कास्कीमा कांग्रेस क्षेत्रीय निर्वाचन : सभापतिसहित महाधिवेशन प्रतिनिधि छानिए

आदर्श समाज सम्वाददाता
मंसिर ७, २०७८
Congress

पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत कास्कीमा क्षेत्रीय कार्यसमिति र केन्द्रीय महाधिवेशन प्रतिनिधि छानिएका छन् । मंगलबार प्राप्त मतगणनाअनुसार कास्कीका ३ वटै क्षेत्रमा कार्यसमिति चयन भएका छन् । क्षेत्र १ र २ बाट महाधिवेशन प्रतिनिधिको टुंगो पनि लागिसकेको छ भने क्षेत्र ३ मा गणना भइरहेको छ । कास्की क्षेत्र १ बाट क्षेत्रीय सभापतिमा राजेन्द्रमणि लामिछाने, २ बाट केशरप्रसाद निर्दोषी र ३ बाट मनोज गुरुङ निर्वाचित भएका छन् ।
कास्की क्षेत्र १ सभापतिमा राजेन्द्रमणि लामिछाने भारी मतसहित विजयी भएका हुन् । उनले निकटतम प्रतिस्पर्धी बुद्धिमान गुरुङलाई फराकिलो १ सय २८ मतान्तरले पराजित गरेका हुन् । लामिछानेले ४ सय ५८ मत पाए भने गुरुङको ३ सय ३० मत छ ।
निर्वाचित लामिछाने कांग्रेस पोखरा महानगरका निवर्तमान उपसभापति र तत्कालीन लेखनाथ नगर सभापति हुन् । समिति सचिवमा सरोज केसी र ओमप्रकाश गुरुङ विजयी भएका छन् । केसीले ४ सय ५६ र गुरुङले ४ सय १८ मत प्राप्त गरे । सहसचिवमा सुजता गुरुङ र मोती गिरी विजयी भएका छन् ।
कास्की क्षेत्र २ सभापतिमा केशरप्रसाद निर्दोषी निर्वाचित भए । उनले निकटतम प्रतिस्पर्धी पुण्डरीप्रसाद बरालाई १७ मतान्तरले हराएका हुन् । निदोर्षीले २ सय ४७ मत प्राप्त गर्दा बरालले २ सय ३० मत ल्याए । सचिवमा देवकृष्ण पराजुली र नरेन्द्र अधिकारी निर्वाचित भए । सहसचिवमा भावना श्रेष्ठ र विश्वराज आचार्य विजयी भए ।
प्रत्यक्ष खुला सदस्यमा कृष्णप्रसाद सिग्देल, तारा गिरी र शारदाराज चालिसे, समानुपातिक अपांग कोटाबाट विष्णु सिग्देल विजयी भएका छन् ।

कास्कीबाट क्षेत्रीय सभापतिमा राजेन्द्रमणि लामिछाने, केशरप्रसाद निर्दोषी र मनोज गुरुङ निर्वाचित भएका हुन्

कास्की क्षेत्र ३ सभापतिमा मनोज गुरुङ निर्वाचित भए । उनी ३ सय ८३ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी खिमलाल बास्तोलाले ३ सय १७ मत प्राप्त गरेका छन् । निर्वाचित गुरुङ तरुण दल कास्कीका सभापति हुन् । यसैगरी, सचिवमा मेखबहादुर तामाङ र लक्ष्मीप्रसाद पौडेल तथा सहसचिवमा शीतल अधिकारी र आइन्दल गुरुङ निर्वाचित भए । दुवै पदमा ४ जना उम्मेदवार थिए । प्रदेशसभा (क) बाट महिलामा लीला तिमिल्सिना, खुलामा दानबहादुर थापा र तीर्थबहादुर थापा निर्वाचित भए भने प्रदेशसभा (ख) बाट महिलामा गंगा गिरी तथा खुलाबाट देउकाजी गुरुङ र यज्ञराज पौडेल निर्वाचित भएका छन् ।
प्रतिनिधिसभा खुला सदस्यमा खिमलाल पहारी, राजेन्द्रप्रसाद बास्तोला र सिर्जना श्रेष्ठ, खस आर्य महिला सदस्यमा निर्मला अधिकारी, खस आर्य खुलाबाट गोपालप्रसाद पराजुली र एकनारायण पौडेल, आदिवासी जनजाति महिला राधादेवी गुरुङ र आदिवासी जनजाति खुलाबाट आशबहादुर गुरुङ, दलितबाट भरतबहादुर विक र अपांग कोटाबाट शोभाखर अधिकारी निर्वाचित भए ।

जिल्ला सभापतिका दावेदार पराजित
नेपाली कांग्रेस कास्कीको जिल्ला सभापतिको दाबी गरिरहेका कृष्ण कार्की महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् । १३ औं महाधिवेशनमा केन्द्रीय कोषाध्यक्षमा उम्मेदवारी दिएर चर्चा कमाएका कार्की कास्की १ बाट महाधिवेशन प्रतिनिधिमै पराजित भएका हुन् ।
कास्की क्षेत्र १ बाट तारानाथ रानाभाट, कृष्णबहादुर केसी, सुदीपमोहन भट्टराई, यज्ञबहादुर थापा, विकाश लामा गुरुङ, किशोरदत्त बराल, होमबहादुर बसेल, तिलक रानाभाट, गिरीराज गौतम र शिरोमणि बराल महाधिवेशन प्रतिनिधि बनेका छन् ।
यस्तै, महिला खुलातर्फ कोपिला रानाभाट, माया बराल, नीशा मल्ल र संज्ञा पोखरेल निर्वाचित भए भने खस आर्य महिलामा दुर्गा लामिछाने र शान्तिकुमारी खनाल, खस आर्य खुलामा नरेन्द्र थापा र सुरजजंग राणा, आदिवासी जनजाति महिलामा सरस्वती गुरुङ र गीमाया गुरुङ, आदिवासी खुलामा दीपक गुरुङ र डम्बरजंग गुरुङ, दलित महिलामा सरस्वती सार्की, अल्पसंख्यकबाट मोहनकुमार प्रधान निर्वाचित भएका छन् ।
क्षेत्र २ बाट गण्डकी प्रदेशका मन्त्रीद्वय विन्दुकुमार थापा र कुमार खड्कासहित देवराज चालिसे, वीरेन्द्रनारायण विजुक्छे, शोभियतबहादुर अधिकारी, माधवप्रसाद बास्तोला, ऋषिराम काफ्ले, विजयराज आचार्य, गुरु बराल र अर्जुन पोखरेल निर्वाचित भएका छन् । खुला महिलाबाट कुमारी मुना बास्तोला, नम्रता बराल, लक्ष्मी पाण्डे र रंगीला आचार्यले बाजी मारे । खस आर्य महिलाबाट मिलन थापा र कोपिला तिवारी, खस आर्य खुलाबाट किरण केसी, मदन बस्नेत र मुकुन्द बास्तोला, आदिवासी जनजाति महिलामा तीर्थकुमारी गुरुङ र सुनयना पालिखे, आदिवासी खुलामा आशिक गुरुङ र निर्मल कर्माचार्य निर्वाचित भएका छन् । दलित कोटाबाट अर्जुन विश्वकर्मा र मधेशी, मुस्लिम, अल्पसंख्यक र अपांग कोटाबाट राधाकृष्ण गुरुङ चयन भए ।
महधिवेशन प्रतिनिधि निर्वाचित भएकामध्ये कृष्ण केसी, किशोरदत्त बराल, सुदीपमोहन भट्टराई लगायत जिल्ला सभापतिका दावेदार हुन् । क्षेत्र ३ को नतिजा आउन बाँकी छ । निर्वाचनका लागि आइतबार मनोनयन र सोमबार मतदान भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width