Worldlink ads

८० प्रतिशत फूल पोखरा आसपासमा नै उत्पादन

रासस
कार्तिक ८, २०७८
Mala

गण्डकी । अधिकांश उत्पादनमा परनिर्भरता नै मौलिकता जस्तै बन्दै गएको वास्तविकतामा पोखरा फूलमा भने आत्मनिर्भर हुने क्रममा छ । तिहार नजिकिदै गर्दा यतिखेर पोखरा र आसपासका पुष्प व्यवसायी भने फूल्दै गरेको सयपत्रीलगायत फूल स्याहार्न व्यस्त देखिन्छन् । तिहारमा घरघरमा दाजुभाइ तथा दिदीबहिनीका गलामा पुग्ने फूल पछिल्ला वर्षमा स्थानीय उत्पादनमा आकर्षण बढ्दै गएका कारण पनि बर्सेनि पुष्प व्यवसायतर्फ सर्वसाधारणको आकर्षण बढिरहेको फ्लोरीकल्चर एशोसिएशन कास्कीका अध्यक्ष डीलबहादुर गुरुङले बताउनुभयो ।

“घाँटीमा लगाइने मालाका लागि बाहिरबाट आयातित फूल भन्दा पनि सकेसम्म स्थानीय उत्पादनकै प्रयोग गर्ने क्रम बढेका कारण तिहारका लागि बजारमा यहीँ उत्पादित फूल बढी माग हुने गरेको छ”, उहाँले भन्नुभयो, “यसवर्ष मागको झण्डै ८० प्रतिशत फूल पोखरा र आसपासमा नै उत्पादन भएको छ ।”

परनिर्भरताकै कारण समयसमयमा हुने गरेका नाकाबन्दी, यातायात असहजता, महँगी आदिका कारण पनि उत्पादक र उपभोक्ता दुवै स्थानीय उत्पादनतर्फ आकिर्षत बन्दै गएका छन् । पोखरा महानगरपालिकाको कृषि महाशाखा प्रमुख मनोहर कडरियाका अनुसार पछिल्ला वर्षमा फूल खेतीतर्फ आकर्षण बढिरहे पनि कोरोना महामारी, समस्यामा पर्ने गरेका प्राकृतिक विपत्ति आदिका कारण यस व्यवसायमा केही न केही प्रभाव पारेको छ ।

यसवर्ष तिहारका लागि लगाइएको फूलखेतीमा दसैँलगत्तै परेको पानीले केही क्षति पुर्‍याएको जनाउँदै उहाँले समयक्रम मिलाएर नलगाउदा पनि कतिपय स्थानका किसान समस्यामा परेको बताउनुभयो । पछिल्ला वर्षमा कतिपय सर्वसाधारणले घरबारी तथा कौशीमा तिहारका लागि फूल लगाउने क्रम पनि उत्तिकै बढेको पाइन्छ । अघिल्लो वर्ष तिहारका लागि बाहिरबाट फूल कम नै आएको र स्थानीय उत्पादन नै बढी बिक्री भएको कृषि उपज बजार केन्द्र पृथ्वीचोकका सूचना अधिकारी रुपा दाहालले जानकारी दिनुभयो ।

कास्कीभित्र लेखनाथ, भरतपोखरीको बागमारा, कालिका, मालेपाटन, विरौटा, बाटुलेचौरलगायत स्थानमा फूलको व्यावसायिकखेती हुने गरेको छ । फूलैफूलको चाडको उपमा पाएको तिहारमा दाजुभाइ दिदीबहिनीका गलामा लगाउने मालाका साथै घर सजाउने, गाई, गोरु, कुकुर आदिलाई पनि माला लगाइने भएकाले फूलको रामै्र खपत हुने गर्दछ ।

फ्लोरीकल्चर एशोसिएशन कास्कीमा हाल ३५ व्यवसायी आवद्ध रहेका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । जिल्लामा फूलखेतीको व्यावसायिकता वृद्धिसँगै यसलाई व्यवस्थित बनाउने लक्ष्यका साथ २०६३ सालयता एशोसिएशनमा आबद्ध भई व्यवसायी क्रियाशील बनेका हुन् । पोखरा र आसपासमा उत्पादित सयपत्री फूलको प्रति थुङ्गा लगभग पाँच रुपैयाँ पर्दछ । यहाँ उत्पादित फूल आकर्षकसँगै आकार पनि केही ठूलो हुने भएकाले सामान्यतः एउटा माला तयार गर्न २० देखि २५ थुङ्गाले पुग्ने व्यवसायी बताउँछन् । उनीहरूका अनुसार तिहारमा प्रति मालाको न्यूनतम १०० रुपैयाँदेखि १५०सम्म पर्ने गर्दछ । पोखरामा करिब ३०० प्रजातिका फूलको व्यवसायीक खेती हुँदैआएको छ ।

पछिल्ला वर्षमा मौसम, फूल्ने अवधिलगायत कुरालाई ध्यानमा राख्दै व्यवसायीले फूलखेती गर्ने गरेका छन् । एशोसिएशनका अध्यक्ष गुरुङका अनुसार सामान्यतः सयपत्री फूल बेर्ना जमाएको ९० दिनमा फूल्ने गर्दछ । समयक्र मिलाएर लगाइका कारण व्यवसायीले लगाएका फूल तिहारका लागि ठिक्क तयार हुने अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो ।

Related News

सम्बन्धित समाचार

    • पोखरा बहुमुखीको वार्षिकोत्सव

      आदर्श समाज सम्वाददाता मंसिर १३, २०७८
      पोखरा । पोखराको नयाँबजारस्थित पोखरा बहुमुखी क्याम्पसले ३५ औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम गरेको छ । कार्यक्रम अन्तर्गत आइतबार भएको…
    • माघ १३ देखि लेखनाथ महोत्सव हुने

      आदर्श समाज सम्वाददाता मंसिर १३, २०७८
      लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा विगत १८ वर्षदेखि कास्कीको लेखनाथमा हुँदै आएको लेखनाथ महोत्सवको १७ औं संस्करण आगामी…
    • जेसिजको प्रशिक्षक प्रशिक्षण सुरु

      आदर्श समाज सम्वाददाता मंसिर १२, २०७८
      लमजुङ । जेसिजको तीनदिने राष्ट्रिय प्रशिक्षक प्रशिक्षण यहाँ सुरु भएको छ । प्रशिक्षणमा मुलुकका विभिन्न जिल्लाबाट ५१ जना सहभागी भएका…
    • गोपाल सेवा केन्द्रको सभा

      आदर्श समाज सम्वाददाता मंसिर १२, २०७८
      पोखरा । गोपाल सेवा केन्द्र जगतगुरु आश्रम पोखरा १८ लक्ष्मीधाराको सातौ वार्षिक साधारण सभा शनिबार भएको छ । सभाको जलस्रोत…
    • गीता शान्तिमार्ग महिला समूहमा शान्ति

      आदर्श समाज सम्वाददाता मंसिर १२, २०७८
      पोखरा । पोखरा १०, रामघाटस्थित गीताशान्ति मार्ग महिला समूहको १० आंै साधारण सभा तथा पाँचौं अधिवेशनबाट शान्ति सुवेदी अध्यक्षमा चयन…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग