन्दा बढी संक्रमण भएका जिल्ला काठमाडौं र ललितपुर छन् । २ सयभन्दा बढी संक्रमित भएका जिल्लामा कास्कीसहित सुनसरी, धनुषा, भक्तपुर, नवलपुर, बाँके र कैलाली छन् । मनाङ, हुम्ला, सल्यान, जाजरकोट र मुगुमा संक्रमण शुन्य छ । नेपालमा संक्रमण दर हाल १७.७ प्रतिशत छ । हाल होमआइसोलेसनमा ६ हजार ६ सय १०, संस्थागत आइसोलेसनमा ३ सय ४४, आइसियुमा १ सय २० र भेन्टिलेटरमा ३७ जनाको उपचार हुँदैछ । यसैबीच, गएको २४ घन्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ११ हजार ५ सय २९ को मृत्यु भएको छ ।

Related News

सम्बन्धित समाचार

  • रोजगार खोज्दै मेलामा

    विजय नेपाल वैशाख १२, २०८१
    पोखरा । पोखरा मालेपाटनकी ४० वर्षीया संगीता केसीले केही नोकरी पाइन्छ कि ? भन्दै मंगलबार एक स्टल सञ्चालकसमक्ष जिज्ञासा राखिन्…
  • फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । दिउँसो करिब ३…
  • लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई

    विजय नेपाल वैशाख ११, २०८१
    वाद होइन, परिवर्तन र विकासमा प्रतिस्पर्धा जरुरी गिरधारी सुवेदी अधिवक्ता । २०६२/०६३ को जनआन्दोलन पश्चात् नेपाली नागरिकको पहिलो अपेक्षा रोजगार,…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • पाेखरा नयाँबजारको महायज्ञ समापन

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । पोखरा नयाँबजारमा आयोजित श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ सोमबार समापन भएको छ । महायज्ञ मूल आयोजक समितिका अनुसार १० दिनसम्म…

hero news full width