कांग्रेस महाधिवेशनः आकांक्षीको अडानले अड्कियो उम्मेदवार चयन

आदर्श समाज सम्वाददाता
मंसिर १६, २०७८
1nepali congress

पोखरा । नेपाली कांग्रेसका प्रदेश अधिवेशन बिहीबार सुरु हुँदैछ । तर अधिवेशन उद्घाटनको दिनसम्म पनि गण्डकी प्रदेशमा भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अझै उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।
प्रदेशमा संस्थापन र संस्थापन इतर प्यानल बन्ने पक्का छ । संस्थापन पक्षले सभापतिमा एक्लो उम्मेदवार अघि सारेको छ । संस्थापन इतरमा ५ जना आकांक्षी छन् । सबैको आफ्नै अडानले एक्लो उम्मेदवार तय हुन सकेको छैन । आफ्नो समूह तयार गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालासहितका नेताहरु पोखरा आएका छन् । गण्डकीमा प्रदेश सभापतिका लागि आकांक्षी धेरै देखिएपछि वरिष्ठ नेता पौडेल, महामन्त्री डा. कोइराला, नेतृ कमला पन्त, धनराज गुरुङ, जीवन परियारसहितको टोली पोखरा आएको हो । बिहीबार बिहान कोइराला निवास महाराजगञ्जमा बसेको बैठकले सातै प्रदेशमा उम्मेदवार टुंगो लगाउन टिम नै बनाएर जिम्मा दिएको हो ।
बुधबार दिउँसैदेखि पोखरा लेकसाइडस्थित टीका रिसोर्टमा बसेको बैठकले निष्कर्ष दिन सकेन । बिहीबार बिहान ८ बजे बैठक बस्ने गरी स्थगित भएको पौडेल पक्षीय एक नेताले बताए । नवलपुरका महेन्द्रध्वज जिसी, तनहुँका रघुनाथ पौडेल तथा कास्कीका शुक्रराज शर्मा, यज्ञबहादुर थापा र देवराज चालिसे आकांक्षी छन् । स्रोतका अनुसार पहिलो चरणको बैठकबाट नवलपुरका जिसी र कास्कीका चालिसेमध्ये १ जनाले सभापतिको टिकट पाउने सम्भावना बढी छ । अर्का उम्मेदवार थापा भने ब्याक हुन राजी छन् । शर्माले अडान छोडेका छैनन् । ‘सबैले एक चरण कुरा राख्नुभयो । जिसी अलि ढिलो आउनुभएकोले कम प्राथमिकतामा परेको जस्तो देखिन्छ,’ पौडेल निकट स्रोत भन्छ, ‘भोलि बिहानै टुंगो लगाउने सल्लाह भएको छ ।’ पौडेलले अन्तिम समयमा जिसी रोजेपछि महामन्त्री कोइराला अलमलमा छन् । उनले चालिसेलाई समर्थन गर्ने बुझिन्छ ।
संस्थापनतर्फको प्यानल भने करिब टुंगिएको छ । पर्वतका अर्जुन जोशीको नेतृत्वमा टिम तयार गरिएको छ । स्रोतका अनुसार उपसभापतिमा स्याङ्जाका मेखलाल श्रेष्ठ र म्याग्दीका नेत्र महत तथा महामन्त्रीमा कास्कीका कुमार खड्का र गोरखाका ईश्वर पाण्डेको नाम सुनिएको छ । सहमहामन्त्री समेत गोरखाले पाएको छ । राजनराज पन्त र तनहुँका झुलबहादुर आले सहमहामन्त्रीको उम्मेदवार पक्का भएको छ । महिला सहमहामन्त्रीमा यसअघि कास्कीकी शारदा पौडेललाई अघि सारिए पनि अन्तिम अवस्थामा उनले केन्द्रीय सदस्यमा दाबी गरेपछि विकल्प खोजी भइरहेको छ ।
पौडेल पक्षबाट उपसभापतिमा किरणबाबु श्रेष्ठ र बागलुङका हरिकुमार श्रेष्ठ, महामन्त्रीमा कास्कीका कृष्ण केसी र नवलपुरका विष्णुप्रसाद लामिछाने तथा सहमहामन्त्रीमा कल्पना तिवारी, सरिता गुरुङ र ओमकला चालिसेको सम्भावना बलियो देखिन्छ । गोरखाका दीपकबाबु कँडेल महामन्त्रीमा उठ्ने चर्चा थियो । अहिले उनलाई सहमहामन्त्रीको टिकट दिने विषयमा आन्तरिक छलफल भैरहेको छ । अहिलेसम्मको चर्चा र छलफलबाट मनाङ, मुस्ताङ, म्याग्दी र लमजुङ पदाधिकारीविहीन हुने पक्का छ ।

उद्घाटन आज
नेपाली कांग्रेसको १४ महाधिवेशनअन्तर्गत प्रदेश अधिवेशन बिहीबार सातै प्रदेशमा एकसाथ उद्घाटन हुँदैछ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा सातै प्रदेशको अधिवेशन एकै पटक उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
यता, गण्डकी प्रदेशको अधिवेशन बिहीबार साढे १२ बजे पोखरा प्रदर्शनी केन्द्रमा हुने भएको छ । अधिवशेनका लागि गोपालमान श्रेष्ठको संयोजकत्वमा टोली खटिएको छ । कार्यक्रम श्रेष्ठकै अध्यक्षतामा हुने भए पनि प्रदेशमा समिति बनिनसकेकोले कुन मोडालिटीमा कार्यक्रम हुने भन्ने तय भइसकेको छैन ।

Related News

सम्बन्धित समाचार

  • चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । गण्डकी प्रदेशमा बिनाविभागीय २ जना मन्त्रीहरुले मन्त्रालयको जिम्मा पाएका छन् । माओवादीका हरिबहादुर चुमानले आर्थिक मामिला र राजीव…
  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…

hero news full width