गाउँमा योगले बदल्दै जीवनशैली

आदर्श समाज सम्वाददाता
मंसिर १४, २०७८
yoga~

बागलुङ । सामान्य अर्थमा योगको अर्थ विभिन्न आसन, प्राणायाम, ध्यान र साधनाद्वारा मन, आत्मा र शरीरलाई जोड्नु हो । यसलाई शरीर, मन र आत्माको एकता पनि भनिन्छ । जसरी समाजको विकास हुँदै आयो, त्यस सँगसँगै समाजमा बढ्दै गइरहेको तनाव, चिन्ता र प्रतिष्पर्धामा योगको कारणले धेरै लाभ पुगेको पाइन्छ । पछिल्लो समय धेरै मानिसले आफ्नो चौतर्फी विकासको लागि योग अभ्यासलाई दैनिकी बनाइरहेका छन् ।
यसैक्रममा बागलुङको गलकोट ७, मल्ममा जीवनशैली परिवर्तन तथा योग प्रशिक्षण कार्यक्रम भएको छ । २ दिनसम्म चलेको प्रशिक्षणबाट वडावासी लाभान्वित भएका छन् । ‘अपनाऔं आयुर्वेदीय जीवनशैली र दैनिक ४८ मिनेट योग, रहौं स्वस्थ, रोकथाम तथा नियन्त्रण हुन्छ रोग’ भन्ने मूलमन्त्रासहित भएको प्रशिक्षणमा १ सय बढी स्थानिय सहभागी भएको गलकोट ७ का वडा अध्यक्ष टीकाबहादुर थापाले जानकारी दिए ।
सामाजिक संस्था घुम्टे युवा परिवारसँगको सहकार्यमा धौलागिरी आयुर्वेद औषधालय बागलुङले आयोजना गरेको प्रशिक्षणमा औषधालयका आयुर्वेद चिकित्सक एवं योग प्रशिक्षक सरोज कुमार रायले योग र ध्यानबारे प्रशिक्षित गर्दै योगका विभिन्न आसनको अभ्यास र विधि सिकाए । उनले शारीरिक र मानसिक दृष्टिबाट मानिस स्वस्थ रहन योग विज्ञान फलदायी रहेको बताए । मन, आत्मा र शरीरलाई योग, ध्यान र साधनाका माध्यमबाट जोड्न सके मात्र मानव जीवन स्वस्थ, खुसी र आनन्दमयी बन्ने उनको भनाइ थियो । प्रशिक्षणमा सहभागी ज्येष्ठ नागरिक कुलबहादुर थापाले योग सिक्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए ।
गाउँका ज्येष्ठ नागरिक र ६ महिनासम्मका सुत्केरी आमाहरुलाई लक्षित गरि कार्यक्रम आयोजना गरिएको थियो । यद्यपि अन्य उमेर समुहका व्यक्तिको पनि प्रशिक्षण कार्यक्रममा उल्लेख्य सहभागिता थियो । सो अवसरमा नसर्ने रोगहरु, उक्त रक्तचाप, मधुमेह, बाथ रोगको चेकजाँच गरी रोग अनुसार रोग प्रतिरोधात्मक क्षमता अभिवृद्वि गर्ने आयुर्वेदिक औषधी ७२ पुरुष र ३९ महिलालाई निशुल्क वितरण गरिएको थियो ।
पछिल्लो समय मानिसमा शारीरिक तथा मानसिक स्वास्थ्यको समस्या बढ्दै गएकाले सोको न्युनीकरणमा टेवा पुगोस् भनी जीवनशैली परिवर्तन तथा योग प्रशिक्षण राखिएको घुम्टे युवा परिवार गलकोट ७ का अध्यक्ष थम्मन थापा ‘सन्देश’ ले बताए । प्रशिक्षणका लागि संस्थाका पूर्व उपाध्यक्ष एवं नेपाल भलिबल संघ जापानका सदस्य युवा समाजसेवी तुलवीर थापाले आर्थिक सहयोग गरेका थिए ।
योगसँगै आयुर्वेद चिकित्साको महत्वबारे सर्वसाधारणलाई बुझाउन प्रशिक्षणलाई अभियानकै रुपमा जिल्लाभर सञ्चालन गर्ने योजना रहेको औषधलाय व्यवस्थापन समितिका सदस्य ललिता थापाले बताइन् । कार्यक्रममा वडा कार्यालयले स्थानीय रुपमा समन्वय गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width