Worldlink ads

पर्यटक लोभ्याउँदै धितालको नौमती बाजा पार्क

हरि बास्ताेला
कार्तिक २४, २०७८
naumati baja park

गण्डकी । अस्तामको नौमती बाजा भनेपछि पोखरा र आसपासका क्षेत्रमा हुरुक्कै हुने गर्दछन् । विवाह, व्रतबन्धलगायतका विभिन्न चाडबाडमा अधिकांशको पहिलो रोजाइ अस्तामको बाजा नै हुने गरेको छ ।
नेपालीको मौलिक पहिचानजस्तै बनेको नौमती बाजाका लागि ख्याति कमाएको कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ धितालस्थित पोखरी डाँडामा निर्माण गरिएको नौमती बाजा पार्कका कारण यहाँको बाजा थप चासो र चर्चामा रहेको छ ।
खुला आकाशमुनि सार्वजनिक जग्गामा निर्माण गरिएको नौमती बाजा पार्कमा सुमधुर स्वरमा शुभसन्देश दिने नरसिंगा, नौमती बाजाको प्रमुख आकर्षणका रूपमा बजाइने सहनाई जोडी, दमाहा, सानो दमाहा, झ्याली, ट्याम्को, ढोलक राखिएको छ ।
सनही र नरसिंगा फुकेर, ठूलो दमाहा, सानो दमाहा, ढोलक र ट्याम्को ठोकेर तथा झ्याम्टा र मुजुरा एकापसमा जुधाएर बजाइन्छ । नौजना वाद्यवादक कलाकारहरूले सुर र ताल मिलाएर एकैपटक बजाउने गरेकाले यो टोलीलाई नौमती बाजा भनिएको हो । विशेषगरी आल्मुनियम, तामा, पित्तललगायतका धातु, काठ र घरपालुवा जनावरको छाला प्रयोग गरेर बाजा निर्माण गरिन्छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र स्थानीय जनसहभागिताको आर्थिक एवं माछापुच्छ«्रे गाउँपालिकाको प्राविधिक सहयोगमा निर्माण गरिएको पार्क २०७६ साल असार महिनादेखि सञ्चालनमा आएको नौमती बाजा पार्क निर्माण समितिका अध्यक्ष इन्जिनियर सुनील दाहालले जानकारी दिए ।
उनकाअनुसार तत्कालीन प्रतिनिधिसभा सदस्य स्व. रवीन्द्र अधिकारीको विशेष पहलमा १६ लाखको लागतमा निर्माण गरिएको सो पार्क निर्माणका लागि मन्त्रालयबाट १५ लाख र १ लाख बराबरको स्थानीय जनसहभागिता परिचालन गरिएको हो ।
नौमती बाजा पार्क सञ्चालनमा आएसँगै यस क्षेत्रमा दैनिक १ सयदेखि ५ सय जनासम्म आन्तरिक एवं बाह्य पर्यटकले अवलोकन गर्ने गरेको उल्लेख गर्दै उनले भने, ‘पर्यटकको आवगमनसँगै आसपासको व्यापार व्यवसायमा समेत सहयोग पुगेको छ ।’
पार्कमा प्रदर्शित बाजाको तालसहित अन्नपूर्ण, माछापुच्छ«े हिमशृंखलासहित रमणीय गाउँ ल्वाङ, रिभानसहितको दृश्यावलोकन गर्न सकिने सो क्षेत्रमा परम्परागत पानीका कुवा, कुटानी–पिसानीका सामग्री ढिकी, जाँतो, पानी घट्ट, काश्यप ऋषिको मूर्तिसहितका विभिन्न संरचना निर्माण गरी प्रदर्शन गर्ने तयारी समितिले गरिरहेको छ ।
सो स्थानमा रहेको साँदी पोखरी २ लाख लागतमा संरक्षण गरिएको छ । समुद्री सतहबाट लगभग १ हजार ५ सय मिटरको उचाइमा रहेको सो पोखरी संरक्षण गरेसँगै वर्षाको पानी संकलन हुने गरेको छ । उक्त पोखरीको पानी बर्सातको समयमा स्थानीय बासिन्दाले सिँचाइका लागि उपयोग गर्दै आएका छन् ।
सो क्षेत्रमा धम्पुस लिफ्टिङमार्पmत् धितालमा खानेपानीको व्यवस्थासहित उक्त पार्क र पोखरीमा पानीको व्यवस्थापन गर्ने तयारी भइरहेको बताउँदै दाहालले भने, ‘सम्पूर्ण योजना सम्पन्न गर्न करिब ४ करोड खर्च लाग्ने प्रारम्भिक अनुमान रहेको छ ।’
बाजा पार्कको आँगनमा रहेको साँदी पोखरीमा माछापुच्छ«े हिमालको प्रतिबिम्ब आकर्षक रहेको पार्क अवलोकनका लागि पुगेका पोखरा १७ विरौटाका भेषराज बरालले सुनाए ।
जनप्रिय बहुमुखी क्याम्पसका सहायक क्यम्पस प्रमुख एवं जिल्ला बचत संघ कास्कीका अध्यक्षसमेत रहनुभएका बरालका अनुसार मौलिक बाजा संरक्षणका साथै प्रदर्शन गरेर यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
उक्त क्षेत्रको अस्ताममा सञ्चालित अन्नपूर्ण इको भिलेजका सञ्चालक विश्व अधिकारीका अनुसार होटेलमा आउने पर्यटकका लागि बिहानको घुमफिर पार्क पर्ने गरेको छ । होटेलमा बास बसेका अधिकांश पर्यटकलाई बाजा पार्कमा जान प्रेरित गर्दै आएको उनको भनाइ छ ।
पार्कको नजिकै बाँसको लिंगे पिङ स्थापना गरिएको छ । पिङमा मच्चिँदै आँखाको अघि देखिने हिमशृंखलासहितको हरियाली, खोलानाला एवं रमणीय गाउँबस्तीको दृश्यबाट पर्यटकले छुट्टै आनन्द लिने गरेको पार्क निर्माण समितिका उपाध्यक्ष रीता गुरुङले जानकारी दिइन् ।
पोखराको हेम्जास्थित मिलनचोकबाट धम्पुस सडकखण्डमा लगभग ८ किलोमिटर दूरीमा रहेको सो पार्कमा प्रवेशका लागि टिकटको व्यवस्था नहुँदा कहाँबाट र कति संख्यामा पर्यटक आए भन्ने तथ्यांक छैन ।

Related News

सम्बन्धित समाचार

    • मुक्तिनाथ सपनाले ट्रेकिङ गाइड

      धनबहादुर गुरुङ मंसिर ११, २०७८
      पोखरा । सीता राई (४०) को आधाआधि उमेर ट्रेकिङ क्षेत्रमै बित्यो । २० वर्षको उमेरमा पोखरा झरेकी उनको जीवनमा अफ…
    • पर्यटकीय आकर्षण हुडिकोट चौतारो

      आदर्श समाज सम्वाददाता कार्तिक ३०, २०७८
      पोखरा । सिलिंगे महिला चेतना समूहको सक्रियतामा पुनर्निमित पोखरा ३३, भरतपोखरीको हुडिकोटस्थित २ सय वर्ष पुरानो चौतारो सोमबार उद्घाटन गरिएको…
    • ट्रेकिङ गाइडलाई तालिम

      आदर्श समाज सम्वाददाता कार्तिक ३०, २०७८
      पोखरा । थ्री सिस्टर्स एडभेन्चर ट्रेकिङ कम्पनीको आयोजनामा पोखरामा प्राथमिक उपचार तालिम भएको छ । कम्पनीले काठमाडौं इन्भारोनमेन्टल एजुकेसन प्रोजेक्ट…
    • दसैँतिहारमा होम स्टे पर्यटनमा राहत

      रासस कार्तिक २३, २०७८
      गण्डकी । कोरोना महामारीका कारण दुई वर्षयता थलिएको घरबास (होमस्टे) पर्यटनमा दसैं तिहारको समयमा आन्तरिक पर्यटकको चहलपहल बढेसँगै केही राहत…
    • ट्रेकिङ गाइडको कथा

      विजय नेपाल कार्तिक २३, २०७८
      पोखरा । फेवाताल किनारमा घुम्दै जाने क्रममा बावुराम बिकलाई कसैले सोध्यो– भाइ ! ट्रेकिङ जाने हो ? पोखराको एउटा कम्पनीमा…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग