कांग्रेस कास्की सभापतिमा दोस्रो पटककाे मतदानमा १९२६ मत खस्यो, गणना केहीबेरमा

आदर्श समाज सम्वाददाता
मंसिर ११, २०७८
kisor

पोखरा, ११ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत कास्कीमा नेतृत्वका लागि शनिबार पुनः मतदान भएको छ । प्रतिस्पर्धामा रहेका ५ उम्मेदवारबीच यसअघि शुक्रबार भएको मतदानमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि बढी मत ल्याउने किशोरदत्त बराल र सुदीपमोहन भट्टराईबीच पुनः मतदान भएको हो ।

दोस्रो दिनको मतदानमा १ हजार ९ सय २६ मत खसेको निर्वाचन समितिले जनाएको छ । कुल २ हजार ८८ मतदातामध्ये बिहान १० देखि दिउँसो ४ बजेसम्म भएको मतदानमा १ हजार ९ सय २६ मत खसेको हो । पहिलो दिन २ हजार २५ जनाले मतदानमा भाग लिएकोमा ४७ मत बदर भएको थियो ।

शुक्रबार मध्यरातमा सकिएको मतगणनामा सबैभन्दा बढी मत ल्याउने बरालले ६ सय ४४ र दोस्रो हुने भट्टराईले ४ सय ६९ मत पाएका थिए । त्यस्तै, तेस्रो स्थानको मत ल्याउने आईबहादुर गुरुङको दोस्रो मत ल्याउने भट्टराईको तुलनामा मात्र ७ मत कम थियो । त्यस्तै चौथो र पाँचौ स्थानमा रहेका पोषनाथ शर्माले ३ सय ३५ र गिरिराज गौतमले मात्र ६३ मत पाएका थिए।

शनिबार भएको मतदानको गणना साँझ ७ बजेदेखि सुरु हुने तयारी छ । शनिबार सभापतिसहित सबै पदाधिकारीको पनि गणना हुनेछ । अघिल्लो दिन सभापतिको मात्र गणना भएको थियो।

यसैबीच, सभापतिको दौडबाट बाहिरिएका ३ उम्मेदवारले आफूहरुको समर्थन सुदीपमोहन भट्टराईलाई रहेको घोषणा गरेका छन् । उनीहरुले मतदान सुरु हुनुपूर्व भट्टराईलाई समर्थन गर्न सार्वजनिक अपिलसमेत जारी गरेका थिए।
कांग्रेसको संशोधित विधान अनुरुप सभापतिमा निर्वाचित हुन ५० प्रतिशत मत कटाउनै पर्ने बाध्यता छ।

Related News

सम्बन्धित समाचार

hero news full width