Worldlink ads

उच्च शिक्षामा प्रतिविद्यार्थी ३७ हजारभन्दा बढी लगाानीः लगानीअनुसारको प्रतिफलमा कमी   

आदर्श समाज सम्वाददाता
मंसिर ७, २०७८
school-student-nepal

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले शिक्षामा सरकारले गरेको लगानीअनुसारको प्रतिफल पाउन नसकेको बताउनुभएको छ ।

आज विश्वविद्यालय अनुदान आयोगको २८ औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले शिक्षामा संरचनात्मक ढङ्गले विकास भएको, लगानी पनि बढेको तर शिक्षाको गुणस्तर र प्रगतिमा भने प्रभावकारी प्रतिफल हासिल गर्न नसकेको बताउनुभएको हो ।

सचिव थपलियाले सरकारले ७० प्रतिशत प्राविधिक क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने र ३० प्रतिशत मात्रै सामान्य शिक्षामा देशलाई लगेर अहिलेको आवश्यकताअनुसार शिक्षाको विकास गर्ने भने पनि अहिलेको अवस्था त्यसको ठीक उल्टो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्राविधिक शिक्षातर्फ विद्यार्थीलाई आकर्षित गर्नु आवश्यक छ, चाहिनेभन्दा कम विद्यार्थी भर्ना हँुदै आएका छन्, त्यसैले अब हिजोको ढङ्गले होइन, शिक्षाको विकास र गुणस्तरीयतामा नयाँ ढङ्गले अगाडि जानुपर्ने आवश्यकता आएको छ ।”

सचिव थपलियाले देशमा भएको परिवर्तनसँगै संस्थाका संरचना पनि परिवर्तन हुँदै गएको चर्चा गर्दै कतिपय अनावश्यक संस्था गठन गर्ने, राजनीतिक नियुक्ति गर्ने र अर्को सरकार आएपछि पहिलो काम नै नेतृत्व फेर्ने परम्पराको अन्त्य गर्दै आवश्यकताका आधारमा मात्रै संस्था स्थापना गर्नुपर्ने औँल्याउनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा पुष्परमण वाग्लेले देशमा रहेका ११ विश्वविद्यालय र छ स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रगति र लक्ष्य हासिल भयो कि भएन भनेर मूल्याङ्कन गर्ने बेला आएको बताउनुभयो । चार लाख ५० हजार विद्यार्थीले परीक्षा दिँदा १९ प्रतिशत मात्रै उत्तीर्ण हुनुले उच्च शिक्षाको गुणस्तरीयता माथि औँला उठेको बताउँदै उहाँले सरकारको पञ्च वर्षिय योजनाको लक्ष्य हासिल गर्न र लगानीलाई उपलब्धीमा सुनिश्चितता गर्नु आजको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

आयोगका पूर्वअध्यक्ष प्रा डा कृष्णबहादुर थापाले शिक्षामा सङ्ख्यात्मक वृद्धिभन्दा पनि गुणात्मक वृद्धि आवश्यक रहेको औँल्याउँदै आवश्यकताका आधारमा भन्दा पनि राजनीतिक आधारमा संस्थाको भूमिका निर्वाह हुन नहुने बताउनुभयो । आयोगका अर्का पूर्वअध्यक्ष प्रा डा विदुरप्रसाद उपाध्यायले शिक्षामा लगानी बढ्दै गएपनि गुणस्तरीयता आउन नसक्दा सरकारको ७० प्रतिशत लगानी खेर गइरहेको बताउनुभयो । उहाँले त्रिभुवन विश्वविद्यालयदेखि आङ्गिक क्याम्पससम्मको गुणस्तरीयता खस्किँदा र त्रिचन्द्र क्याम्पसको जीर्ण भवनले गिज्याइरहेको टिप्पणी गर्नुभयो ।

आयोगका अर्का पूर्वअध्यक्ष प्रा डा कमलकृष्ण जोशीले विश्वविद्यालयले नयाँ संरचनाको व्यवस्था गर्दै सोहीअनुरुपको जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता औँल्याउँदै विकास र प्रविधिसँग जोडेर देश चलाउन र समाज परिवर्तन गर्न सक्ने जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।

आयोगका अध्यक्ष प्रा डा भीमप्रसाद सुवेदीले सरकारले अघि सारेको उच्च शिक्षा नीतिको अवलम्बन गर्दै आयोगले गुणस्तर सुनिश्चितताका लागि पहल गरिरहेको बताउनुभयो । उहाँले आयोगले प्रकाशन गरेको पुस्तकको विमोचन पनि गर्नुभयो । आयोगका सचिव प्रा शङ्करप्रसाद भण्डारीले आयोगको २८ औँ वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

त्यसअवसरमा आयोगका उत्कृष्ट कर्मचारी प्रशासनतर्फका देवेन्द्र रावल, प्रनिता उपाध्याय, चालकतर्फका केशवप्रसाद रिजाललाई आयोगका अध्यक्ष सुवेदीले जनही रु पाँच हजार पुरस्कारसहित सम्मान गर्नुभयो । आयोगको वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताको विजयी कर्मचारीलाई पनि पुरस्कार एवं प्रमाणपत्र प्रदान गरिएको थियो ।

सरकारको उच्च शिक्षामा प्रतिविद्यार्थी रु ३७ हजार २५८ लगानी रहेको आयोगले जनाएको छ । चालु आर्थिक वर्षमा सरकारबाट उच्च शिक्षामा प्रतिविद्यार्थी लगानी सबैभन्दा बढी राजर्षिजनक विश्वविद्यालयमा गरिने देखिएको छ भने सबैभन्दा कम पोखरा विश्वविद्यालयमा हुनेछ । त्यस्तै त्रिभुवन विश्वविद्यालयमा अध्ययनरतप्रति विद्यार्थीमा रु २६ हजार ७८० सरकारबाट लगानी रहेको आयोगको प्रतिवेदनले देखाएको छ ।  रासस
–––

Related News

सम्बन्धित समाचार

    • महानायकको रोजाइमा जिप कम्पास

      आदर्श समाज सम्वाददाता मंसिर ११, २०७८
      काठमाडौं । महानायक राजेश हमाल नयाँ जिप कम्पासको साथमा जिपलाइफमा प्रवेश गरेका छन् । हमाल र उनकी श्रीमती मधु भट्टराईले…
    • कास्की मोर्डनाइज्डमा विविध कार्यक्रम

      आदर्श समाज सम्वाददाता मंसिर ११, २०७८
      Ordonnance pour viagra Le fabricant pfizer espère que de maladie cardiaque, de lésion de la moelle épinière et de dépression.…
    • चित्रकलामा राइजिङ स्टारकी सुस्मिता प्रथम

      आदर्श समाज सम्वाददाता कार्तिक २७, २०७८
      पोखरा । लायन्स क्लब अफ पोखरा नर्सेसको आयोजनामा ११ देखि १३ वर्षसम्मका विद्यार्थीहरुको पिस पोस्टर चित्रकला प्रतियोगिता शुक्रबार भएको छ…
    • अरण्यज्योतिमा छठबारे छलफल

      आदर्श समाज सम्वाददाता कार्तिक २५, २०७८
      पोखरा । पोखरा १३ कुँडहरस्थित स्थित अरण्यज्योति पुस्तकालायमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमाझ छलफल कार्यक्रम भएको छ । छठ पर्वको आदिम मान्यता…
    • अनुसन्धान केन्द्रित शिक्षण अभ्यासमा जोड देऊ : मुख्यमन्त्री

      आदर्श समाज सम्वाददाता कार्तिक २२, २०७८
      नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले अनुसन्धान केन्द्रित शिक्षण अभ्यासमा जोड दिनुपर्ने बताएका छन् । गैंडाकोटमा भएको शिक्षा सेवा…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग