राजदूतको भ्रमणले पर्यटन क्षेत्रमा दिएको सन्देश

धनबहादुर गुरुङ
कार्तिक ११, २०७८
Tourism and Rajdut Photo

फोटो : सिद्धार्थ गौतम/लिप इभेन्ट

पोखरा । पोखरा १८ खपौंदीमा रहेको मायादेवी भिलेज एन्ड रेस्टुरेन्टकी सञ्चालिका पूजा गुरुङले गएको २ वर्ष निकै तनावमा बिताइन् । कोरोना महामारीको असरले उनलाई निकै गाह्रो बनायो । चुल्होचौकोमा व्यस्त रहने उनको दैनिकी शून्यमा झर्‍यो । पाहुना आउन छाडे । सवारीको चाप भइरहने घरै अगाडिको बाटोमा फाट्टफुट्टमात्रै देखिन्थे । बरु फेवातालले ल्याउने छालको आवाजले उनलाई विरक्त बनाउँथ्यो । ताल किनारमा बसेर डाँडातिर हेर्दै टोलाउनु उनको दैनिकी बन्यो । गएको वर्ष दसैंपछि केही आशा पलाए पनि फेरि वैशाखमा भएको लकडाउनले पुरानै स्थितिमा पु¥यायो । पछिल्लो दिनमा कोरोना केही मत्थर हुँदै जाँदा दसैंपछि आएका आन्तरिक पर्यटकले पूजाको मनमा केही आशा पलाएको छ ।
लेकसाइडको होटल एन्जल सञ्चालक रवीन्द्र अधिकारी पनि करौंडोको लगानी डुब्ने हो कि भन्ने चिन्तामा थिए । २ पटकको लकडाउनले गर्दा बैंकको ऋणले सताएको अधिकारी बताउँछन् । पछिल्ला दिनमा आएका पाहुनाले उनी उत्साहित छन् ।
यसरी घरेलु पर्यटक बढाउन निजी तथा सरकारी संघ संस्थाले आ–आफ्नो क्षेत्रबाट योगदान दिइरहेका छन् । गण्डकी प्रदेशको राजधानी पोखरा र प्रदेशको अन्य क्षेत्रको पर्यटकीय गतिविधि चलयमान बनाउन प्रदेशले पनि कार्यक्रमहरु गरिरहेको छ । सोहीअनुरुप असोज ६ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र असोज १० गते ११ देशका राजदूत प्रदेशमा बोलाएर प्रदेशको पर्यटन क्षेत्र खुल्यो भन्ने सन्देश दिएको थियो ।
४१ औं विश्व पर्यटन दिवसमा प्रदेश सरकारको निमन्त्रणामा आएको नेपालस्थित विभिन्न राष्ट्रका ११ राजदूतसहित कुटनीतिक नियोगका पदाधिकारी पोखराको सुन्दरतामा रमाएका थिए । ५ सदस्यीय टोली सम्मिलित विशिष्ट पाहुनाको टोलीले ३ दिनसम्म हाइकिङ, डुंगा सयर, पर्यटकीय क्षेत्रको अवलोकन गरेका थियो । यसले दिएको सकारात्मक सन्देशले पर्यटन व्यवसायी उत्साहित थिए । विशिष्ट पाहुनाले यहाँको सुन्दरताको प्रशंसासमेत गरेका थिए ।
संयुक्त राष्ट्र संघको नेपालस्थित आवासीय प्रतिनिधि सराबे सलोनयन्तिले टिकटक बनाएरै पोखराको सौन्दर्यताबारे बयान गरेकी थिइन् । उनले भनेकी छन्, ‘म यहाँ गण्डकी प्रदेशमा छु, कुटनीतिक मिसनका लागि । कोभिड महामारीपछिको पर्यटनलाई उठाउने उद्देश्यले आयोजित कार्यक्रममा भाग लिन आएकी छु । नेपाल पर्यटनमा निर्भर छ । दिगो पर्यटन, पहुँचयोग्य पर्यटन, समावेशी पर्यटनले नेपालको विकास र दिगो विकासका लक्ष्य हासिल गर्न सहयोग गर्छ । म यहाँ कुटनीतिक सम्बन्धका लागि नेपाल आएकाले यहाँ (पोखरा) आउन पाएको थिइनँ । तर म आज यहाँ आएकी छु । मेरो पछाडि सुन्दर हिमाल छन् । यहाँबाट सूर्योदय पनि देख्न पाइने रहेछ र अहिले सराङकोटबाट निकै राम्रो सूर्योदय देखिएको छ । म यहाँ आएर गर्वका साथ भन्न सक्छु नेपाल पर्यटकका लागि खुला छ । यदि तपाईं प्रकृतिलाई महसुस गर्न चाहनुहुन्छ भने नेपाल आउनुहोस् । यदि यहाँको संस्कृति जान्न मन छ भने नेपालका गाउँ आउनुहोस् । विश्व पर्यटन दिवसको शुभकामना ।’
पर्यटन क्षेत्रको उत्थानमा जति सरकारको भूमिका छ, त्योभन्दा बढी व्यवसायीले योगदान गरेका छन् । सरकारले व्यवसायीसँग मिलेर पर्यटक बढाउने गतिविधि गरिरहेको छ । साउन १० गते पर्यटनमन्त्री मणिभद्र शर्मा पर्यटक बोलाउन प्रदेश २ को भ्रमणमा गए । त्यहाँका निजी क्षेत्र र पर्यटक सम्बद्ध संघ संस्थासँग छलफल गरे । पर्यटकलाई पोखरा घुम्ने निम्तो बाँडेर पोखरा फर्किए । सरकारले व्यवसायी र कर्मचारीलाई खोप व्यवस्था गरेपछि पर्यटन क्षेत्र सुरक्षित छ भन्ने सन्देश दिन सहज भएको पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष टीकाराम सापकोटाले जानकारी दिए । अहिले ढुक्कसँग व्यवसाय गर्ने वातावरण बनेको सापकोटा बताउँछन् । ‘हामी पर्यटन व्यवसायीहरुले पनि सरकारसँग मिलेर धेरै कार्यक्रमहरु गरिरहेका छौं फलस्वरुप आन्तरिक पर्यटकहरु पोखरा आएको स्थिति छ,’ उनले भने, ‘विश्व पर्यटन दिवसका अवसरमा प्रदेश सरकारले ११ देशका राजदूत बोलाएर पोखरा खुल्यो भनेर सन्देश दिएको थियो ।’ सरकारले गरेको कार्यक्रममा पोखरा पर्यटन परिषद्सँग आबद्ध संघसंस्थाले सहयोग गरेका कारण अहिले पर्यटन क्षेत्र सुधारोन्मुख भएको उनको भनाइ छ ।
समग्र प्रदेशको पर्यटन क्षेत्रको विकास गर्दै पर्यटक बढाउन पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि कार्यक्रम र योजना बनाएको छ । मन्त्रालयमा साउन १० गते मणिभद्र शर्मा मन्त्री नियुक्त भएपछि पर्यटन क्षेत्रमा लागि परेका थिए । मन्त्री शर्माले पदभार सम्हालेपछि कोरोना थलिएको पर्यटन क्षेत्रमा पुरानै लयमा फर्काउन पर्यटन व्यवसयीसँग बसेर छलफल गरेका थिए । मन्त्रालयले आगामी दिनमा पर्यटन नीति बनाएरै अगाडि बढ्ने योजना रहेको मन्त्री शर्माले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width