पोखरा । फेवाताल किनारमा घुम्दै जाने क्रममा बावुराम बिकलाई कसैले सोध्यो–
भाइ ! ट्रेकिङ जाने हो ?
पोखराको एउटा कम्पनीमा मासिक मात्र १५ सयमा सुरक्षागार्डको रुपमा दैनिक १२ घण्टासम्म खटिने बावुरामले ट्रेकिङ अर्थात् पदयात्रा शब्द सुने पनि के कस्तो हुन्छ भन्ने अनुभव थिएन । गोराहरु (विदेशी पर्यटक) सँग घुम्न पाइने, अंग्रेजीमा बातचित गर्नुपर्ने, नयाँ नयाँ ठाउँ घुम्न पाइने र पैसा पनि मनग्ने कमाउने सकिनेसम्म उनले बुझेका थिए ।
प्रश्न भुइँमा खस्न नपाउँदै बावुरामले ‘हुन्छ नि । बरु कहाँ जाने होला ?’
त्यसबेला अन्नपूर्ण बेस क्याम्प (एबिसी) ट्रेकिङ जानुपर्ने रहेछ । चिनियाँ ८ जनाको समूहलाई लिएर । पोर्टर (हाल सपोर्टर भनिने) बनेर २६ वर्षीय उनी एबिसी जाने भए ।
१५ वर्षअघि पोर्टर बनेर ट्रेकिङ क्षेत्रमा छिरेका बावुराम अहिले चल्तीका ट्रेकिङ गाइड हुन् । दुखमा पनि मुस्काउन नछोड्ने उनी अंग्रेजी राम्रै बोल्छन् । नजानेको, नगएको सायदै ठाउँ होला । उनी ट्रेकिङ गाडइमात्र हैन, लेकसाइडस्थित ट्रेकिङ कम्पनी ट्रेकिङ टाइमका सञ्चालकसमेत हुन् । मासिक एक डेढ लाख रुपैयाँ सजिलै कमाउने उनी २ वर्षदेखि पूर्ण रुपमा बेरोजगार छन् ।
उनी जसरी सहजैरुपमा यो पेसामा छिरे, उसैगरी निस्कनेवाला छन् ।
‘ट्रेकिङ व्यवसाय चौपट भयो नि,’ कुराकानीक्रममा उनले दुःखेसो पोखे, ‘२ वर्षदेखि यो कोरोना महामारीले सबैतिर प्रभाव पार्यो । आज होला कि भोलि होला कि भनी पर्खिंदै बसियो । अब यस्तै हो भने २ वर्षसम्म ट्रेकिङ पहिलेकै अवस्थामा फर्किनेवाला छैन । अब विकल्प खोज्दैछु ।’
डेढ दशक श्रम र पसिना खर्चिएको ट्रेकिङ क्षेत्र छोडेर उनले कुन विकल्प रोज्दै छन् त ?
जिज्ञासामा उनले तुरुन्तै विकल्प पनि रोजिसकेको सुनाए : विदेश जाने वा नेपालमै कृषि कर्म थाल्ने ।
दाङको बिजौरी गाविस २ (हाल तुल्सीपुर १९) मा २०३५ सालमा जन्मिएका हुन्, बावुराम । घरको आयश्रोत कमजोर भएकोले उनी कामको खोजीमा सन् २००४ मा पोखरा आएका रहेछन् । त्यसबेला हातमुख जोर्न घर बनाउने काममा लागे । ढुंगा, सिमेन्ट, बालुवा सकिनसकी बोके । अलिअलि पैसा जोहो गर्दै दाङमा रहेको घरपरिवारलाई पठाउने गर्थे । त्यसको २ वर्षपछि २००६ मा उनले पोखराको एक कम्पनीमा सुरक्षागार्डको काम पाए । मासिक १५ सय रुपैयाँमा दैनिक १२ घण्टासम्म खटिनुपथ्र्यो । महिनावारी काम गरेर आउने तलब कोठाभाडा, रासनपानीमा ठिकै हुन्थ्यो । त्यति चित्तबुझ्दो लागेन उनका लागि । जसोतसो २ वर्ष धकेले । त्यसपछि ट्रेकिङ क्षेत्रतिर छिरेका हुन् । पोखरा बस्दै आएका श्रीमती, १ छोरा र १ छोरीका सहारा हुन्, उनी ।
ट्रेकिङ क्षेत्रमा पोर्टर बनेर धेरै भारी बोकेका उनले पछि ट्रेकिङ एजेन्ट्स् एसोसिएसन अफ नेपाल (टान) को संयोजनमा भएको ३५ दिने ट्रेकिङ गाइडको तालिम लिने अवसर उनलाई मिल्यो । सशुल्क सो तालिमका लागि उनले ८ हजार रुपैयाँ तिरेका थिए । सन् २०१४ मा सो तालिमपछि उनी ट्रेकिङ गाइड बने । विश्वको सर्वोच्च शिखर सगरमाथा, गोरखाको मनास्लु, रसुवाको लाङटाङ, म्याग्दीको धौलागिरी, मुगुको रारा ताल, डोल्पाको शे–फोक्सुण्डो, कास्कीको माछापुच्छ्रे लगायत प्रमुख क्षेत्रमा उनले कैंयौँ पटक ट्रेकिङ गएको बताए ।
ट्रेकिङ गाइड हुँदा महिनामा एक डेढ लाख कमाउने बावुरामले कोरोना महामारीले बेरोजगार बनेपछि घरव्यवहार चलाउन ५ लाख ऋण काढिसकेका छन्
त्यसको केही वर्षपछि उनले आफ्नै नाममा ट्रेकिङ कम्पनी खोलेर सोही कम्पनीमार्फत विभिन्न मुलुकका पर्यटकलाई पदयात्रा लगेको बताए । यसरी उनले मासिक एक डेढ लाख रुपैयाँ सहजै कमाइ गर्दै आएका थिए । छोराछोरीलाई पोखराकै एक बोर्डिङमा पढाउन थालेका थिए भने सानोतिनो जग्गा जमिन पनि जोडेका थिए । हाल पोखरामा भाडामा बस्दै आएका बावुरामले कोरोनाका कारण व्यवसाय नराम्ररी प्रभावित हुँदा पूर्ण रुपमा बेरोजगार बनेका हुन् । स्वदेशी पर्यटक दसैंतिहारको लामो छुट्टिको मौका पारेर विभिन्न पर्यटकीय क्षेत्र घुम्न निस्के पनि पहिलेजस्तो गरी विदेशी पर्यटक कहिले आउँछन् ठेगान छैन ।
उनको ट्रेकिङ कम्पनी हाल बन्द छ । ट्रेकिङ कम्पनी रहेको घरभाडा समेत तिर्न नसकेर सामान उठाएर आफू बस्ने कोठामै ल्याएको बताए । घर व्यवहार चलाउन ५ लाख रुपैयाँ ऋण काढिसकेका छन् । संक्रमणकालीन अवस्थामा रहेका बावुराम भन्छन्, ‘जीवन आधा सन्चो, आधा बिसन्चो अवस्थामा छ ।’
बिसन्चोको कुरा त ट्रेकिङ नै रह्यो । तर आधा सन्चो के हो ?
मनभरी दुःख सहेर पनि हास्न नछाडेका बावुरामले भने, ‘परिवारलाई समय दिन सकिएको छ । बच्चाहरुको केयर गर्न सकिएको छ ।’ बावुराम जस्तै ट्रेकिङ गाइडको तालिमप्राप्त व्यक्ति पोखरा क्षेत्रमा १ हजार हाराहारीमा छन् । तर अधिकांशले वैकल्पिक पेसा रोजिसकेका पाइन्छ ।
बावुराम भन्छन्, ‘लकडाउन हटिसकेपछि अहिले आन्तरिक पर्यटक भने बढेका छन् । तर आन्तरिक पर्यटक होटल, रेस्टुरेन्टको लागि मात्र हो । आन्तरिक पर्यटकलाई अनिवार्य गाइड चाहिँदैन । विदेशीका लागि नौलो ठाउँ भएकोले गाइड लैजान चाहन्छन् र उनीहरु पैसा तिर्ने क्षमता पनि राख्छन् । विदेशी पर्यटक नआएसम्म ट्रेकिङ चल्दैन ।’
उनका अनुसार नेपालमा पर्यटन प्रवद्र्धनका लागि कोरोना लगायतका महामारी हुनुहुँदैन । शान्तिपूर्ण वातावरण तथा राजनीतिक स्थायित्व आवश्यक छ । साथै नेपालको सन्दर्भमा सडक एकदमै राम्रो र यातायातको व्यवस्था हुनुपर्छ ।
यसैबीच, टान गण्डकी अध्यक्ष सुशीलराज पौडेलले अब यो सिजन पनि खेरै गएको बताउँछन् । उनले आगामी सिजन कुर्नुको विकल्प नरहेको बताए । ‘ट्रेकिङ व्यवसाय नहुनु भनेको ट्रेकिङको सबै जना म्यानपावर बेरोजगार बस्नु हो । लगानीको कुरा आफ्नै ठाउँमा छ । टर्न ओभर (कारोबार) नहुँदा कर तिर्न समेत धौधौ हुने अवस्था छ,’ पौडेल भन्छन्, ‘घरभाडासमेत तिर्न नसक्दा पोखरा क्षेत्रबाट २५ प्रतिशत व्यवसायी बिस्थापित भइसकेका छन् । आफ्ना स्टाफ पाल्ने त कुरै छोडौं, आफू नै कसरी पालिने भन्ने अवस्था छ ।’ टान गण्डकीमा १ सय ७० जना सदस्य आबद्ध छन् ।
Related News
सम्बन्धित समाचार
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी
सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
hero news full width
मुख्य समाचार
अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
वैशाख ४, २०८१प्रकट पगेनी ‘शिव’ को निधन
वैशाख ४, २०८१कामचलाउ मुख्यमन्त्री अधिकारी विश्वासको मत लिने तयारीमा
वैशाख ४, २०८१