माओवादी पालिका अधिवेशन : मादीमा तोरण, अन्त टुंगो लागेन

आदर्श समाज सम्वाददाता
मंसिर १२, २०७८
maoist by durga

तोरण गुरुङ

पोखरा । नेकपा (माओवादी केन्द्र) मादी गाउँपालिकामा तोरण गुरुङको अध्यक्षतामा नयाँ कमिटी घोषणा भएको छ । कमिटी उपाध्यक्षमा रुद्र रानाभाट, एंगेल्स गुरुङ र नन्दश्री गुरुङ । सचिवमा बेलबहादुर विश्वकर्मा, सहसचिवमा सन्तोष अधिकारी र कोषाध्यक्षमा कल्याणी दाहाल चयन भए । अहिले ५० सदस्यीय कमिटी घोषणा भएको र पछि थप ५ जना महिला मनोनीत हुने माओवादी कास्कीका सचिवालय सदस्य लालबहादुर गुरुङले जानकारी दिए । सोही कार्यक्रमबाट ९ जना गण्डकी प्रदेश प्रतिनिधि पनि छनोट भएका छन् ।
अन्य पालिकामा नेतृत्व टुंगिएको छैन । शनिबार दिनभर छलफल भए पनि सहमति नजुटेपछि पोखराको अधिवेशन स्थगित गरिएको छ । जिल्ला संयन्त्र नरहने भएपछि महानगरलाई नेताहरुले बढी महत्वका साथ हेरेका छन् । त्यसैले हाल जिल्लामा नेतृत्व गरेका वा पदाधिकारीमा रहेका नेताहरु समेत महानगरको अध्यक्ष बन्न सक्ने बताइन्छ । अन्नपूर्णमा नेतृत्व चयन नभएपछि सदस्य मात्रै छान्ने कसरत थालिएको छ । ५५ जनाको कमिटी मनोनीत गरेर सोही कमिटीले पदाधिकारीको टुंगो लगाउने माओवादीले जनाएको छ । यहाँ धर्म तमु, इन्द्र भण्डारी र भेषराज पौडेल लगायत अध्यक्षको दावेदार छन् ।

माछापुच्छ्रे गाउँपालिकामा पनि नेतृत्वमा सहमति जुट्न सकेन । बैकुण्ठ भण्डारी, गोपाल पोखरेल र सुनिल दाहाल अध्यक्षको दावेदार छन् । सबैले आफ्नो दाबी नछोडेपछि ४१ सदस्यीय कमिटी गठन गरेर सोही कमिटीले पदाधिकारी चयन गर्ने तयारी छ ।
रुपामा पनि ५५ सदस्यीय कार्यसमिति बनाउने र सोही समितिले पदाधिकारी टुंगाउने सहमति भएको छ । शनिबार पदाधिकारी टुंगाउन नभ्याएपछि एक साताका लागि स्थगित गरिएको हो । पहिलो बैठकबाट पदाधिकारी छिनोफानो हुने माओवादी केन्द्र रुपा कमिटीले जनाएको छ । नवराज बराल लगायत अध्यक्षको दावेदार छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट पालिका अधिवेशन उद्घाटन गरेका हुन् ।
महानगर कमिटीको अधिवेशनलाई विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले पोखरा सभागृहमा उद्घाटन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width