गण्डकी सरकार हेलिकोप्टर किन्दै !

धनबहादुर गुरुङ
मंसिर १५, २०७८
Gandaki Sutkeri Photo

पोखरा । बागलुङ बडीगाड गाउँपालिका ७ की लक्ष्मी गुरुङलाई गर्भवती भएकै बेला २०७७ साउन २४ मा अचानक पेट दुख्यो । उनी छट्पटाउन थालिन् । परिवार आत्तियो । नजिकै उपचार गर्ने ठाउँ भएन । जिपलाई खबर गरेको लामो समयसम्म आएन ।
अघिल्लो राति खबर गरेकोमा भोलिपल्ट २५ गते बिहान ६ बजमात्र जिप आइपुुग्यो । लक्ष्मीलाई बुर्तिवाङ झारियो । बुर्तिबाङ स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि चिकित्सकले गण्डकी प्रदेशको तत्कालीन सामाजिक विकास मन्त्रालयमा खबर गरे । प्रदेशले तुरन्तै हेलिकोप्टर बुर्तिबाङ पठायो र लक्ष्मीको हेली उद्धार गरियो ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा ल्याएपछि उनी सुत्केरी भइन् । २ दिनसम्म के कसो हुने हो भन्ने लक्ष्मीको पीडा एकाएक खुसीमा बदलियो । जीवन बचाउने प्रदेश सरकारको अमूल्य सहयोगले उनी दंग थिइन् । आफ्नो गाउँमा पनि सहरमा जस्तै विकासहोस् र आफूजस्तै अरुले दुख नपाउन् भन्ने उनको कामना छ ।
गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचिव डा. विनोदविन्दु शर्माले प्रदेशका दुर्गम क्षेत्रबाट सुत्केरी तथा गर्भवती महिलाको उद्धार गर्दा विविध समस्या झेल्नुपरेको बताउँछन् । भनेकै समयमा हेलिकोप्टर नपाउनु, लो भिजनमा उड्न नसक्नु र ल्यान्डिङमै पनि समस्या भोग्नुपरेको उनको भनाइ छ । सबै अवस्थामा समस्या नरहे पनि केहीमा प्रशासनिक र प्राविधिकको चुनौती पार गरेर सुत्केरी तथा गर्भवती महिलाहरु गरिहेको उनले जनाए । प्रदेशको आफ्नै हेलिकोेप्टर भएमा कुनै समस्या कम हुने भन्दै मन्त्रालयले एयर एम्बुलेन्सको अवधारणा अघि बढाएको डा. शर्माले बताए । गण्डकी प्रदेश सरकारले कास्की बाहेक प्रदेशका १० जिल्लाबाट ५४ जना सुत्केरी तथा गर्भवती महिलाको हेली उद्धार गरिसकेको छ । जसले गर्दा दुर्गम क्षेत्रमा रहेकालाई हाम्रो पनि सरकार छ भन्ने आभाष मिलेको छ ।

सरकारले कास्की बाहेक प्रदेशका १० जिल्लाबाट ५४ जना सुत्केरी तथा गर्भवती महिलाको हेली उद्धार गरिसकेको छ

हेलिकोप्टर खरिदमा प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल पनि सकरात्मक रहेको डा. शर्माको भनाइ छ । ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रममार्फत मुख्यमन्त्री पोखरेलले हेलिकोप्टर खरिदका लागि आफू सकारात्मक रहेको बताएका हुन् । खरिद प्रक्रिया विषयमा सोच बनाएर बहस सुरु गरिसकेको उनको भनाइ थियो । यसका लागि केन्द्रीय सरकारसँग पनि अनुरोेध गर्ने उनी बताउँछन् । ‘सपना नदेखि साकार हुने कुरा त भएन,’ उनले भने, ‘हामीले लाइनमा राखिदियौं भने अर्को सरकारले गर्ला नि ।’
गण्डकी प्रदेश पर्यटकीय राजधानी भएका कारण पनि आपतकालीन उद्धारमा प्रदेशको आफ्नै हेलिकोप्टर भए सहज हुने उनको तर्क छ । विकास निर्माणका काम छाडेर हेली खरिद गर्ने बहस चलाउँदा जनताबाट नकारात्मक टिप्पणी आउनु जायज भए पनि भोलिको अपरिहार्य आवश्यकताभित्र पर्नेमा उनी ढुक्क छन् । ‘हामीसँग हेली भयो भने त सुत्केरी तथा गर्भवती महिलासँगै दुर्गम क्षेत्रमा भएका बिरामी र अप्ठेरोमा परेको पर्यटकको उद्धार गर्न पनि सहज हुन्छ,’ उनले भने, ‘यो भनेर हामीले भोलि नै ल्याइहाल्ने पनि होइन, बहस पनि हुन्छ, यसलाई प्रदेश सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर छ भन्ने रुपमा बुझ्नुपर्छ ।’
एयर एम्बुलेन्स भएमा दुर्गम क्षेत्रमा रहेका सुत्केरी तथा गर्भवतीसँगै अन्य रोगका बिरामीलाई उद्धार गर्न सहज पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङ बताउँछिन् । प्रदेश सरकारले स्थापनादेखि नै सुत्केरी तथा गर्भवती महिलाका स्वास्थ्यमा गम्भीरता साथ लागेको उनको भनाइ छ । आमा र शिशु बचाउन मन्त्रालयले काम गर्दै आएको छ । अहिले पनि प्रदेश सरकारले निशुल्क सुत्केरी सेवा, आमा प्रतीक्षालय, सुत्केरी खर्च, पोषण कार्यक्रम लगायत कामलाई निरन्तरता दिंदै आएको छ । मन्त्रालयले जिल्ला अस्पताल सुढृढीकरण गर्दै दक्ष जनशक्ति र उपकरणको व्यवस्था गर्नेतर्फ मन्त्रालयको ध्यान केन्द्रित भएको छ । सम्बन्धित जिल्ला अस्पताल सबल हुँदाहुँदै पनि जटिल अवस्थाका बिरामीलाई दुर्गम क्षेत्रबाट उद्धारका लागि हेलिकोप्टर नै उपयुक्त रहने मन्त्रालयले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width