कांग्रेस कास्कीमा कसैको पुगेन बहुमत, किशोर र सुदीपबीच पुनः मतदान हुने

आदर्श समाज सम्वाददाता
मंसिर ११, २०७८
kisor

पोखरा, १० मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत कास्की जिल्ला सभापतिको लागि शुक्रबार भएको मतदानमा कसैले पनि बहुमत ल्याउन सकेनन् । ५ जना प्रतिस्पर्धी रहेकोमा किशोरदत्त बराल र सुदीपमोहन भट्टराईबीच शनिबार पुनः मतदान हुने भएको छ ।

२ हजार २५ मतमध्ये सर्वाधिक मत ल्याएका बरालले ६ सय ४४ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी भट्टराईले ४ सय ६९ मत ल्याए । तेस्रो रहेका आइबहादुर गुरुङले ४ सय ६२ मत प्राप्त गरे । पोषनाथ शर्माको ३ सय ३५ र गिरीराज गौतमको ६३ मत छ । ४७ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

सभापति चयनका लागि दोस्रो पटक शनिबार हुने मतदानमा सबै क्षेत्रीय प्रतिनिधि र वडा सभापतिहरुले मतदान गर्नेछन् । उपसभापतिका लागि भने कम्तीमा ५ वर्ष निरन्तर कांग्रेसको क्रियाशील सदस्य भएको हुनुपर्ने व्यवस्था छ । चुनावले २ उपसभापति, २ सचिव र २ सहसचिव निर्वाचित गर्ने छ । कोषाध्यक्ष भने सभापतिले जिल्ला कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट १ जनालाई मनोनीत गर्नेछन् ।

कांग्रेसको संशोधित विधान अनुसार सभापति हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्ने बाध्यकारी व्यवस्था छ।

Related News

सम्बन्धित समाचार

hero news full width