कांग्रेस प्रदेश अधिवेशन : कास्कीमा प्यानलका उम्मेदवार निर्वाचित

प्रकाश ढकाल
मंसिर ४, २०७८
COngress THumb

पोखरा । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनअन्तर्गत कास्की जिल्लामा प्रदेश निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । सबै क्षेत्रका सबैजसो पदमा मतदान भएको थियो ।
बिहीबार भएको मनोनयनमा सहमति नजुटेपछि शुक्रबार बिहानैदेखि मतदान भएको हो । प्राप्त मतगणना अनुसार सबै क्षेत्रमा प्यानलका उम्मेदवार विजयी भएका छन् ।
कास्की १ (क) मा दुर्गाप्रसाद सुवेदीले मुराहरि कोइरालालाई पराजित गरी सभापतिमा निर्वाचित भएका छन् । सुवेदीले २ सय २६ मत ल्याउँदा कोइरालाले २ सय ९ मत पाए । उपसभापतिमा निर्मला ढुंगाना र शुकदेव गुरुङ निर्वाचित भए । सचिवमा शिवराज अधिकारी र ध्रुवराज अधिकारी, सहसचिवमा सुवास भण्डारी र विष्णु गुरुङ निर्वाचित भएका छन् ।
समाचार तयार हुँदासम्म कास्की १ (ख) मा मतगणना सकिएको थिएन । यहाँ सभापतिमा अर्जुन गुरुङ र कृष्ण कोइरालाबीच प्रतिस्पर्धा छ । उपसभापति, सचिव र सहसचिवमा पनि प्रतिस्पर्धा भएको छ ।
कास्की २ (क) मा दिनेश आचार्य विजयी भए । उनले १ सय २१ मत पाउँदा निकटतम प्रतिस्पर्धी वर्षाकेशव पराजुलीले ९१ मत ल्याए । उपसभापतिमा माधवप्रसाद बराल र चेतबहादुर महत विजयी भए भने सचिवमा टंकप्रसाद भण्डारी र नारायणप्रसाद शर्मा विजयी भए । सहसचिवमा गीता भण्डारी र केशवराज लामिछाने सर्वसम्मत चयन भैसकेका छन् ।
कास्की २ (ख) सभापतिमा दीपेन्द्र मर्सानीले विजय प्राप्त गरे । उनले १ सय ४२ मत पाए भने निकटतम प्रतिस्पर्धी सुवास सिग्देलले १ सय २० मत पाए । उपसभापतिमा सरिता पराजुली र होमबहादुर बानियाँ विजयी हुँदा सचिवमा सुवर्ण केसी र शिरषकुमार बास्तोला निर्वाचित भएका छन् । सहसचिवमा नीलम बाटाजु र सुरेश खवास सर्वसम्मत चयन भएका थिए ।

कास्की क्षेत्र १ (ख) बाहेक बाँकी ५ क्षेत्रको परिणाम सार्वजनिक

कास्की ३ (क) सभापतिमा पुष्पेन्द्र पाण्डे निर्वाचित भएका छन् । उनले १ सय ६६ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी दीपकराज पौडेलले १ सय ५६ मत पाए । उपसभापतिमा धनबहादुर थापा र दिलीप गिरी विजयी भए । यस्तै, सचिवमा गंगाबहादुर गुरुङ र प्रकाशचन्द्र सापकोटा तथा सहसचिवमा अनिल गुरुङ र विष्णुप्रसाद अधिकारी विजयी भएका छन् ।
कास्की ३ (ख) मा जीवनाथ पौडेल ‘शंकर’ ले सभापतिमा बाजी मारे । उनका निकटतम प्रतिस्पर्धी दीपकवीर कुँवरलाई १ सय ३ को फराकिलो मतअन्तरले हराउँदै सभापति निर्वाचित भएका हुन् । पौडेलको २ सय २७ र कँुवरको १ सय २४ मत छ । उपसभापतिमा पदमबहादुर गुरुङ, पार्वतीदेवी कोइराला निर्वाचित भए भने सचिवमा ठाकुर बराल र बाबुराम भण्डारी तथा सहसचिवमा चित्रबहादुर गुरुङ र भीममाया सुवेदी निर्वाचित भएका छन् । प्रदेश प्रतिनिधि पदका उम्मेदवारको मतगणना जारी छ ।
कांग्रेसको प्रदेश निर्वाचन क्षेत्रबाट सभापतिसहित उपसभापति, सचिव र सहसचिवमा २÷२ जना निर्वाचित भएका हुन् ।
प्रदेश निर्वाचन क्षेत्रको कार्यसमिति सहित प्रदेश अधिवेशन प्रतिनिधि पनि निर्वाचित भएका छन् । निर्वाचन अधिकृत रामचन्द्र पौडेल ‘विमल’ का अनुसार प्रत्येक क्षेत्रबाट १७ जना प्रतिनिधि छनोट भएका छन् । खुलातर्फ ७, महिला ३, खस आर्य खुला २, खस आर्य महिला १, आदिवासी जनजाति खुला, आदिवासी जनजाति महिला, दलित, अल्पसंख्यक तथा अपांगता कोटाबाट १÷१ जना निर्वाचित भएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width