कांग्रेस महाधिवेशन : जिल्ला र प्रदेशमा धमाधम उम्मेदवारी घोषणा

प्रकाश ढकाल
मंसिर ९, २०७८
congress~prakash

पोखरा । पोखरामा बुधबार पत्रकार सम्मेलन गरेर नेता देवराज चालिसेले गण्डकी प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गरे । ‘नेपाली राजनीतिले नयाँ परिभाषा मागेको छ । कांग्रेसमा २१ औं शताब्दीको पार्टीलाई हाँक्ने नेता खोजी गरेको छ । केन्द्रमा पनि नयाँ नेतृत्व खोजी गरिरहेको छ, जसले विगतको गल्ती नगरोस्,’ उनले भने, ‘हामीले पार्टीभित्र प्रशासक होइन, सिर्जना गर्ने नेता खोजिरहेका छौं । नयाँ उत्साह ल्याउने नेता खोजिरहेका छौं ।’
कास्कीका आफू पक्षीय क्षेत्रीय र महाधिवेशन प्रतिनिधिहरु भेला पारेर उनले पार्टी सभापति शेरबहादुर देउवाविपरीत प्यानल बनाउने घोषणा गरे । ‘राजनीतिमा वंशवाद हावी हुनुहुँदैन । जन्मको आधारमा होइन, नेता जनताको बीचबाट निर्माण हुनुपर्छ,’ उनले थपे, ‘पार्टीलाई परिवर्तनको पक्षमा उभ्याउन यो उम्मेदवारी हो । म कुनै हालतमा पछि हट्दिनँ । विभिन्न जिल्लाको समर्थन पाएको छु ।’ उनले आफ्नो नेतृत्वको प्यानल भने १४ गतेसम्म घोषणा गर्ने बताएका छन् । चालिसे केन्द्रमा शेखर कोइरालानिकट मानिन्छन् । उनी धेरै समयदेखि सभापति देउवाको ठाउँमा नयाँ नेतृत्व ‘रिप्लेस’ हुनुपर्ने आवाज उठाइरहेका छन् । चालिसेले प्रदेश नयाँ संरचना भएकोले नयाँ निर्माण गर्ने क्षमता भएको नेतृत्व आवश्यक रहेको सुनाए ।
‘भूतपूर्वका बिल्ला भिरेर योग्यताको मापन हुँदैन । समाजलाई बदल्न आफै बदलिनुपर्छ । यो प्रचूर सम्भावना बोकेको प्रदेश हो । यसको नेतृत्व भिजनरी हुनैपर्छ,’ उनी भन्छन्, ‘राजनीतिको माध्यमबाट सरकारमा लैजाने र सरकारको माध्यमबाट परिवर्तनमा लैजानुपर्छ । आजभोलि चुनाव प्रधान कि नीतिप्रधान भन्ने बहस कायम छ । अधिवेशन मुलत व्यक्तिकेन्द्रित हुन गएको छ । पराम्परागत शक्ति केन्द्रभन्दा बाहेक कार्यक्रमलाई केन्द्रविन्दु बनाएर नयाँ अभ्यासको थालनी गर्न लागेको हो । रुपान्तरणका लागि मेरो उम्मेदवारी हो ।’
गण्डकी प्रदेश सभापतिमा चालिसेमात्रै होइन, कास्कीबाटै ३ जना नेताको नाम चर्चामा छ । पुराना नेता शुक्रराज शर्मा र पूर्व मन्त्री यज्ञबहादुर थापा सभापतिका लागि केन्द्रीय ‘आशीर्वाद’ कुरेर बसेका छन् । लामो समय पौडेल समूहको राजनीतिमा सक्रिय शर्मा अहिले देउवानिकट मानिन्छन् भने थापा अझै पौडेल समूहमै छन् । त्यसो त गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल पनि सभापतिका आकांक्षी हुन् । उनी महामन्त्री डा. शशांक कोइरालाका विश्वास पात्र हुन् । तनहुँका रघुनाथ पौडेलले समेत सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । उनले पोखरामा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गर्ने बताएका छन् । साथै गोरखाका सुरेन्द्र पाण्डे र पर्वतका अर्जुन जोशी पनि प्रदेश सभापतिको लाइनमा छन् ।

जिल्ला सभापतिको उम्मेदवार टुंगिएनन्

कास्की कांग्रेसको इतिहासमा पहिलो पटक महिला सभापतिको आकांक्षी बनेकी छिन्–सरस्वती गुरुङ । कास्की १ बाट आदिवासी जनजाति महिला कोटामा महाधिवेशन प्रतिनिधि निर्वाचित उनले जिल्ला सभापतिमा उम्मेदवारी दिने घोषणा सामाजिक सञ्जालमार्फत गरेकी हुन् ।
‘महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिंदा हजुरहरूले देखाउनुभएको सद्भाव, साथ र समर्थन मेरा लागि अमूल्य रह्यो । म तपाईंहरूको विश्वासप्रति नतमस्तक छु । महाधिवेशन प्रतिनिधि बनेपछि राजनीतिको माथिल्लो उम्मेदवारीको गेट पनि स्वतः खुला हुन्छ,’ उनले भनिन्, ‘म धेरै सल्लाह र छलफलपछि कास्की जिल्लाको सभापति पदमा उम्मेदवारी दिने निर्णयमा पुगेकी छु । कास्कीमा महिला सभापतिको नयाँ इतिहास निर्माण, तपाईंहरुको विश्वास र भरोसाको पार्टी बनाउन नेतृत्वमै जाने सोच बनाएँ ।’
मंसिर १६ गते हुने प्रदेश अधिवेशनमा उम्मेदवारी घोषणा भइरहँदा १० गतेको जिल्ला अधिवेशनका उम्मेदवार चर्चा भने खासै छैन । जिल्ला सभापतिकै लागि पोषनाथ शर्मा, सुदीपमोहन भट्टराई, आइबहादुर गुरुङ, किशोरदत्त बराल, गिरीराज गौतम लगायतको चर्चा छ । प्रदेशमा जान बाटो नखुले अहिलेका सभापति कृष्ण केसीले कार्यकाल दोहो¥याउने सम्भावना पनि उत्तिकै छ ।
यद्यपि उनीहरुले सार्वजनिक घोषणा भने गरेका छैनन् । कास्कीको अधिवेशनमा केन्द्रीय नेतृत्वको ‘छाया प्यानल’ बन्ने पक्का छ । उम्मेदवारी घोषणा गरेकी गुरुङ र अर्का आकांक्षी बराल देउवानिकटका छन् । अरु भने पौडेल र अन्य नेताहरुको नजिक मानिन्छन् ।
पार्टी उपसभापतिमा रंगीला पौडेल आचार्य र सचिवमा विद्यार्थी नेता भानु ढकालले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
कास्कीमा बिहीबार मनोनयन दर्ताको कार्यतालिका छ । प्रदेश अधिवेशन भने मंसिर १६ लाई तोकिएको छ ।

Related News

सम्बन्धित समाचार

  • वर्षाले हिलाम्मे पोखरा प्रवेशमार्ग

    धनबहादुर गुरुङ चैत्र १६, २०८०
    पोखरा ।  पर्यटकीय राजधानी पोखरालाई संघीय राजधानी सहरसँग जोड्ने पृथ्वी राजमार्ग स्तरोन्तति कार्य जारी नै छ । आँबुखैरेनी–पोखरा करिब ८०…
  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…

hero news full width