वित्तीय विभेद नगर्न सहकारी प्रमुखको आग्रह

आदर्श समाज सम्वाददाता
मंसिर ७, २०७८
financial

पोखरा । पोखराका सहकारी प्रमुखहरुले सहकारीलाई वित्तीय विभेद नगर्न आग्रह गरेका छन् । नेपाल राष्ट्र बैंकको वित्तीय साक्षरताअन्तर्गत नीतिगत सुधारका लागि सहकारी र राष्ट्र बैंकबीच सरोकारवालासँगको छलफल कार्यक्रममा उनीहरुले सो आग्रह गरेका हुन् ।
गभर्नर कार्यालयका अधिकारी डा. भागवत् आचार्यले वित्तीय समावेशीकरणका लागि समायानुकूल वित्तीय साक्षरता आवश्यकता छ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएकोे बताए । उनले वित्तीय ढाँचा वा संरचनामा के कस्तो परिमार्जन गर्न आवश्यक छ, त्यस्ता सुझाव अद्यावधिक गर्दै जानेसमेत जानकारी दिए ।
गभर्नर कार्यालयका निर्देशक तथा कार्यक्रमका सहजकर्ता नारायणप्रसाद पोख्रेलले वित्तीय साक्षरता सबैको लागि अपरिहार्य विषय भएको बताउँदै केन्द्रीय बैंकले साक्षरता फैलाउन सहकारीको भूमिका प्रमुखताका साथ हेरेको बताए ।
कार्यक्रममा पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख भीमबहादुर गुरुङले केन्द्रीय बैंकले वित्तीय संरचनामा परिमार्जनमा सहकारीलाई पनि महत्व दिनु गर्वको विषय भएको बताए । उनले सहकारीसँगको सहकार्यमार्फत वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमलाई समाजका निम्न वर्गको पहुँचमा पु¥याउन सहज हुने बताए । साथै सहभागी सरोकारवालाले सरकारले आफ्ना नीति तथा कार्यक्रममा सहकारीलाई तीनखम्बे अर्थनीतिमा राखे पनि कार्यान्वयनमा संकुचन देखिएको हो कि भन्ने आशय व्यक्त गरेका थिए । उनीहरुले शंकास्पद कारोबारको सूक्ष्म अनुमगन नगरी सहकारी संस्थालाई अविश्वसनीय तरिकाबाट नहेर्नसमेत सुझाव दिए ।
कार्यक्रममा पोखराका १७ सहकारी संस्थाका कार्यकारी प्रमुख र प्रबन्धकको सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width