गण्डकी कांग्रेस : देउवाका जोशी, पौडेलका ५ भाइ

आदर्श समाज सम्वाददाता
मंसिर १५, २०७८
Gandaki Congress

पोखरा । नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि संख्या हेर्दा गण्डकी प्रदेश केन्द्रमा वरिष्ठ नेता रामचन्द्र पौडेलको बहुमतमा छ । तर नेताहरुको व्यवस्थापन गर्न नसक्दा जिल्ला सभापतिहरु करिब सबैजसो गुमाए । ११ मध्ये ७ जिल्ला सभापति संस्थापन पक्षले जितेको छ । कास्कीसहित स्याङ्जा, पर्वत, म्याग्दी, तनहुँ, लमजुङ र मनाङका सभापति शेरबहादुर देउवानिकटका हुन् । आफ्नै गृहजिल्ला तनहुँसमेत गुमाएका पौडेल पक्षबाट मुस्ताङका सभापति रोमी गौचन थकाली निर्विरोध निर्वाचित भएका छन् । गोरखाका सभापति नन्दप्रसाद न्यौपाने गगन थापानिकट हुन् भने बागलुङका जीत शेरचन कृष्ण सिटौलानिकट हुन् । कास्कीमा किशोरदत्त बराल, स्याङ्जामा राजु थापा, तनहुँमा जीतप्रकाश आले, पर्वतमा युवराज जोशी, लमजुङमा टकराज गुरुङ, मनाङमा शंकर गुरुङ र म्याग्दीमा खमबहादुर गर्वुजा ‘खम्बीर’ सभापति बनेका छन् ।
नवलपुरमा अधिवेशन सकिएको छैन । नवलपुरमा पौडेल समूह पराजित गर्न सभापति देउवा र महामन्त्री डा. शशांक कोइरालाबीच गठबन्धन भएको थियो । गठबन्धनबीच पौडेल समूहका उम्मेदवारले जितेपछि जिल्ला अधिवेशन रोकेर नयाँ गठबन्धन बनाउन प्रयास थालिएको छ । कांग्रेस प्रदेश अधिवेशनको चरणमा पुगेको छ । बिहीबारदेखि सुरु हुने प्रदेश अधिवेशनमा शुक्रबार मनोनयनको तालिका छ ।
जिल्ला अधिवेशनसँगै प्रदेशमा नेतृत्व गर्न नेताहरुको होडबाजी सुरु भएको छ । आ–आफ्नै हिसाबले उम्मेदवारी घोषणा गरिएका छन् । यहाँ देउवा समूहबाट अर्जुन जोशी सभापतिको उम्मेदवार बन्ने पक्का भएको छ भने पौडेल समूहमा कुरा मिलेको छैन । पौडेलनिकट ५ जना दावेदार देखिएका छन् । पुराना नेता शुक्रराज शर्मा, तनहुँका रघुनाथ पौडेल, कास्कीकै देवराज चालिसे र यज्ञबहादुर थापाले उम्मेदवारी घोषणा गरेका छन् । सबैले आ–आफ्नै सचिवालय खोलेर प्रचारप्रसार थालेका छन् ।
पौडेल समूहमा धेरै आकांक्षी भएपछि अहिले चर्चामा रहेकाभन्दा फरक उम्मेद्वार बन्न सक्ने देखिन्छ । प्रदेशमा महामन्त्री कोइराला र पौडेलबीच सहकार्य हुने भएकोले साझा उम्मेदवारको खोजी गरिएको छ । स्रोतका अनुसार नवलपुरका महेन्द्रध्वज जिसी पौडेलको रोजाइमा छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको नाम पनि अहिले चर्चामा छ । उम्मेदवार टुंगाउन बुधबार पौडेल पोखरा आउँदै छन् ।

अर्जुन जोशीले मंगलबार प्रदेश सभापतिमा उम्मेद्वारी घोषणा गरे

सभापतिमा आकांक्षी धेरै भए पनि प्यानल भने कसैले घोषणा गरेका छैनन् । दुवै पक्ष आन्तरिक छलफलमै छन् । जोशी प्यानलको उपसभापतिमा कुमार खड्का र मेखलाल श्रेष्ठमध्ये १ र म्याग्दीका नेत्र महतलाई अघि सारिएको छ । महामन्त्रीमा पनि खड्का र श्रेष्ठमध्ये १ जना उम्मेदवार हुने देखिएको छ । कास्कीबाट खड्का महामन्त्रीको टिकट पाउँदा अर्को टिकट गोरखाका राजनराज पन्तले पाउने सम्भावना छ । पन्त महामन्त्री नभए सहमहामन्त्रीमा ठाउँ करिब पक्का छ । सहमहामन्त्रीमा तनहुँका झुलबहादुर आले र कास्कीकी शारदा पौडेललाई टिकट दिने बुझिएको छ । तथापि मिलाउन आन्तरिक कसरत भैरहेको छ । उपसभापतिमा गोरखाका ईश्वर पाण्डेको नाम पनि चर्चामा छ । पौडेल समूहबाट भने सभापतिमै कुरा नमिलेका कारण प्यानल बनाउन सकस परेको छ ।
यसैबीच, देउवा समूहका एकल उम्मेदवार जोशीले मंगलबार पत्रकार सम्मेलन गरेर आफ्नो उम्मेदवारी घोषणा गरे । हेभिवेट नेताहरुलाई अगाडि राखेर सभापति घोषणा गरेका जोशीले भने, ‘म गुटको उम्मेदवार होइन । गुटलाई संरक्षण पनि गर्दिनँ । गण्डकीको भूगोल बुझेको छु । कांग्रेसलाई बलियो बनाउँछु ।’ तर उनको कार्यक्रमका अधिकांश सहभागीहरु देउवा पक्षका थिए । पूर्व सभामुख तारानाथ रानाभाट, पुराना नेता खेमराज पौडेलदेखि, मन्त्री कुमार खड्का, मेखलाल श्रेष्ठ, बिन्दुकुमार थापा लगायत उपस्थित थिए । जोशी १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य बन्नकै लागि पौडेल समूहबाट देउवा क्याम्प सरेका हुन् ।
राज्य पुनः संरचनाक्रममा आफूले मिहिनत गरेकोले भूगोलबारे परिचित रहेको र समृद्ध प्रदेश बनाउने योजना सुनाए । ‘सभापति उठ्ने मेरो कल्पना थिएन । ११ जिल्लाका साथीहरुसँग सल्लाह गर्दा सभापति उठ्नुस् भन्नुभयो । गण्डकीलाई केन्द्रमा स्थापित गराउन सक्ने तपाईं मात्रै हो भन्नुभयो,’ उनले भने, ‘जतिबेला संविधानसभाको सदस्य थिएँ । प्रदेश कस्तो बनाउने र भूगोल कत्रो बनाउने भन्ने चर्चा चलिरहेको थियो । मैले दुई छिमेकी देश जोड्ने गरी प्रदेश निर्माणमा प्रयत्न गरें ।’

Related News

सम्बन्धित समाचार

hero news full width