स्थापनाको ३५ वर्षपछि पोखरा बहुमुखीको आफ्नै भवन

धनबहादुर गुरुङ
मंसिर १४, २०७८
Pokhara Public Campus Photo 2

पोखरा । पोखरामा २०४४ सालसम्म उच्च शिक्षाका लागि पृथ्वीनारायण (पिएन) क्याम्पसको विकल्प थिएन । क्याम्पस पोखरामा भए पनि पढ्न आउने भनेका तत्कालीन गण्डकी धौलागिरि अञ्चलसहित टाढा टाढाका हुन्थे । पिएन क्याम्पस पढ्नकै लागि आएकाहरु सिट संख्या कम भएकै कारण धेरैले पढ्न पाउँदैनथे । दुर्गम क्षेत्रबाट पढ्न आएकाहरु भर्ना हुन नपाएर घर फर्कनुपर्ने अवस्थाले तत्कालीन अञ्चलाधीश नरेन्द्र चौधरीको ध्यान खिच्यो । तत्काल नै अञ्चलाधीश चौधरीले तत्कालीन नगर पञ्चायत र पोखरा उद्योग वाणिज्य संघसँग सल्लाह गरे । ३ वटै संस्थाको सल्लाहपछि पोखरामा बहुमुखी क्याम्पस स्थापना गर्ने निचोड निस्कियो । क्याम्पस स्थापनाका लागि पोखरा उद्योग वाणिज्य संघले आर्थिक व्यवस्थापन गरेर क्याम्पस स्थापना गरियो नाम राखियो, पोखरा बहुमुखी क्याम्पस ।
‘सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा’ भन्ने नाराका साथ तत्कालीन नगर पञ्चायत, पोखरा उद्योग वाणिज्य संघ, अञ्चलाधीश, समाजसेवी, शिक्षाप्रेमीहरुको अगुवाईमा २०४४ मंसिर १४ देखि क्याम्पस स्थापना भएको हो । तत्कालीन पश्चिमाञ्चल क्षेत्रकै पहिलो सामुदायिक क्याम्पसको रुपमा स्थापित क्याम्पसले पोखरा १ बगरमा रहेको राष्ट्रिय माविबाट शैक्षिक यात्रा सुरु गरेको हो । समुदायस्तरबाट सञ्चालन गर्ने अवधारणाअनुसार खुलेको क्याम्पसको सुरुको सञ्चालक समितिको अध्यक्षमा स्व. हेमबहादुर प्रधान चुनिए । सुरुमा प्रमाणपत्र तहमा मानविकी र व्यवस्थापन संकायमा कक्षा सञ्चालन गरेको थियो । विविध समस्या झेल्दै क्याम्पस २०५९ सालमा पोखरा नयाँ बजारमा स¥यो । नयाँ बजार झर्दासम्म क्याम्पसको आफ्नो भवन थिएन । त्यहाँ पनि तत्कालीन महेन्द्र निमावि स्कुलको भवनबाट कक्षा सञ्चालन भएको थियो ।
नयाँबजार झरेको अर्को वर्षदेखि नै विश्वविद्यालयमा आएको नीतिगत परिवर्तनले प्रमाणपत्र तह विस्थापित भएर स्नातकतर्फ मानविकी (बिए) र व्यवस्थापन (बिबिएस) तर्फका कक्षा सञ्चालन भए । नेपालको शैक्षिक नीति परिवर्तन हुँदै जाँदा महेन्द्र निमाविले पनि कक्षा १२ सम्म पढाउन सुरु ग¥यो । त्यति बेलासम्म क्याम्पस सञ्चालक समितिले आफ्नै भवन हुनुपर्ने महसुस गरिसकेको थियो । पोखरा बहुमुखी क्याम्पसको मोह बढ्दै जान थाल्दा भर्ना हुने संख्या पनि ४ सयको हाराहारीमा पुग्यो । अहिले पनि बिए र बिबिएस २ संकायमा ४ सय विद्यार्थी अध्यइन गरिहरेको क्याम्पस प्रमुख शिशुकला पराजुलीले जानकारी दिइन् । उनका अनुसार क्याम्पसमा २९ जना प्राध्यापक र ९ कर्मचारी छन् । आफ्नै भवन नहुँदा अनुदानका कार्यक्रम र क्युएए प्राप्तिमा समस्या रहेको उनले बताइन् । ‘आफ्नै भवन नहुँदा अनुदानका कार्यक्रम रोकिएका छन् मुख्य त क्युएए प्राप्त गर्न समस्या भएको छ,’ उनले भनिन्, ‘क्युएएका लागि लाइब्रेरी, क्यान्टिन, पार्किङ, खेलमैदानलगायत सबै सुविधा हुनुपर्छ ।’ विविध समस्याका कारण क्याम्पसले लामो समयदेखि आफ्नै भवनको खोजी गरिरेहको उनी सुनाउँछिन् ।

निकट भविष्यमै विज्ञान संकायसहित अन्य विषय र मास्टर डिग्री थप्ने क्याम्पसको योजना छ

सञ्चालक समिति परिवर्तन हुँदै जाँदा गएको २ वर्षदेखि नरेन्द्रमान लालचन अध्यक्ष छन् । लालचनलगायत अन्य सदस्यहरु आफ्नै भवन हुनुपर्छ भन्दै जोडतोडले लागे । यस विषयमा पोखरा महानगरका मेयर मानबहादुर जिसी सकरात्मक भए । स्थानीय शिक्षा प्रेमी, समाजसेवी, बुद्धिजीवी तथा वडा नम्बर ९ को पहलमा मेयर जिसीले पोखरा ९ मा रहेको सार्वजनिक जग्गा क्याम्पसलाई उपलब्ध गराए । मेयर मानबहादुर जिसीले २०७७ असार १२ गते शिलान्यास गरी भवन निर्माण भइरहेको अध्यक्ष नरेन्द्रमान लालचनले जानकारी दिए । आफ्नै भवनमा सार्ने स्थापनाकालदेखिको सपना यही शैक्षिक सत्रदेखि पूरा गर्ने गरी काम गरिरहेको अध्यक्ष लालचन बताउँछन् । ४ रोपनी दिने भनिए पनि ७ रोपनी जतिमा २ वटा भवन बनाउने गरी काम भइरहेको छ ।
२४ काठे भवन बनाउने लक्ष्यसहित सुरु भएको आयोजनामा पहिलो चरणमा १६ कोठे एउटा भवन तयार गर्ने योजना रहेको सञ्चालक समितिका कोषाध्यक्ष शंकर गुरुङले जानकारी दिए । जसका लागि ५ करोड बजेट अनुमान गरेको उनले बताए । १६ कोठे भवन बनाउनका लागि त्रिभुवन विश्वविद्यालयबाट ५० लाख, आन्तरिक स्रोतबाट ५० लाख, अध्यक्ष लालचनबाट ५० लाख ५ हजार, एनएमबी बैंकबाट ३५ लाख र व्यावसायी, शिक्षाप्रेमी, समाजसेवी, बुद्धिजीवीलगायतले सहयोग गरेको उनको भनाइ थियो । २ वटै भवन तयार हुँदा करिब ९ करोड हाराहारीमा खर्च निस्कने उनको आकलन छ । सहयोगका लागि सबै क्षेत्रतर्फ आग्रह गरिएको कोषाध्यक्ष गुरुङले जानकारी दिए ।
चालु शैक्षिक सत्र नयाँ भवनबाट सुरु गर्ने गरी काम भइरहेको सञ्चालक समितिका अध्यक्ष लालचनले बताए । २०७७ सालदेखि नै सुरु भएको भवनको काम कोरोनाका कारण पनि ढिलाइ भएको उनको भनाइ थियो । आफ्नै भवन भएपछि गरिब तथा दुर्गम क्षेत्रबाट आएका विद्यार्थीहरु पढ्न पाउने भन्दै उनले खुसी व्यक्त गरे । अहिले भवन बन्दै गरेको स्थान शान्त र क्याम्पसलाई सुहाउँदो भएका कारण पनि अझ विद्यार्थी बढ्ने उनको आकलन छ ।
क्याम्पस आफ्नै भवनमा सञ्चालन पछि क्युएए प्राप्त गर्न सहज हुने क्याम्पस प्रमुख शिशुकला पराजुलीले बताइन् । क्याम्पसले निकट भविष्यमै विज्ञान संकायसहित अन्य विषय थप्ने योजना बनाएको छ भने मास्टर डिग्री थप्ने गरी अगाडि बढेको उनले बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width