जेसिजको प्रशिक्षक प्रशिक्षण सुरु

आदर्श समाज सम्वाददाता
मंसिर १२, २०७८
jesis

लमजुङ । जेसिजको तीनदिने राष्ट्रिय प्रशिक्षक प्रशिक्षण यहाँ सुरु भएको छ । प्रशिक्षणमा मुलुकका विभिन्न जिल्लाबाट ५१ जना सहभागी भएका छन् ।
जेसिज वर्ष २०२१ राष्ट्रिय समितिको आयोजना तथा लमजुङ जेसिजको आतिथ्यतामा सञ्चालन भएको प्रशिक्षणको जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले उद्घाटन गरे । उनले आत्मविश्वासका साथ अघि बढेमा युवाहरू परिवर्तनका वाहक हुन सक्ने बताए ।
संस्थाका अध्यक्ष अरुणेश्वर खनालले युवाका लागि व्यक्तित्व, सामाजिकता, वैदेशिकता र आर्थिक क्षेत्रमा काम गर्न नेतृत्व क्षमताको विकास गरेर समाज रुपान्तरणमा जेसिजमा आवद्ध युवाहरूमा उर्जा भर्ने उद्देश्यले प्रशिक्षक प्रशिक्षणको आयोजना गरेको बताए । उनले यहाँबाट प्रमाणपत्र लिएपछि कम्तीमा ५ वटा कक्षा सञ्चालनका लागि अवसर दिएर सहभागीको क्षमतामा निखारता ल्याउने कार्यक्रम सुनाए ।
प्रमुख प्रशिक्षक जेसिजको पूर्वराष्ट्रिय अध्यक्ष राजु केसीले विगतका वर्षका भन्दा प्रशिक्षणमा फरकशैलीका सामग्री समावेश गरेर सहभागिता र प्रयोगात्मक विधिबाट प्रशिक्षण सञ्चालन गर्ने जानकारी दिए । उनले भने, ‘अनुशासन, आत्मबल र विषयप्रतिको लगाव ठूलो विषय हो त्यसका आधारमा सहभागीलाई प्रमाणपत्र दिइने छ ।’
कार्यक्रममा संस्थाका कार्यकारी उपाध्यक्ष शिव भुषालले यो प्रशिक्षण थप लिडर बनाउने अभियान हो भने । उक्त कार्यक्रममा निरुपित कार्यकारी उपाध्यक्ष भोजराज चौलागाईं, प्रशिक्षक दीपेन्द्र निरौला, राष्ट्रिय कोषाध्यक्ष शोभा भुजेल लगायतको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा लमजुङ शाखा अध्यक्ष विकास श्रेष्ठले स्वागत, उक्त प्रशिक्षणका संयोजक लमजुङ जेसिजका कोषाध्यक्ष सूर्य गुरुङले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन लमजुङ जेसिजका पूर्वअध्यक्ष अनुज अधिकारीले गरेका थिए ।
सो अवसरमा लमजुङ जेसिजको मातृशाखा व्यास जेसिजले उक्त कार्यक्रमको सहयोगार्थ २५ हजार रुपैयाँ लमजुङ शाखालाई हस्तान्तरण गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width