एमालेमा ओलीको दोस्रो इनिङ

आदर्श समाज सम्वाददाता
मंसिर १५, २०७८
oli

पोखरा । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशनले फराकिलो मतान्तरसहित अध्यक्षमा पुनः केपी शर्मा ओलीलाई निर्वाचित गरेको छ ।
कुल खसेको २ हजार ९६ मध्ये अध्यक्ष ओलीले १ हजार ८ सय ३७ मत प्राप्त गरेको पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । उनका प्रतिद्वन्द्वी डा. भीमबहादुर रावलले २ सय २३ मत प्राप्त गरेका छन् । महाधिवेशनमा २ हजार १ सय ५३ प्रतिनिधि रहेका थिए ।
महाधिवेशनबाट अध्यक्षसहित पदाधिकारी, ३ सय १ सदस्यीय केन्द्रीय सदस्य, केन्द्रीय अनुशासन आयोग र लेखा परीक्षण आयोगका निर्वाचितको विवरण मंगलबार केन्द्रीय निर्वाचन कमिटी अध्यक्ष विजय सुव्वाले सार्वजनिक गरेका हुन् ।
विद्युतीय भोटिङ मेसिनका आधारमा गरिएको मतदान र गणनाका करण छिटै परिणाम निस्किएको हो । कतिपय प्रतिनिधिले अध्यक्षका दुवै उम्मेदवारलाई मत दिएको बुझिएको छ । अध्यक्ष ओली गत नवौं महाधिवेशनमा माधवकुमार नेपाललाई झिनो मतान्तरले पराजित गर्दै विजयी भएका थिए । उनको लागि यो दोस्रो इनिङ हो ।
वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध हुँदा उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे, सुवास नेम्वाङ निर्वाचित भए । महासचिवमा शंकर पोखरेल तथा ३ उपमहासचिवमा प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध भए ।
सचिवमा गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी, पद्माकुमारी अर्याल, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट निर्वाचित भए । पदाधिकारीमा निर्वाचित हुने पद्मा स्याङ्जाका हुन् । यसअघि पदाधिकारीतर्फ उपमहासचिवमा गण्डकीका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुव्वा निर्विरोध भइसकेका थिए ।
यस्तै, केन्द्रीय सदस्यमा गण्डकी प्रदेशतर्फ खुलातर्फ इन्द्रलाल सापकोटा, जगत विश्वकर्मा, टुकराज सिग्दल, तिलबहादुर महत क्षेत्री, भूपेन्द्रबहादुर थापा र मायानाथ अधिकारी निर्विरोध भए । महिलामा नरदेवी पुनमगर, मीनाकुमारी गुरुङ र सीमाकुमारी क्षेत्री निर्विरोध भएका थिए । केन्द्रीय सदस्यमा देवी ज्ञवालीलाई सर्वाधिक मत छ ।
महाधिवेशन बन्दसत्रको पहिलो दिन मंसिर ११ मा अध्यक्ष मण्डलका अध्यक्ष ओलीलाई ३ सय १ सदस्यीय केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यका उम्मेदवारको नामावली प्रस्तुत गर्न अधिकार दिएको थियो । अध्यक्ष ओलीले विभिन्न नेतासँगको परामर्शमा १२ गतेको बन्दसत्रमा नामावली प्रस्तुत गर्दा अधिकांशले सहमति जनाएकामा डा रावल, नेता घनश्याम भुसाललगायतका नेताले अस्वीकार गरेपछि निर्वाचन भएको हो ।
यसैबीच, चुनावमा निर्वाचित पदाधिकारी सहित केन्द्रीय सदस्य मंगलबार राति पद तथा गोपनीयताको सपथ लिएका छन् । पार्टी अध्यक्ष ओलीलाई निर्वाचन आयोगका अध्यक्ष डा. सुब्बाले सपथ गराएका हुन् । पदाधिकारी र सदस्यहरूलाई भने अध्यक्ष ओलीले सपथ गराए ।
नवनिर्वाचित अध्यक्ष ओलीले अब ३ महिनासम्म एकीकरण अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । यस्तो एकीकरण अरु पार्टीसँग नभएर कार्यकर्ताहरुको हुने उनको भनाइ छ । पार्टीका निर्वाचित केन्द्रीय सदस्यहरुको सपथ ग्रहण समारोहपछि ओली अब एमालेमा अरु पार्टीका कार्यकर्ता प्रवेश गराउने अभियान चलाइने बताएका हुन् । उनले भने, ‘पार्टी–पार्टी भेला गरेर हुँदैन, कार्यकर्ता भेला गर्नुपर्छ । विभिन्न पार्टीबाट कार्यकर्ता हामीले प्रवेश गराउनुपर्छ । यस्तो अभियान सिर्जना गरेर पार्टीलाई माथि उठाइन्छ ।’ यस्तो अभियान कहिलेबाट सुरु गर्ने भन्ने केन्द्रीय कमिटीले मिति तय गर्ने ओलीले जानकारी दिए ।

१७ बुँदे प्रस्ताव पारित

महाधिवेशनले १७ बुँदे प्रस्ताव पास गरेको छ । नयाँ कमिटीको सपथ ग्रहणका लागि आयोजित समारोहमा उपमहासचिव प्रदीप ज्ञवालीले १७ बुँदे प्रस्ताव पेश गरेका थिए । जसलाई हलले पास गरेको थियो ।

महाधिवेशनले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानप्रति ऐक्यबद्धता जाहेर गर्दै महिलाविरुद्ध हुने सबै खाले हिंसाका विरुद्ध अग्रपंक्तिमा उभिएर संघर्ष गर्ने दृढता व्यक्त गरेको छ ।
साथै, वर्तमान सरकार राष्ट्रिय हित, जनसरोकार र लोकतान्त्रिक मूल्यमान्यताप्रति दिनानुदिन गैरजिम्मेवार बन्दै गएको ठहर गर्दै राष्ट्रिय हित र स्वाभिमानमाथि आँच पुग्ने कुनै पनि काम नगर्न, लोकतान्त्रिक मूल्य मान्यताको अपमान नगर्न, विकास आयोजनाहरुको बजेट कटौती नगर्न, मूल्यवृद्धि नियन्त्रण गर्न र जनताको जीवनमाथि थप कष्ट पु¥याउने काम नगर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

साथै, असोजको अन्तिमबाट परेको बेमौसमी बर्खा र त्यसका कारण आएको बाढीपहिरोले जनधनको ठूलो क्षति भएकोमा उचित क्षतिपूर्ति, राहत र पुनस्र्थापनाको माग गरिएको छ । सरकार र सत्ता गठबन्धनलाई संक्रमणकालीन न्यायका काममा आलटाल नगर्न र द्वन्द्वका पीडितहरुलाई अविलम्ब परिपूर्णको प्रबन्ध गर्न माग गरिएको छ । राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राख्दै परराष्ट्र नीति र छिमेक लगायत वाह्य सम्बन्धमा देखा परेका सरकारका असंगत र अपरिपक्व व्यवहारको महाधिवेशनले विरोध गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width