Worldlink ads

प्रतियोगिता पर्खिंदै युकेश

धनबहादुर गुरुङ
कार्तिक ९, २०७८
Ukesh Grg Photo~main

पोखरा । पोखराका प्याराग्लाइडिङ पाइलट युकेश गुरुङलाई स्वेदश तथा विदेशको प्रतियोगितामाबाट निम्तो नआएको २ वर्ष बढी भयो । सन् २०१९ अगस्तमा चीनमा प्रि–बल्र्ड कपमा सहभागीपछि उनले कतै भाग लिन पाएका छैनन् । त्यसपछि उनका लागि प्रतियोगितामा भाग लिएर ट्रफी, मेडलसँगै नाम कमाउने यात्रामा बाधक बन्यो, कोरोना ।
कोरोनाको विश्वभर महामारी नहुँदो हो त उनी भारत हिमाञ्चल प्रदेशको वीर बिलिङमा प्याराग्लाइडिङ प्रतियोगिता खेल्न पुग्थे । सन् २०२० मार्च/अप्रिलमा हुने भनिएको प्रतियोगिता कोरोनाकै अनिश्ति बन्यो । कोरोनाकै कारण व्यावसायिक उडानसमेत भर्न पाएका थिएनन् । लकडाउनमा घरभित्रै खुम्चिए ।
आफ्नो रुची विषय कोरोनाकै कारण केही समय बिट मार्नुपर्ने भए पनि समय भने खेर फालेनन् । बिहानै उठेर घरको काममा सघाउने उनको दिनचर्या बन्न थाल्यो । लकडाउनले सिर्जनशील पो बनायो । ड्रोन चलाउन सिके । आफैंले भिडियो सम्पादन गर्दै आफ्नै युट्युब अपलोड गर्नसम्म जाने । लकडाउनमै युट्युब हेरेरै गितार बजाउन जान्ने भए । खानाका परिकार बनाउने सिके । आमासँग पास्ता, स्यान्डविच, बर्गर बनाउने ज्ञान लिए ।
कोरोनाको पहिलो लहरको बेला लकडाउनपछि अघिल्लो असोजमा टेन्डम फ्लाइट गरेका थिए । त्यसबाट उनलाई व्यावसायिक बनायो । केही आम्दानी पनि हात पर्न थाल्यो । गत सिजनमा राम्रै कमाइ गरेका हुन् । नागरिकता हात परेपछि सन् २०२० मा टेन्डमको लाइलेन्स लिएका उनी त्यसअघि सोलो उडान भर्थे ।


कमाइ त भयो तर प्याराग्लाइडिङको कुनै प्रतियोगिता भएन । प्रतियोगितामा भाग लिने दिन कुर्दै बित्यो । कोरोनाको दोस्रो लहरको बेला २०७८ बैशाखमा पुनः लकडाउनपछि उनको दैनिकी पहिलाकै अवस्थामा गयो । मनमा अब यस्तै होला भन्ने भय छाउन थाल्यो । तर अहिलेको दसैंपछिको पर्यटक चहलपहलले उनको मनमा आशाको घन्टी बजाएको छ । उनी टेन्डम उडानमा व्यस्त हुन थालेका छन् । चिन्ता भने प्रतियोगिताकै छ ।

कोरोना महामारीका कारण २ वर्षदेखि प्याराग्लाइडिङअन्तर्गत प्यारा प्रतियोगिता हुन सकेको छैन

सन् २०१८ मा इन्डोनेसियामा १८ औं एसियाली खेलकुदमा नेपालले एकमात्र रजत जित्दा प्याराग्लाइडिङ टिमका सदस्य थिए, युकेश । त्यतिबेला उनी १६ वर्षका मात्रै थिए । प्याराग्लाइडिङ उडान भर्न १२ वर्षकै उमेरमा सिकेका हुन् । उनका बावु प्यारापाइलट हुन् । बावुकै प्रेरणाले उनी ग्लाइडरतर्फ आकर्षित भए । घरनजिकै ल्यान्डिङ हुने ग्लाइडरले पनि ७/८ वर्षको छँदा उनको मन तान्थ्यो । ग्लाइडर अवतरण गरेपछि खपौंदीका केटाकेटीसँगै युकेश पनि ग्लाइडर प्याक गर्न पुग्थे । अरु जस्तै पैसा भने माग्दैनथे । तर प्याराग्लाइडर उडाउन सिकाइदिन अनुरोध गर्थे । ८ वर्षको उमेरदेखि नै ग्लाइडरबाट उनले ‘ग्राउन्ड ह्यान्डलिङ’ गर्न सिकेको उनकी आमा पूजाले बताइन् । ‘ग्राउन्ड ह्यान्डलिङ गर्न जान्ने भएपछि सानोसानो डाँडाबाट हाम फाल्दै गयो,’ उनकी आमाले भनिन्, ‘हेल्मेट छैन, जुत्ता छैन उड्दै हिड्थ्यो । मलाई डर लाग्थ्यो तर बाबुले राम्रै जानेको रहेक धन्न केही भएन ।’ ६ कक्षामा पढ्दै गर्दा उनी एक्लै उड्न सक्ने भएका थिए । १२ वर्षको छँदा प्याराग्लाइडिङ स्कुल भर्ना भएर उनी पोख्त भएका हुन् ।
सन् २०१५ मा भारतको वीर बिलिङमा भएको विश्वकप च्याम्पियनसिपमा उनी एयर मार्सलको रूपमा सहभागी भए । त्यहाँ विन्ड टेक्निसियनको काम गरेका थिए । त्यहीबाट सुरु भएको उनको प्याराग्लाइडिङ यात्रा भारत, चीन, दक्षिण कोरिया, इन्डोनेसियासम्म पुगेको छ । एसियाडमा हात पारेको रजत पदक उनको जीवनकै महत्वपूर्ण उपलब्धि हो ।
एसियाडपछि उनको चर्चा चुलियो । उनी पल्सर स्पोर्टस् अवार्ड र पोखरा स्पोटर््स अवार्डमा उत्कृष्ट भए भने दशरथ चन्द मेधावी खेलाडी प्रतिभा पुरस्कार–२०७५ अन्तर्गत सर्वोत्कृष्ट खेलाडीको अवार्ड उनैले पाएका थिए । रजतमा सीमित भएको उनको यात्रा अझै माथि जान सक्छ किनभने उनी बल्ल २० वर्ष टेकेका छन् । ‘रजत पदकमात्र पाएको थिए, स्वर्ण जित्ने योजना हो,’ उनले भने, ‘तर कोरोनाले सबै डामाडोल बनायो ।’ पछिल्ला दिनमा पर्यटकको चहलपहलसँगै प्याराग्लाइडिङ उड्न थालेसँगै प्रतियोगिता छिट्टै सञ्चालन हुनेमा उनी आशावादी छन् ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग