Worldlink ads

हिमालमा वर्षा, जलवायु परिवर्तनको असर !

आदर्श समाज सम्वाददाता
कार्तिक १५, २०७८
Climate Change

फाइल तस्बिर

पोखरा । कहिल्यै वर्षाको अनुभव नगरेका मनाङस्थित फु गाउँका स्थानीयलाई यो बर्खामा ‘थाल खाऊँ कि भात खाऊँ’ बनायो । माटोको छाना चुहिन थाल्यो । दाताको सहयोगमा त्रिपाल ल्याएर जसोतसो घर बेरबार पारेर बसेका छन् । ‘हिउँ पथ्र्यो । तल्लो क्षेत्रमा बर्खा हुँदा हाम्रोमा ढुक्क थियो,’ स्थानीय लाक्पा सोनाम शेर्पाले भने, ‘यो वर्ष तलतिरको जस्तै पानी पर्‍यो । सबैका घर चुहिने भए ।’ बाटोघाटो सबै बगायो । केही समय गाउँलेहरु बेपत्ताजस्तो गरी सदरमुकामसँग सम्बन्ध टुट्यो । मुस्ताङको कागबेनी नेपालकै सबैभन्दा कम पानी पर्ने ठाउँ हो । त्यसमाथि लागेपछि मुस्ताङमा खासै धेरै पानी पर्दैन ।
त्यसैले मुस्ताङ र मनाङलाई ‘रेन स्याडो जोन’ को रुपमा लिने गरिन्छ । यो वर्ष मुस्ताङमा हिउँ खासै परेन । पानी भने अत्यधिक पर्‍यो । मनाङ र मुस्ताङका तल्ला स्टेसनले अघिल्लो वर्षभन्दा कम वर्षा नापेको छ । माथिल्ला स्टेसनमा भने अघिल्लो वर्षभन्दा निकै धेरै पानी परेको देखिएको छ । कागबेनी नजिकको स्टेसन जोमसोमले सन् २०२१ लागेपछि हालसम्म ५ सय ६४ मिलिमिटर पानी परेको देखाएको छ । अघिल्लो वर्ष सन् २०२० भरिमा यहाँ ४ सय मिलिमिटरमात्रै परेको थियो ।
गण्डकीको सबैभन्दा उचाइमा रहेको स्टेसन छोसेरमा पनि यो वर्ष अधिक वर्षा भयो । अघिल्लो वर्ष ५६८.९ मिलिमिटर पानी परेकोमा यो वर्ष ६१६.९ मिलिमिटर वर्षा भएको हावापानी कार्यालय पोखराले जनाएको छ । सन् २०२० मा ५२८.९ मिलिमिटर पानी परेको हुम्डेमा यो वर्ष असोजसम्म ६६८ मिलिमिटर पानी परिसकेको छ । धेरैलाई यो वर्ष विगतमा भन्दा बढी वर्षा भएको अनुभूति छ तर सबै ठाउँमा वर्षाको तथ्यांक बढेको छैन ।
हिमाल आसपास बढी वर्षा भए पनि मनाङ र मुस्ताङका तल्ला क्षेत्रमा भने अघिल्लो वर्षभन्दा कम पानी परेको छ । मुस्ताङको लेतेमा अघिल्लो वर्ष १८५४ मिलिमिटर पानी परेकोमा यो वर्ष जम्मा १६०६ मिलिमिटर मात्रै परेको छ । मनाङको गोआमा पनि अघिल्लो वर्षभन्दा झण्डै आधा कम पानी परेको छ । गोआमा अघिल्लो साल १३३० मिलिमिटर र यो वर्ष ८८५ मिलिमिटर पानी परेको छ ।

जलवायु संकटबारे छलफल गर्न स्कटल्यान्डमा विश्व सम्मेलन सुरु भएको छ

हावापानी कार्यालय पोखराका प्रमुख सरोज अधिकारीले भने, ‘जलवायु परिवर्तनको असर हो । यसरी पानी पर्‍यो भने छिट्टै हिमालहरु कालापत्थर बन्छन् । हिमाली जीवनशैली फेरिन्छ ।’ विगत केही वर्षयता फाट्टफुट्ट पानी परिरहेको छ । त्यहाँका नागरिकले घरमा जस्ताले छाउन थालेका छन् । कतै कंक्रिटका घर बनिरहेका छन् । जलवायुको असर हिमाली क्षेत्रसम्म पुगेको उनीहरुले महसुस गरेका छन् ।
यसकै न्यूनीकरणका लागि स्कटल्यान्डको ग्लास्गोमा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२६) सुरु भएको छ । २६ औं विश्व सम्मेलनमा जलवायु परिवर्तन र यसको सामनाका उपायबारे छलफल गर्दै मार्गचित्र तयार गर्ने बताइएको छ । बैठकमा सहभागी हुन नेपालबाट प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नेपाली टोली उपस्थित छ । मौसमी प्रकोप बढ्दै गएको भन्दै आगामी केही वर्षमा पृथ्वीका लागि ठूलो खतरा हुन सक्ने राष्ट्रसंघीय सर्वोच्च निकायले कडा चेतावनी दिएको छ ।
जलवायु संकटबारे भएका धेरै अनुमान र चेतावनीहरुकाबीच सुरु भएको सम्मेलनले कार्बन उत्सर्जन न्यूनीकरणमा जोड दिनेछ । सबै देशले कार्बन कति छिटो घटाउने भनेर निर्णय गर्नुपर्नेछ । सबै सहभागी देशले प्रत्येक ५ वर्षमा आफ्नो कार्य योजना अद्यावधिक गर्न सहमत भएका छन् । वातावरण प्रदूषणका लागि सबैभन्दा बढी जिम्मेवार मानिने धनी राष्ट्रले जलवायु परिवर्तनबाट प्रभावित गरिब राष्ट्रलाई दिने रकमका बारेमा छलफल हुने बताइएको छ । सन् २००९ मा धनी देशहरूले सन् २०२० सम्ममा जलवायु वित्तको नाममा प्रत्येक वर्ष एक १ सय अर्ब डलर दिने सहमति गरेका थिए । तर लक्ष्य अनुसार कुनै पनि देशले रकम जम्मा गरेनन् । सन् १९९५ बाट सुरु बर्सेनि सम्मेलन भए पनि अपेक्षाकृत नतिजा भने निस्किएको छैन । कार्बन उत्सर्जन घटेको छैन ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    trending post

    ट्रेन्डिङ्ग