बालधाराको अस्तित्व जोगाउन स्थानीय सक्रिय, सरकारी निकायबाट भएन सहयोग

धनबहादुर गुरुङ
मंसिर ९, २०७८
Baldhara Photo 1

पोखरा । पोखराका स्थानीय १ सय वर्ष अघि पानीकै लागि सयौं मिटर हिँड्नुपथ्र्यो । १९५५ ताका बनेको नालामुखको ढुंगे धाराबाहेक अन्य ठाउँमा पानीको मुहान थिएन । उतिबेला पोखराको पुरानो बजार मानिएको भैरवटोल, तेर्सापट्टि, नालामुखलगायत विभिन्न स्थानबाट धारापानी, लक्ष्मीधारा, फिर्केसम्म पानी भर्न जान्थे । पानी लिनका लागि मुख्यबजार छोडेर गएपछि बाँकी जंगल, झाडीको बाटो हिँड्नुपथ्र्यो । जंगली जनावरको निकै डर थियो । महिला, केटाकेहीहरुलाई त झनै सकस थियो ।
पानीकै लागि संघर्ष खेपेका पोखरेलीका लागि १९७७ सालपछि भने एकाएक खुसीका दिन सुरु भए । तत्कालीन समयका सैनिक कमान्डर इन चिफ बबर शमशेर राणाले पोखरामा धारा बनाइदिए । उनका छोरा बालनरसिंह राणाको १४ वर्षको उमेरमा मृत्यु भएको थियो । उनै बबर शमशेरले छोरोको सम्झनामा १४ वटा धारा निर्माण गरेका हुन् । उनले बेलायत गएर खानेपानीको योजना बनाएको संस्कृतविद् अष्टमान प्रधानांगले बताए । ‘छोराको मृत्युपछि स्थानीयले खानेपानीको बारेमा सुझाएपछि बबर शमशेर बेलायत गएछन्,’ उनले भने, ‘बेलायतबाट नै खानेपानीका इन्जिनियरहरु, धारा, पाइप ल्याएको हो ।’ सामान र इन्जिनियर ल्याएपछि कीर्तिपुर बाघभैरवका प्लम्बर बैकुण्ठलाल श्रेष्ठलाई पोखरा झिकाएर योजना सफल बनाएको उनी बताउँछन् । अहिलेको पोखरा ५ धारापानीमा २ वटा टंकी बनाएर पोखराको १४ स्थानमा बालधारा निर्माण गरी पोखरेलीलाई पानी खुवाएको प्रधानांगले सम्झिए ।
पोखरेलीको तिर्खा मेटाएको बालधारा अहिले जीर्ण अवस्थामा छन् । १४ स्थानमा बनाइएका र इतिहास बोकेको धारा नष्ट हुने अवस्थामा छन् । केही धाराको अवशेषमात्र बाँकी रहने अवस्था रहेको प्रधानांग बताउँछन् । त्यो बेला पोखरा १ को बागबजार चोक, पोखरा २ विन्ध्यवासिनी परिसर, मोहरिया टोल, भीमसेन टोल, भैरव टोल, नालाको मुख, तेर्सापट्टि, पालिखेचोक, शोभाभगवती मन्दिर, सिद्धार्थचोक, गैह्रापाटन चोक, सिमलचौर, र रानीपौवा (पुरानो धारा) मा बालधारा बनेका थिए । तीमध्ये केही जीर्ण छन् भने केहीको अस्तित्व मेटिसकेको छन् । बालधारा नै पोखरामा पहिलो पटक फलामको पाइपबाट पानी ल्याएर सार्वजनिक कलधारा निर्माण भएको स्थानीयको दाबी छ ।

१४ स्थानमा बनाइएका र इतिहास बोकेको धारा नष्ट हुने अवस्थामा छन्

इतिहास बोकेका बालधाराहरु संरक्षणमा धेरैको ध्यान नगए पनि केही टोल विकास संस्था र व्यक्तिहरुले चासो देखाएका छन् । बालधारा बनेको सय वर्ष पुगेको अवसरमा स्थानीय सुनील उलकको संयोजकत्वमा ‘बालधारा संरक्षण अभियान समिति’ गठन भएको थियो । जसमा राजन श्रेष्ठ, सूर्य क्षेत्री, विष्णुहरि अधिकारी सदस्य थिए । समितिले प्रभावकारी रुपमा काम भने गर्न सकेन् । संरक्षणका लागि सम्बिन्धत निकायबाट सकारात्मक प्रतिक्रिया वा सहयोग नआएको समितिको गुनासो छ । आर्थिक स्रोत र आवश्यक सरकारी समन्वय अभाव कै कारण काम रोकिएको संयोजक उलकले बताए ।
संयोजक उलककै सल्लाह र सहयोगमा मोहरिया टोल भैरव टोल विकास संस्थाले बालधारा संरक्षण अभियान अघि बढाएको छ । सरकारी तबरबाट सहयोग नआए पनि आफूहरु संरक्षण अभियानमा जुटेको भैरवटोल बालधारा संरक्षण समितिका संयोजक बिकल बड्गामीले जानकारी दिए । वडा नम्बर २ बाट सहयोगको आश्वासन आएपछि स्थानीयको सहयोग र सक्रियतामा काम अघि बढेको उनले बताए । धारा दुरुस्तै राखेर छेउछाउमा ढुंगे धारा थप गरी आकर्षक बनाउने काम भइरहेको बडगामीको भनाइ छ । अहिलेसम्म ९५ प्रतिशत काम सकिसकेको उनी बताउँछन् । ‘धारा संरक्षण गर्न हामीले संघ, प्रदेश, महानगरपालिका र वडालाई पत्र बुझाएका थियौं, सहयोग आएन, वडाध्यक्ष ज्यूले दिन्छु भन्नु भएको छ,’ उनले भने, ‘अहिले सम्म करिब २ लाख खर्च भइसकेको छ, सबै पोखराभन्दा बाहिर बस्ने र यहीको स्थानीयले आर्थिक सहयोग गर्नुभएको हो ।’
मोहरिया टोल र भैरव टोलभित्र रहेका इतिहास बोकेका क्षेत्रहरुको संरक्षण गर्दै निशुल्क संग्रहालय बनाउने योजना रहेको मोहरिया टोल भैरव टोल विकास संस्थाका अध्यक्ष सबिन उदासले जानकारी दिए । ‘यहाँ विशेष गरी चाइनिज र जापानिज पर्यटकहरुको घुइँचो हुन्छ, अन्य देशका र नेपालकै धेरै पाहुनाहरु हेर्न आउनुहुन्छ,’ उनले भने, ‘यहाँ आउने पर्यटकहरुका लागि पनि हामीले यस्ता ऐतिहासिक वस्तुहरु संरक्षण गर्न जरुरी छ ।’ बालधाराको पानी खानेमध्येको एक बनाउने उनी २०६५ सालसम्म धारामा पानी आइरहेको सम्झन्छन् । सरकारले आर्थिक सहयोग नगरे पनि हौसलासम्म नदिएकोमा उनको गुनासो थियो । ‘सरकारले आर्थिक सहयोग त गरेन, हौसलासम्म दिएको छैन,’ उनले भने, ‘हामीले गरेको यो कामको कति धेरैले राम्रो भनेको छ तर सरकारबाट धन्यावादको शब्द पनि आएको छैन ।’

Related News

सम्बन्धित समाचार

hero news full width