कोन सहकारी उत्कृष्ट करदाता

आदर्श समाज सम्वाददाता
मंसिर ७, २०७८
con sahakari

पोखरा । पोखरा १३ भद्रकाली चोकमा रहेको कोन सामुदायिक सहकारी उत्कृष्ट करदाताका रुपमा पुरस्कृत भएको छ । १० औं कर सप्ताहका अवसरमा आन्तरिक राजश्व कार्यालय पोखराले उक्त सहकारीलाई पुरस्कार प्रदान गरेको हो ।

गत आर्थिक वर्षमा ६७ लाख २९ हजार कर तिरेर कोन सहकारी उत्कृष्ट भएको प्रमुख कर अधिकृत रमेश शर्माले बताए । सहकारीमा ४ हजारभन्दा बढी सदस्य छन् । २०५६ सालमा स्थापित सहकारीले वार्षिक साढे २ अर्ब कारोबार गरेको छ ।

गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थले सहकारीका अध्यक्ष तीर्थबहादुर बस्नेतलाई प्रमाणपत्र हस्तान्तरण गरे । कार्यक्रममा प्रमुख सचिव पन्थले पोखरामा करदाताको उत्साह देखेर करप्रशासनमा सुधार आएको सुखद अनुभूति गरेको भनाइ राखे ।

उक्त अवसरमा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष सञ्जीवबहादुर कोइराला, काेन सहकारीका पूर्व अध्यक्ष शरदकान्त सिग्देल लगायतले भनाइ राखेका थिए । कर सप्ताह अन्तर्गत भएको ब्याटमिन्टन प्रतियोगितामा उत्कृष्टलाई उक्त अवसरमा पुरस्कार प्रदान गरिएको छ । उत्कृष्ट कर्मचारीका रुपमा कम्प्युटर अपरेटर दीपक पाैडैल पुरस्कृत भए ।

कार्यक्रममा कर अधिकृत विजय लामिछानेले वस्तुस्थितिका बारेमा जानकारी गराउनुका साथै स्वागत गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width