एमाले अध्यक्षमा ओली र रावलबीच प्रतिस्पर्धा, आज बिहान मतदान हुने

आदर्श समाज सम्वाददाता
मंसिर १३, २०७८
UML_chairmanship1-1638118386

पोखरा ।  एमालेको १०औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान नै हुने भएको छ। महाधिवेशन उद्घाटनको तेस्रो दिन निर्वाचन प्रक्रियालाई पूर्णता दिन भन्दै मतदाता नामावली प्रकाशन गरिएको छ।

एमाले निर्वाचन आयोगका अनुसार दशौं राष्ट्रिय महाधिवेशनका लागि निर्वाचित र मनोनित प्रतिनिधिको नाम मतदाताका रुपमा प्रकाशन गरिएको हो।

सर्वसम्मत रुपमा नाम प्रस्ताव गरिएका व्यक्तिले असहमति जनाएर चुनावी प्रतिस्पर्धा गर्न चाहेमा ती पदमा मतदान गर्ने गरी मतदाता नामावली प्रकाशन गरिएको आयोगले जनाएको छ। नेकपा एमालेको अध्यक्षमण्डलको निर्देशन अनुसार सोमबार बिहानसम्मका लागि निर्वाचनका सबै पक्रियाहरु फेरि स्थगित भएका छन्।

यसअघि एमालेको निर्वाचन आयोगले उम्मेदवारी दर्तादेखि उम्मेदवारको नामावाली प्रकाशन र मतदानसम्मको सबै प्रक्रियाका लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको थियो। तर, रातिको समयमा महाधिवेशन प्रतिनिधिहरुको व्यवस्थापन र फारम वितरणलगायतका प्रक्रिया असहज हुने भएकोले सोमबार बिहानसम्मका लागि स्थगित गरिएको निर्वाचन आयोजका अध्यक्ष डा विजय सुब्बा जानकारी दिएका छन्।

एमाले महाधिवेशनबाट अध्यक्षमा ओली सर्वसम्मत रूपमा नै दोहिरिन चाहन्थे। एमालेले महाधिवेशनका कार्यक्रम तय गरेदेखि नै ‌ओलीले आफू सर्वसम्मत रूपमा दोहोरिने दाबी गर्दै आएका थिए। यसका लागि उनले लामो समय कसरत पनि गरेका थिए।

महाधिवेशन उद्घाटन कार्यक्रममा नै सहमति र एकताका साथ नयाँ नेतृत्व चयन हुने दाबी दोहोर्‍याएका ओलीले शुक्रबार राति बसेको केन्द्रीय कमिटी बैठकबाट नै आफूलाई केन्द्रमा राखेर विधान संशोधन गराए। ओलीले नेता व्यवस्थापनका लागि पोलिट व्युरोको संरचना पनि ब्युँताउँदै पदाधिकारी र केन्द्रीय कमिटी सदस्य संख्या बढाउने निर्णय समेत गराए।

शनिबार बिहानदेखि नै सर्वसम्मतिको प्रयासमा लागेका ओली समूहभित्रै विवाद सिर्जना भयो। उनले पाँच घण्टा ढिलो गरी बन्द सत्र सुरु गरे। बन्द सत्रमा कार्यकर्ताको मन बहलाउन र सर्वसम्मतमा आफूले भनेअनुसार नै अघि बढ्न मनोवैज्ञानिक दबाब सिर्जना गर्न भनेका थिए, ‘म कति बाँच्छु भन्‍न सक्दिनँ, धेरैपटक मरेर बाँचेर आएको छु, तपाईंहरुलाई देखेरै मलाइ निद्रा लाग्छ खाना रुच्छ र देशको भविश्य सुरक्षित देख्छु। त्यसैले पार्टीभित्र एकता कायम गरौं र विपक्षीहरुसँग प्रतिपक्षसँग प्रतिस्पर्धा गरौं।

मंसिर ११ गते नै उम्मेदवारी मनोनयन गर्ने भनेको एमालेमा भीम रावललगायतका नेताहरूले निर्वचान गराउनैपर्ने अडान राखेपछि ओली निर्वाचनमा जान बाध्य भएका छन्।

निर्वाचन हुने भएपछि अध्यक्षमा भीम रावल, वरिष्ठ उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा टंक कार्कीले उम्मेदवारी दर्ता गराउने भएका छन्।

ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्‍वर पोखरेल र महासचिवमा शंकर पोखरेललाई रोजेका छन्। घनश्याम भुसाल वरिष्ठ उपाध्यक्ष लड्ने भएपछि ईश्वरले प्रतिस्पर्धामा जानुपर्ने भएको छ।

भीम रावलको पर्चा वितरण गरिरहेका कार्यकर्ताहरूलाई बाहिर निकालिए। महाधिवेशन प्रतिनिधिहरूलाई रावल निकट युवाहरूले तस्बिरसहितको सानो पुस्तिका वितरण गरिरहेका थिए।

पर्चा बाँड्दै मूल गेटसम्मै पुगेका रावल पक्षका कार्यकर्ताहरूलाई एमाले स्वयंसेवकहरूले पर्चा बाँड्न नपाइँने भनेर निकालेका थिए।

‘मेरो उम्मेदवारी किन’ लेखिएको हाते पुस्तिका रावल निकट कार्यकर्ताले बाँडेका थिए। एमालेको १०औं महाधिवेशनमा पदाधिकारी वा केन्द्रीय सदस्यका आकांक्षी कसैले पनि पर्चा पम्प्लेट बाँड्न नपाउने गरी आचार संहिता जारी गरिएकाले उनीहरूलाई बाहिर निकालिएको एक स्वयंसेवकको भनाइ थियो।

पूर्व माओवादीलाई २ पदाधिकारी ४० केन्द्रीय सदस्य

नेकपा एमालेका नेता रामबहादुर थापा ुबादलुसहित पूर्वमाओवादीबाट आएका नेताहरूलाई मिलाएर लैजान केपी शर्मा ओली तयार भएका छन्। तीन जना पदाधिकारीमा दाबी गर्दै आएको पूर्वमाओवादी खेमालाई दुई जना पदाधिकारी दिन ओली तयार भएका हुन्।

पूर्वमाओवादी खेमालाई एक जना सचिव र एक जना उपाध्यक्ष दिन ओली सहमत भएका छन्। यसरी सहमति भएको अवस्थामा बादल पार्टीको उपाध्यक्ष बन्ने तयारीमा छन् भने टोपबहादुर रायमाझी र लेखराज भट्टले सचिवमा दाबी गरिरहेका छन्। यसका साथै स्थायी कमिटीमा समेत दुई जना सदस्य दिने सहमति भएको बताइएको छ।

यसका साथै ४० जना केन्द्रीय सदस्य पनि पूर्व माओवादी खेमाले पाउने भएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width