क्लबको सहयोगमा पर्वतका ७७ जनाको निशुल्क आँखा अप्रेसन

आदर्श समाज सम्वाददाता
मंसिर ५, २०७८
eye camps

पोखरा । पोखरा १ शंकर टोलस्थित पोखरा व्यावसायिक महिला क्लबले पर्वतमा निशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।
पर्वतको ढोरपाटन १ स्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजना गरेको शिविर आँखाको परीक्षण पछि समस्या देखिएकाहरुको अप्रेसनसमेत गरिएको थियो ।
क्लबले जर्मनीका माइकल बाउर र साथीहरुसँगै बाडेन बाडेनको आर्थिक सहयोग र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा ३ दिनसम्म शिविर सञ्चालन गरेको थियो । शिविर सञ्चालनका लागि स्थानिय रुपमा ढोरपाटन नगरपालिका, लायन्स क्लब अफ ढोरपाटन, ढोरपाटन चेम्बर अफ कमर्स र बुर्तिबाङ राइजिङ युथ क्लबले सहयोग गरेका थिए ।
बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा आयोजित शिविरमा ८ सय९२ जनाको आँखा जाँच र ७७ जनाको अप्रेसन गरिएको क्लबकी उपाध्यक्ष एंव नि शुल्क आँखा शिविर कार्यक्रमकी संयोजक धनेश्वरी पराजुलीले जानकारी दिइन् । ७७ जनामध्ये ७ जनाको दुवै आँखाको अप्रेशन गरिएको थियो । विगत केही समयदेखि आँखाका कारण समस्यामा परेकाहरु शिविरमा उपचारपछि आँखा देख्न सफल भएका थिए ।
यसअघि कार्यक्रमको उद्घाटन ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले गरेका थिए । कार्यक्रममा क्लबकी उपाध्यक्ष एंव कार्यक्रम संयोजक पराजुली, सचिव इन्दु भट्टराई र सदस्य रजनी श्रेष्ठ लगायत उपस्थित थिए ।
क्लवले यसअघि पर्वतको मोदी गाउँपालिका ७ राम्जाठाँटी स्थित पशुपति माध्यमिक विद्यालय, पोखरा महानगरपालिका १५ स्थित परोपकार गुरुकुल आश्रम, पर्वतको मोदी गाउँपालिका १ सेराबेंसी लगायतका स्थानमा निशुल्क आँखा शिविर सञ्चालन गरिसकेको छ । यसै गरि हिमालय आँखा अस्पताल पोखरालाई करिब ८ लाख बराबरको आँखा जाँच्ने मेसिन सहयोग गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width